कला

वृक्षारोपण

लघुकथा

राजु क्षत्री अपुरो

राजनीति दलका भातृ संगठनहरूको काम चुनावमै सीमित हुन पुगेको थियो। आफूहरूलाई क्रियाशील देखाउन संगठनका अगुवाहरू नयाँनयाँ उपाय खोज्न थालेका थिए। यसो गर्दा शीर्ष नेताहरूसँग नजिकिने मौका मिल्थ्यो। मिडियाले चर्चामा ल्याइदिने हुँदा राजनैतिक भविष्य सुनिश्चित हुन सक्थ्यो।

फलस्वरूप एउटा राजनीति दलको भातृ संगठनले बृहत् रूपमा वृक्षारोपण कार्यक्रमको आयोजना गयो। कार्यक्रममा दलका शीर्ष नेताहरूले पनि भाग लिए। हजारौं विरुवा रोपिए। शीर्ष नेताहरूद्वारा भाषणवाजी भए। तारिफ गरिए। मिडियाले कभरेज गयो। देशविदेशमा समेत चर्चाको विषय बन्यो।

विपक्षी दलको भातृ संगठनको देखासिकी गरेर अर्को दलको भातृ संगठनले पनि वृक्षारोपणको कार्यक्रम तय गयो। यस कार्यमा शीर्ष नेताहरू सहित हजारौं कार्यकर्ताले भाग लिए। यो पटक पनि भाषणवाजी भए।

मिडियाले कभरेज गर्नमा कुनै कन्जुस्याइँ गरेन।

यस वर्ष पनि सोही ठाउँमा सोही दलका भातृ संगठनहरूको अगुवाइमा रोपेको बिरुवाहरू देखिए तर हुर्केका बिरुवाहरू भने कहीं कतै देखिएनन्। 

प्रकाशित: ६ भाद्र २०७९ ०६:५९ सोमबार

अक्षर