मधेसमा वर्षा नभएर सबैतिर सुक्खाको स्थिति छ। तराई क्षेत्रमा चालीस डिग्री सेल्सियससम्म गर्मीको ताप बढिसकेको छ भने पानीका प्राकृतिक स्रोतहरू पनि लगभग समाप्त भइसकेका छन्। मौसम वैज्ञानिकहरू मनसुन आएर गइसकेको र ढिलो आउने भविष्यवाणी गर्दै छन्। कृषि जीवनमा आधारित मधेसी समाज यतिखेरि वर्षा नभएर छटपटिन थालिसकेको छ। सर्वत्र एउटा अव्यक्त भय, भविष्यको चिन्ता र संकट देखा परिसकेको छ। जहाँ पानीको केही स्रोत देखिन्छ, त्यहाँ मल छैन। कृषि तहसनहस हुन थालिसकेको छ।
यस्तो अवस्थाबाट बच्न सरकारलाई गुहार्न सुरु हुन्छ। राहत बाँडिने छ। सहुलियत दरमा बीउ उपलब्ध गराउने, बैैँकबाट ब्याज दिलाउनेजस्ता कामहरू हुने छन् तर वर्षा हुने छैन। यो मानवीय शक्तिबाहिरको कुरा हो। हामी वर्षा ल्याउन त सक्दैनौँ, तर जङ्गल विनाश गर्न सक्छौँ। पहाड फोरेर बाटोघाटो बनाउन सक्छौँ। नदीनालामा आउने पानीलाई व्यवस्थित गर्न सक्दैनौैँ। हामी हरेक थोक गर्न सक्छौँ तर वर्षा गराउन सक्दैनौँ। वैज्ञानिकहरू बेलुनमा ग्या“स भरेर आकाशमा पठाई कृतिम वर्षाको आत्मरति गर्न सक्छन् तर प्राकृतिक रूपमा हुने वर्षाको आनन्द दिलाउन सक्दैनन्।
वर्षाको यस्तै कठिन अवस्थामा मिथिलाञ्चलमा महिलाहरूले लोक अनुष्ठानको परम्परा प्रारम्भ गरेका छन्— जट–जटिन लोकनाट्यको। यसमा वर्षाका लागि इन्द्रको स्तुति गरिएको हुन्छ। लोकव्यवहारका केही विधिविधान पनि गर्ने गरिन्छ। जट–जटिन लोकनाट्यमा महिलाहरूकै दुई समूह एकअर्कासामु स्त्री–पुरुषको भेषमा संवादमूलक गीत गाउँछन्। त्यसमा दुई भाग हुन्छ— एक वर्षाका लागि इन्द्रको स्तुति र आग्रह र दोस्रो जट–जटिनको जीवनकथामा आधारित आख्यान।
वर्षाकै लागि नै आयोजित हुने यो लोकनाट्यका गायिकाहरू सर्वप्रथम गाउँछन्–
हाली–हाली बरसू, इन्नर देवता
पानी बिनु पङल अकाले हो राम।
चौर सुखलै चा“चर सुखलै
सुखी गेलै भैयाके जिराते हो लाल
चमराके अंगनामे छापर छुपर पनिया“
ओहिमे नहाइ छै फलां बभने हो राम।
धोतियो ने भजलै, जनौओ ने भजलै
रचि–रचि तिलक लगाबे हो राम।
भजले तितले हवेलिया ढुकलै
बहुओ लेलक लुलुआइये ओ राम।
दया नै लगेछौ हौ इन्नर लोक
पानीविनु पडल अकाले हो राम...।”
(जनकपुरधाम र यस क्षेत्रका सांस्कृतिक सम्पदाहरू ः भ्रमर, सन् १९९९, पृ ६६)
वर्षाको अभावमा खेत, पोखरी, वन–प्रान्तर सुकिसकेका छन्। पानीको अभावमा परम्परागत सामाजिक आहारविहार बाधित हुन पुगेका छन्। मैत्रेय ब्राह्मणहरू पानीको अभावमा राम्रोसँग नुहाउन सकेका छैनन्। थोरै पानीमा नुहाउन बाध्य उनीहरूले धोती र जनैसम्म राम्ररी पखाल्न सकेका छैनन्। घरमा जाँदा पत्नी गाली गरेर दिक्क पारी सकी। हे इन्द्र ! यस्तो दारुण स्थिति देखेर पनि तिमीलाई दया लागेन ? अब धेरै भयो, वर्षा देऊ।
पानी नपरेर सामाजिक संरचना कसरी तहसनहस हुन्छ, त्यसको मार्मिक प्रस्तुति यस लोकनाट्यमा वर्णित छ। सामान्यतः स्त्री हलो जोत्दैनन् भन्ने मान्यता छ मिथिलाञ्चलमा। तर अनिकालको अवस्थामा त्यो पनि सम्भव छ–
‘रांडी वभिनियां कुमारी राजपुतनियां
दुनू मिली हरबा जोतै छै हो राम,
हरबो ने लगैछै, कोदारियो ने लगैछै
चौकी उछटि आरी लगै छै हो राम
हाली–हाली वरसू इन्नर देवता
