कला

अलग धारका नेपाली कला

अहिले काठमाडौंका दुई कलाका दीर्घाहरूमा नेपाली समसामयिक कलाका तीन अलग धारका कलाहरू प्रदर्शन भइरहेका छन्। पुस्ताको हिसाबमा यी कलाकारहरू अलग अलग छन्। यी कलाकारका कलाको शैली र प्रवृत्ति अनि प्रस्तुतिको ढाँचा पनि नितान्त अलग छ। स्वभावतः कला पनि एक अर्काबीच पृथक रूपमा दृश्यावलोकन हुन्छ। यो रमाइलो परिदृश्यलाई यसपल्टको आलेखको केन्द्रबिन्दुमा राख्ने मेरो जमर्को हो। सिद्धार्थ कला दीर्घामा किरण मानन्धरका चित्रहरू ‘समपर्ण’को नाममा प्रदर्शित भइरहेका छन्।

नेपाल आर्ट काउन्सिलको तलको प्रदर्शन कक्षमा पश्चिम नेपालको विकट गाउको प्रत्याभूति स्वरूप, ‘झिमरुकतिर’को नामबाट रतन राई, मुकेश श्रेष्ठ, सुजिता महर्जन, दुर्गा सुनुवार, नरेश सुन्दर सैंजु, जीवनराज उपाध्याय, सुदर्शन कार्की, राजकुमार रानामगर, कुन्तीश्री थापामगर, सुदेसा श्रेष्ठ, आदिका चित्रहरू प्रदर्शित छन्। यो प्रदर्शनीचाहिँ भर्खरै सकिएपछि यही आर्ट काउन्सिलको तलमाथि सबै कक्षहरू ढाकोर केयु आर्ट प्लस डिजाइनका स्नातकका विद्यार्थीहरूको ‘इम्पे्रसन’को नामका साथ ग्राफिक कम्युनिकेसन अनि स्टुडियो आर्ट दुवै विधाका गरेर जम्मा २७ जना कलाकारका कला प्रदर्शितमा छन्।  

यी तीनै कला प्रदर्शनीहरू नितान्त अलग अलग उद्देश्यका साथ आयोजना भएको हुँदा पनि तीनवटै प्रदर्शनीको वातावरण, चहलपहल र यसले आम भावकलाई आकर्षण गर्ने तौरतरिका पनि अलग अलग रूपमै भएको देखिन्छ। सिद्धार्थ ग्यालरीमा किरणका कलाहरू अवलोकन गर्दैगर्दा शान्त, सुमधुर वातावरणको अनुभूत गर्दछन् भावकहरू। यस्ता कलाको अवलोकन गर्नका लागि निष्कपट, स्निग्ध, सुनसानजस्तो लाग्ने परिवेश नै उत्तम हुन्छ।

आयोजकले पनि यस्तै सोच्दा होलान्। स्वभावतः भावकहरू पनि यसरी सोचेरै यस्ता कलाको रसस्वादन गर्न ग्यालरी पुगेका हुन्छन्। उहिले एक जमाना त यसलाई अझ सुमधुर बनाउन हल्का माइल्ड म्युजिक सुमधुर स्वरमा कक्षका चारैतिर गुञ्जयमान हुने गर्दथ्यो। 

सत्तरीको उत्तरार्धमा खुलेको कलाकार उत्तम नेपालीको ‘पृथ्वी कला दीर्घा’ मा यसरी संगीतमय वातावरण हुने गर्दथ्यो। आर्ट काउन्सिल पुग्नेबित्तिकै एउटा भव्य व्यापार व्यवसाय भइरहेजस्तो, तामझामका साथ मेला लागेजस्तो वातावरण दर्शकसामु प्रस्तुत हुन्छ। कला हेर्न मान्छेहरू आएनन् भने कला आफै आम मान्छेसामु पुग्नुपर्छ भन्ने अवधारणा नै समसामयिक कलाको विशेषता हो। हिजो र आजको कलामा रहेको स्वभावगत फरकपन पनि हो यो। जुन भावकले सहजै अनुभव गर्न सक्छ।

