कला

अवसान

कविता

दीपक समीप

 

रुखमा बसिरहेका

चराहरू उड्लान् भनेर

मुखमै आइसकेको

गीत पनि गुनगुनाइनँ मैले

सुसेली हाल्न तम्तयार भएर पनि

सुसेली हालिन मैले

मन त

खोलापारि घाँस काटिरहेकी मायालाई

सिठी बजाएर बोलाउन मन थियो।

सुतिरहेको कुकुर

निद्राबाट बिउँझन्छ भनेर

म कयौंपटक

सुस्तसुस्त हिंडेको छु मध्यरातमा

मन त

भट्टीबाट मस्त मातेर आएको बेला

बाटोभरि

खूब होहल्ला गर्दै हिंड्न मन थियो।

पौडिरहेका माछाहरू

तर्सन्छन् भनेर

खोला किनारमै उभिइरहेको छु म

जानु त थियो खोलापारि

कोही पर्खिरहेको छ

बिसौनीको चौतारामा छेल परेर

झिसमिसे नहुँदै डाँडा काट्ने

मुग्लानी सल्लाह भएको थियो हाम्रो।

म बुद्धको अनुयायी

मैले हिंड्ने प्रत्येक पाइतलाले

किरा नकुल्चोस् भनेर

वर्षौंदेखि

हलचल नगरी उभिइरहेको छु

परिणाम

अहिले धमिराको गोलाभित्र छु म।

प्रकाशित: ६ भाद्र २०७९ ०५:०३ सोमबार

अक्षर