पानी बिनु पडैछै अकाले हो राम।’
(ऐजन)
विधवा ब्राह्मण र कुमारी राजपुतनी मिलेर हल जोतिरहेका छन्। तर पनि फाटेको कडा धरतीमा न हल जोत्न सकेको छ, न त कोदालो नै माटो काट्न सकिरहेको छ। छिटो पानी भएन भने अब बेहाल हुने छ।
त्रेतायुगमा मिथिलाका राजा जनक पनि पानी नपरेपछि ज्योतिषीहरूको इच्छाअनुसार हलो जोतेका थिए। खुब वर्षा भयो र त्यसै बेला सीताको जन्म (प्रकट) पनि भयो। बौद्ध साहित्यमा पनि बुद्धको जीवनकालमा नै राजाद्वारा कृषिउत्सवको रूपमा हलोत्कर्षण, वर्षामङ्गल आदिको प्रचलन रहेको पाइन्छ।
ग्रामीण महिला यत्रो विधि गायन र स्तुति गर्दा पनि पानीको लक्षण नदेखेपछि आक्रोशित भइ इन्द्रलाई नै धम्क्याउँछन्–
‘इन्नर लोकके पविती, मुसर ल क उठबिती
मुसरे धारे मेघ बरसइतै हो राम...।’
(ऐजन)
यदि इन्द्र भेट्थें भने राम्ररी ठीक पार्थेें अनि आफै वर्षा गराउँथ्यो। यता आक्रोश छ भने अर्कोतिर समाजमा बढ्दै गएको अपचलन, कुसंस्कार, शोषण, उत्पीडनले पनि इन्द्र रिसाएको हुन सक्ने भान पनि छ–
‘दैया, गामक धनिक से सोमित छैगे ना
दैया, कनही तराजू घटी सेर छै गे ना
एक सेर के दू सेर बनबै छै गे ना
दैवा रे ओकरे पापे पनि यो नै होइछै गे ना।’
(ऐजन)
गाउँका धनी सोभित घटी सेर र गलत तराजुबाट एक सेरको दुई सेर भनी तौलिरहेका छन्। यसरी निमुखालाई ठग्नेहरूकै पापका कारण पानी भइरहेको छैन। वास्तवमा इन्द्रको जलदेवताका रूपमा मान्यता वृत्तासुरलाई मारेपछि नै प्राप्त भएको कथा छ। देवताका राजा इन्द्र त वैदिक देवताकै रूपमा पूजित छन्। पछि वर्षाका देवता वरुणसँग इन्द्र पनि पूजित हुन थाले। ऋग्वेदको दशम स्कंधमा इन्द्रद्वारा वृत्रासुर वधको कथा छ। वृत्रासुरले वर्षा जललाई रोकेर राखेका थिए। इन्द्र आफ्नो बज्रास्त्रले वृत्रासुरको वध गरी वर्षा जललाई जनसाधारणका लागि उपलब्ध गराएका थिए। यसरी इन्द्रको जयजयकार हुन थाल्यो र उनी जलदेवताका रूपमा प्रतिष्ठित भए। अब इन्द्र र वरुण सँगसँगै जलदेवताका रूपमा पूजित छन्।
पानीका लागि भ्यागुताको पनि प्रयोग गर्ने वैदिक र लोकपरम्परा रहेको छ। ऋग्वेदको मण्डुकसूक्तका (१–१३) अनुसार केही ब्राह्मणहरू नदी अथवा पोखरीको डिलमा गएर भ्यागुताको प्रशंसामा ऋचा पाठ गर्छन्। तत्पश्चात् भ्यागुताहरू वर्षाका लागि मेघसँग प्रार्थना गर्छन्। इन्द्रदूतको मान्यता प्राप्त भ्यागुताहरूको क्रन्दन र वेदपाठको मार्मिक ध्वनि सुनेर इन्द्र द्रवित हुन्छन् र घनघोर वर्षा गरेर लोकजीवनलाई तृप्त पार्छन्।
मिथिलाञ्चलमा इन्द्रलाई पानीका लागि बाध्य पार्न भ्यागुतालाई महिलाहरूले ओखलमा कुटेर कुनै माटाको भाँडोमा विष्टा राखी समाजमा निकै गाली दिने महिलाको आँगनमा फ्याँकिदिने चलन छ। आँगनमा त्यो हविगत देखेर कस्सिएर गाली गर्दैगर्दा वर्षा हुन्छ भन्ने जनविश्वास छ। पानीका लागि भ्यागुताको प्रयोग मिथिलाञ्चलमा मात्रै हैन, भारतका अन्य भागमा पनि विभिन्न प्रकारले गर्ने परम्परा छ।
यसरी मिथिलाञ्चलमा वर्षात्का लागि इन्द्रसँग अनुनयविनय गर्ने लोकपरम्परा, लोक अनुष्ठानका रूपमा जट–जटिन लोकनृत्य एउटा प्रभावकारी माध्यम बन्न गएको छ।
प्रकाशित: ४ भाद्र २०७९ ०४:४८ शनिबार