किरणका नितान्त व्यक्तिगत कला प्रदर्शनीका रूपमा उनका कलाहरू त्यहाँ प्रदर्शित छन्। झिमरुक गाउँपालिकाले आफ्ना गाउँलाई पर्यटन क्षेत्रका रूपमा विकास गर्न कलाकारहरूलाई कला कोर्न आग्रह गरेर यही कलाको माध्यमबाट झिमरुकलाई हेर्नबुझ्न आग्रहका साथ दस जना कलाकारका कला त्यहाँ प्रदर्शित छन्। इम्पे्रसनको सन्दर्भचाहिँ पढाइको अन्ततिर औपचारिक रूपमै गर्नैपर्ने आफ्ना प्रायोगिक काम देखाउने हिसाबमा केयु ललित कलाका स्नातक तहका विद्यार्थी कलाकारका कलाहरू प्रदर्शित भएका छन्।  

समर्पण  

नेपाली समसामयिक कलाको इतिहासमा असीको दशकको उत्तरार्धमा उदाएका किरण गतिशील तुलिकाघातको शक्तिलाई राम्रोसँग बुझेका कलाकारका रूपमा चिनिन्छन्। अति द्रुत गतिमा तुलिकालाई गतिशील बनाउनमा माहिर किरण तुलिकालाई थकाइ मार्न दिँदैनन्। तत्कालै उनीभित्र बीजारोपण भएका भाव उतिखेरै क्यानभास छिर्छन्। यसोहुँदा एक तमासका अमूर्त आकारहरू उनका क्यानभासमा जीवन्त बन्छन्।

अझ अलिकता यसैमा थप्न खोज्दा भने सफा शुद्ध रङहरू (फ्रेस कलर) क्यानभासमा छरिने क्रममा एउटा स्वाभाविक, अस्वाभाविक रूपहरू रङ र रेखाका केस्राकेस्राहरूसँग चलमलाउन र जिस्कन खोज्छन्। यसो हुँदा दगुरिरहेका रङ र रूपहरू शादृश्य हुन जान्छन्। यसर्थ अति द्रुत गतिमा दौडेका ठूलाठूला उनका तुलिकाघातहरू एउटा अर्थका साथ सानाठूला क्यानभासहरूमा दृश्यावलोकन हुन्छ। ताजा, सफा, कन्चन अझ खाइलाग्दो रङले भरिएका ठूलाठूला तुलिकाघातहरू क्यानभासमा बज्रन पुग्दा क्यानभासमा अनायास ब्युँझन पुगेका जीवन्त पात्रहरूले आम भावकलाई समेत रोमाञ्चित गरिदिन्छ। अनि यसैमाथि उफ्रीउफ्री उछलकुद गर्दै गरेका शक्तिशाली रेखाहरूले अझ अनेकौँ कथा–व्याथा भनिरहेका हुन्छन्।

यसलाई समेत भावकले अनुभूत गर्दछ। यो चलायमान अवस्थालाई भावकले तत्क्षणै आत्मसात गरेको देखिन्छ अनि बुझ्दा नबुझ्दै भावकको अन्तस्करणमा यी अवयवहरू ठोकिन पुग्दा अचानक मन्त्रमुग्द हुन्छन् भावकहरू। तत्पश्चात एउटा अनौठोको अमूर्त सौन्दर्यको सुगन्ध चारैतिर प्रवाहित हुन जान्छ। यही नै उनको मूल विशेषता पनि हो।

अमूर्तताको पृष्ठभूमिमा आकारहरू सलबलाउनु किरणको कलाकारिताको स्वभाव पनि हो। भावकहरू रोमाञ्चित हुनु, आनन्दानुभूत हुनु नै कलाकारको मूल विशेषता हो। उहिलेदेखि नै देवताका रूपहरू, मोटिफको अंश बनेर उनका क्यानभासमा स्पष्टै देखिन्थे। आजचाहिँ अझ स्पष्ट, चहक र एउटा खास मानेमा यस्ता बिम्बहरू देखापरेको छ।

