प्रकाश खड्का ‘अभियान’
सुन्दरले धक मान्दै मलाई सोधे,‘हजुर त जनताको आदर्श नेता हुनुहुन्छ। संसदमा पनि खुबै रवाफसँग बोल्नुहुन्छ। जल्दोबल्दो समस्याको उठान गर्नुहुन्छ। यही भएर जनताको वाहवाही कमाउनुभएको छ। कडा मिजासका कारण सितिमिति कसैले हजुरको विरोध गर्न सक्दैनन्। तर, त्यो मुकुन्दे व्यापारीका कारण चौतर्फी विरोध भइरहेको छ। के उसको लहलहैमा लागेर सरकारी जग्गा बेच्नु उपयुक्त थियो?’
मैले जवाफमा भनें, ‘जे परोस्, त्यो व्यापारीलाई साथ दिनु मेरो धर्म हो। उसैको सहयोगले आज म नेता भएको छु। नुनको सोझो त गर्नुपर्यो नि।’
‘हजुर त देशको सम्भावित प्रधानमन्त्री हुनुहुन्छ। गर्नै परे आफू बचेर चाल चालेको भए हुन्थ्यो। आरोप प्रमाणित भए पार्टीले साधारण सदस्य पनि नरहने गरी निलम्बित गर्न सक्छ। राज्यले थुनामा राख्न सक्छ।’ सुन्दरले अझ नजिक भएर सल्लाह दियो।
‘त्यस्तो केही पनि हुँदैन। विगतमा देखेनौ? सुन, प्लेन, केटी, नदी, सिमाना आदि काण्डमा विरोध र जुलुसले केही भयो? जे भए नि उनीहरू नै शीर्षस्थ नेता भएका छन्।’ मैले सान्त्वनाका बोली बोलें।
‘समय बद्लिएको छ। जनता चनाखो भइसके। कानूनले छोडेन भने के गर्नुहुन्छ नि हजुर?’ अझ उसले झस्काउँदै नै थिए।
‘ठिकै छ, आज नेता भएर देशको ढुकुटी रित्त्याउँला। भोलि डन भएर।’ उसको अगाडि त भनें तर मनमनै सोचें, ‘अफसोस, जहाँबाट आएँ, त्यहीं पुग्ने भएँ!’
प्रकाशित: ६ भाद्र २०७९ ०३:४७ सोमबार