कला

श्याम आशालाई पद्मा रामचन्द्र लघुकथा सम्मान

नेपाल वाङमय परिषदले २०७९ सालको पद्मा रामचन्द्र लघुकथा सम्मान लघुकथाकार श्याम आशा (श्याम गोपाल कायस्थ) लाई प्रदान गर्ने भएको छ। नगद दश हजार, दोसल्ला एवं सम्मान-पत्रले उनलाई सम्मान गरिने भएको छ।

नेपाली लघुकथामा अक्षयकोष सहित स्थापना गरिएको उक्त सम्मान २०७१ सालबाट प्रदान गरिंदै आएको हो। २०७१ देखि २०७८ सालसम्म यो सम्मान लघुकथा समाजले वितरण गरेको थियो।

यस सम्मानबाट मोहनराज शर्मा(२०७१), प्राडा दयाराम श्रेष्ठ (२०७२), विनयकुमार कसजू (२०७३), किशोर पहाडी (२०७४), नारायण तिवारी (२०७५), सरुभक्त (२०७६), विजय सागर (२०७७) र डा. रवीन्द्र समीर (२०७८) सम्मानित भइसकेका छन्।

लघुकथाकार श्याम आशा नेपाल भाषामा सशक्त रूपमा कलम चलाउने लघुकथाकार हुन्। २०११ पुस २२ गते बालाखुं भक्तपुरमा मिट्ठीदेवी कायस्थ र कृष्णगोपाल कायस्थका सुपुत्रका रूपमा जन्मिएका हुन्। उनका प्रकाशित कृतिमा आशाका टुक्राहरू (लघुकविता, नेसं ११०३), लघु (ध्रुव मधिकर्मीसँग संयुक्त लघुकथा, नेसं ११०३, विसं २०३३) हुन्।

यसबाहेक उनका प्रकाशित कृतिमा लहु गुल्छा (लघुकथा,नेसं ११०१), पंजलंम दुने पेजलपिने (लघुकथा, नेसं ११३९), लालटिन (लघुकथा, ११४०), जालय जी (नेसं १९४१), निभा प्रिया ख्वपीं (नेसं,११४२) आदि छन्।

नेपाल भाषाका उनका लघुकथालाई नेपाली भाषामा अनुवाद गरेर ध्रुव मधिकर्मीले २०७३ सालमा ‘श्याम आशाका लघुकथाहरू’ भनेर छापेका थिए। उनी ज्योति पुस्तकालय, भक्तपुरका संस्थापक अध्यक्ष, विराट गुठीका आजीवन सदस्य, नेपाल साहित्य मन्दिरका आजीवन सदस्य र नेक्रा गुथिजका आजीवन सदस्य हुन्।

उनले पाँच लाखको अक्षयकोषसहित याताज नेपाल भाषासाहित्य श्याम सिरपा (पुरस्कार) स्थापना गरेका छन्। यो सिरपाबाट बर्सेनि नेपाल भाषाको एक स्रष्टा पैंत्तिस हजार ५सय ५५ रूपैयाँसहित सम्मानित हुने गरेका छन्। 

प्रकाशित: ५ भाद्र २०७९ ०६:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App