विशेष गरेर मिथको प्रयोगको सन्र्दभमा देवीहरू एउटा लोकोत्तिका साथ देखिँदा भने यहाँ अमूर्तताचाहिँ देखिँदैन। देवीदेवताहरू स्पष्ट रूपमा आआफ्ना आयुध, आसन र बाहनका साथ देखिँदा पनि कुनै पनि कलाको नामकरण गरिएकोे छैन। शीर्षकविहीनका रूपमा देखिएका सबैजसो चित्रहरू यसकारण पनि अमूर्तताको भावका साथ देखिन गएको हो।

जतिसुकै आकारहरूसँग खेल्दै गर्दा पनि अमूर्तताको चाह बोकिरहनु नै किरणको मूल विशेषता देखिन्छ। यसो हुँदा उनको यसपटकको क्यानभासको बाह्य कलेवर थोरै अलग्ग भएर दृश्यावलोकन भएका देखिन्छन्। यसपल्ट भने अमूर्तताभन्दा अभिव्यञ्जना बढी मात्रामा देखिनु यो प्रदर्शनीको मूल विशेषता पनि हो।  

नेपालको समसामयिक कलाको इतिहासमा सन् असीको दशक शैली र प्रवृत्तिका रूपमा थोरै परिवर्तनका साथ देखापरेको थियो। यसअघि सन् १९६० मै आधुनिक कलाले प्रवेश गरिसकेको हुँदा विश्वमा स्थापित भएका आधुनिक कलाका अधिकांश शैलीहरू नेपालमा पनि भित्रिइसकेको अवस्था थियो। अमूर्त कलादेखि, अतियथार्थवादी, अभिव्यञ्जना, क्युबिज्म, प्रभाववादीदेखि लिएर उत्तरप्रभाववादी आदि शैलीहरू नेपालमै छ्यापछ्याप्ती प्रयोग र अभ्यास भइसकेको अवस्था थियो। यी सबैजसो शैली एकैजस्तो समयमा देखापरेको हो।

कलाकारलाई नेपालबाहिर कला शिक्षा लिन अवसर मिल्दा कला पढ्न बाहिर गए, बाहिर जे देखे–सिके, नेपालमा फर्केपछि यसैलाई प्रदर्शन गर्दा आधुनिक कलाका सबैजसो शैलीहरू सहजै नेपालमा भित्रिन पुगेको हो। यस अर्थले पनि कति ठाउँमा त एउटै कलाकारले यी विविध शैलीलाई अँगाल्न पुगेका छन्। यस बेलामा मूल धारमा देखिएका कलाकारहरूमा उर्मिला उपाध्याय गर्ग, लक्ष्मण श्रेष्ठ, उत्तम नेपाली, कृष्ण मानन्धर, विजय थापाका अमूर्त कलाहरू अनि स्वैरकाल्पनिक कलाहरू, तान्त्रिक र मिथहरूलाई सम्हालेर आकारमूलक अमूर्तता सिर्जना गर्ने हस्तीहरूमा रामानन्द जोशी, मनोजबाबु मिश्र, शशी शाह, दुर्गा बराल, वत्सगोपाल वैद्य, प्रमिला गिरी र इन्द्र प्रधानहरू सबै जसोले आआफ्नै कलाका आधुनिक शैलीहरू स्थापित गरिसकेका थिए।

यस बेलासम्म पश्चिमी कला शैलीले राम्रै गरी नेपाली कला क्षेत्रमा जरा गाडिसकेको अवस्था थियो। असीको दशकमा देखापरेको थोरै नयाँ शैली भनेकोचाहिँ अमूर्त अभिव्यञ्जनावादी शैली थियो। यो शैलीमा सचेत भई सबैभन्दा क्रियाशील रूपमा लागेकाचाहिँ किरण मानन्धर नै हुन्। उमेरले यी कलाकार अरूभन्दा थोरै कान्छा भए पनि (जन्म सन् १९५७) यी कला प्रवृत्तिको निरन्तरताका कारणले किरणले एउटा थप नयाँ धारलाई स्थापित गर्दा पनि उनी युवा अवस्थामै चर्चित बन्न पुगेका हुन्। सङ्ख्याका रूपमा उनले जति चित्रहरू सिर्जना गरे, अहिलेसम्म सायदै अन्य कलाकारले यति धेरै सिर्जना गरे होलान्। उनका कलाको एक अलग धारले गर्दा पनि यसपछिका कैयौं कलाकारहरू यो शैली र अमूर्तताको नयाँ प्रवृत्तिलाई अँगाल्न पुगेको देखिन्छ।  

विश्व कला बजारमा अमूर्त अभिव्यञ्जनावादी कला  

विश्व कला बजारमा यो अमूर्त अभिव्यञ्जना शैलीचाहिँ अमेरिकाको न्युयोर्क सहरमा चालीसको दशकमा प्रयोग र अभ्यास भएको थियो। यसअघि आधुनिककलाका अधिकांश शैली युरोपको फ्रान्स अनि फ्रान्सको राजधानी पेरिसमा केन्द्रबिन्दु भएर देखापरेका छन्। विश्वका नामुद कलाका मास्टरहरू पेरिस आएका छन्। अनि आधुनिक कलाका नयाँनयाँ आन्दोलनहरू यही कर्मभूमिमा घटित भएका छन्।

तर त्यसपछिका कलाका आन्दोलनहरू विशेष गरेर विश्वभरि फैलँदै गर्दा यसको केन्द्रचाहिँ अमेरिका बनेको हो। यो शैली अमूर्त अभिव्यञ्जनाको सम्मिश्रणका रूपमा जन्म लिएको हो। यसको मूल मन्त्र भनेको आत्मामा परेको प्रभावलाई अभिव्यञ्जना गर्ने शैलीको स्वरूप देखिसकेपछि रङ र आकारले अमूर्तताको सम्पे्रषणद्वारा दर्शकलाई कलाको रस आस्वादन गर्न आग्रह गर्नु हो।

यसलाई अनेक पाराले व्याख्या गरिएको छ, जस्तैः अवचेतन मनबाट जन्मन पुगेको कला अत्यधिक स्वच्छन्द र प्रभावपूर्ण भएर देखा पर्ने गर्दछ। अमूर्त अभिव्यञ्जनावादी कला, कलाको यस्तो एउटा शैली हो, जहाँ कलाकारले आफ्नो व्यक्तित्व अचोदसद्वारा प्रस्तुत गर्ने गर्दछ। वास्तवमा यो वस्तु र रूपको चित्र होइन। रङ र तुलिकाघातको अध्ययन हो। विरगिट जाइडलर जो कला इतिहासकार थिए, उनले यो वादको यसरी व्याख्या गरेका छन्। 

अमूर्त अभिव्यञ्जनावाद सन् १९४० देखि १९६० सम्म चलेको वस्तुगत शैलीको विविध फर्मको संयुक्त टर्म हो, जसले रंग रूप र चित्रको प्राविधिक पक्षबाट अर्थ र अभिव्यक्ति सम्प्रेषण गर्दछ। यसलाई अनेक नामले पनि पुकारिने चलन छ। तत्त्व बिम्बीय अभिव्यञ्जना, तत्त्व बिम्बीय अभिव्यक्ति, वस्तुनिरपेक्ष अभिव्यक्तिवाद आदि। पोलकको कलाको मूल तत्त्व अखण्डित क्रियाशीलता थियो। कलाको इतिहासमा १९४० को उत्तरार्धमा ज्याक्सन पोलक, उलियम डे कुनिङ, क्लाइन ट्याकोर्बका नयाँ कामहरू सार्वजनिक भएपछि यस्ता प्रवृत्तिका कलालाई कलाविद् रावर्ट कोट्सले वस्तुनिरपेक्ष अभिव्यञ्जनावाद भनेका हुन्।  

झिमरुकतिर  

यसैबेला आर्ट काउन्सिलमा अलि अर्कै पाराका कलाहरू प्रदर्शित छन्। चित्रहरू उस्ताउस्तै देखिए तापनि चित्र–सिर्जनाको प्रक्रिया थोरै पृथक छ। पश्चिम नेपाल प्युठानका झिमरुक गाउँपालिकाले कलामा एउटा सक्रियता देखायो। प्युठान जिल्लाको झिमरुक र गौमुखि क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने र कलालाई यसैको अभिन्न भागका रूपमा सङ्ग्रह गर्ने योजना पनि रहेको छ। सम्भवतः एउटा कला सङ्ग्रहालय पनि बनाउने र पर्यटकलाई यो थप आकर्षणको केन्द्र बनाउने लक्ष्य पनि हुन सक्छ।

जे होस्, यो विकट गाउँमा पुगेको कलामाथिको सोच सकारात्मक छ। स्वागत योग्य भन्नै पर्छ। यसका लागि आर्थिक सहयोग पनि यसै गाउँपालिकाबाट जुराइयो। अनि यसै भेगका ओखरकोट सांस्कृतिक सङ्ग्रहालयमा दीर्घ रूपमा कला सङ्गह गर्र्नेे लक्ष्यका साथ यो परियोजनाअगाडि बढ्यो। झिमरुक र गौमुखी क्षेत्र अवलोकन गर्न दशजना कलाकारहरूलाई काठमाडौंबाट यो भेगमा आउन निम्तो गरियो। कलाकारहरू त्यहाँ गए।

गाउँका वातावरण, रहनसहन, जीवनशैली, संस्कार–संस्कृतिदेखि सम्पदा, प्राकृतिक दृश्यावलोकन आदिलाई आत्मसात गरिसकेपछि दशजना कलाकारले यी कला बनाएका हुन्। पाका र युवा दुवै पुस्ताका कलाकारहरू संलग्न भएको यो परियोजनामा थोरै अलग पाराका चित्रहरूको निर्माण भएको छ। जहाँ विशेष गरेर सुजिता, मुकेश र रतन राईका एक अलग प्रकारका चित्रहरू प्रदर्शित भएका छन्।  

रतन राई यी कलाकारहरूमध्ये सबैभन्दा उमेरले जेठा र पाका कलाकार हुन्। ७५ वर्ष पुगिसकेका यी कलाकार एक अलग शैलीमा दृश्यचित्रहरू (मसिना रेखाहरूलाई खेलाएर दृश्यचित्र अङ्कन गर्ने) बनाउने कलाकारका भएको हुँदा पनि उनको पहिचान अलगै रूपमा स्थापित भएको छ।

यसपल्ट पनि यसैको निरन्तरता छ तर थोरै अर्कै संयोजन, प्रतीकात्मक अनि पृथक बिम्बहरूको संगठनका साथ देखिँदा उनको यो कलाचाहिँ हिजोआज देखापरेका समसामयिक कलाको प्रकृतिसँग नजिक देखिन्छ। यसपल्टका उनका चित्रमा सुपर रियालिस्टिक शैलीका तर अमूर्त दृश्यावलोकन हुने खालका चित्रहरू देखिन गएका छन्। 

यो चित्र मूलतः गौमुखी ओडारभित्रका चट्टानहरूका चित्र हुन्। जसलाई ससाना क्यानभासहरू अङ्कन गरी प्रस्तुत गर्दा भने समग्र स्वरूपमा देखिएका छन्। अति विस्तारमा (डिटेलमा) रेखाहरू खेलाइ खेलाइ अनि यसैको बाहुल्यमा विशेष गरेर जलरङ्गी दृश्यचित्रहरू बनाउने यी कलाकार आफ्नो शैलीगत रूपमा आफ्नो पहिचानलाई अर्थात् सिग्नेचरलाई छोडेका छैनन्। तर यही कुरा अमूर्ततामा देखापरेको छ।

एकताका नेपालका प्रसिद्ध अमूर्त चित्रकार लक्ष्मण श्रेष्ठ भन्ने गर्दथे, ‘यी मेरा चित्रहरू वर्लिनका पर्खाल (दुवै एकै हुन् पूर्वी र पश्चिम जर्मन छुट्याउने पर्खाल) अङ्कित चित्र हुन्।’ नितान्त अमूर्तमा देखिने उनका चित्रमा पर्खालको सानो भागलाई मात्र चित्रित गरिँदा यो यथार्थ कुरा पनि अमूर्ततामा देखा परेको हो। अहिले रतन राईको पनि यही र यस्तै अवधारणाका साथ चट्टानका टुक्राहरू देखिँदा लक्ष्मण श्रेष्ठले उहिले भनेझैं मिल्न गएजस्तो भयो। तथापि यो मात्र काकताली हो।

ससाना चित्रहरू समेटेर सगोलमा प्रस्तुत गर्ने अनि पृष्ठभूमिमा अनेक टेक्चर र प्रतीकात्मक अवयवहरू भरेर कलाको संयोजन यसपल्ट हुँन जाँदा चित्र आफैमा नौलोपनका साथ दृश्यावलोकन हुन्छ।  

कन्सेप्चुयल कलाकार मुकेशचाहिँ यसपल्ट पनि पप कलाशैलीमा उदाएका छन्। पप कलाको सेरोफेरोमा बसेर आजका समसामयिक कलाहरू बनाउने प्रचलन नेपालमा अब नौलो रहेन। ४८ वटा ओखरकोट चौकेका अनुहार अलग अलग सपाट पृष्ठभूमिमा चतुर्भुज कोठाभित्र चित्रित भएर अनौठो रूपमा देखा पर्दछन्।

कोष्ठभित्र मुखाकृतिहरू टम्म भएर भरिनु, विभिन्न रूप, अभिव्यञ्जना, भावका साथ देखिँदा पनि हंसमुख, खुसी र आनन्दित देखिनुचाहिँ यो गाउँ, यो ठाउँ शान्त र आनन्दमयी रहेछ भन्ने कुराको बोध हुन्छ नै। आम भावकहरू त्यहाँ नपुगे पनि धेरैजसो नेपाली गाउँघरमा हुने गरेको सेवा–सत्कार, उहिलेदेखि मान्दै र पालना गर्दै आएका संस्कारहरू यस गाँउमा पनि यथेष्ठ रहेछन्, आम गाउँबासीहरू पनि यसैमा आनन्दित रहेछन् भन्ने मुकेशका कलाबाट भावकले छर्लङ्ग महसुस गर्दछन्।

मगर जातिको पहिचानसहितका चौके गाउँबासीहरू निःस्वार्थ र सहृदय त त्यसै पनि अनुभूत हुन्छ। सामान्य अर्थमा यो व्यक्तिचित्र हो, तापनि यसलाई प्रस्तुत गर्ने तौरतरिकाले गर्दा आज विश्वमा देखा परेको पपआर्टको प्रवृत्तिसँग यो कला नजिक हुन पुगेको छ। 

कुन्तीश्री थापा काल्पनिक तर यथार्थ दृश्यचित्रका साथ उदाउनु अनि सुदेसाको चाहिँ यस्तै यथार्थ दृश्यचित्र तर अनेक टेक्चर सपाटपनको प्रत्याभूतिको सुगन्ध छर्नु आदि चित्रहरू आकर्षक रूपमा देखिन गएका छन्। विस्तारमा ससाना वस्तुहरू, वस्तुमा आवद्ध भाव र महत्व पनि नछुटाईकन त्यस भेकका वास्तुकलाको अनुपम नमुनाका रूपमा ससाना घरगोठ, दिनचर्या र संस्कृतिलाई आधुनिक पाराले पस्कनु मूलतः कुन्तीश्रीको मूल विशेषता देखिन्छ। अनि सुजिताको दृश्यचित्र यथार्थ तर अनेक फूलबुट्टाले सिँगार्ने उपक्रम (डेकोरेटिभ फर्म) मा देखिन्छन्।

समग्रमा यी सबैजसो कलाकारका कलाहरू आधुनिक कलामा देखिरहेका कलाको स्वभावभन्दा फरक ढंगबाट देखापरेका छन्। आधुनिक कलाकै यी विविध धारहरूलाई अलग्याउनुपर्दा पुरानो आधुनिक कला र नयाँ आधुनिक कला भनिने प्रथा विश्वभर नै छ। किनकि कलामा उत्तरआधुनिक प्रवृत्तिले प्रवेश पाउनुअघि आधुनिक कलामै पनि सयौं कलाका शैली र प्रवृत्तिले प्रवेश पाइसकेका थिए र हरेकजसो कलाकारहरूले आआफ्नो अलग पहिचानको दाबी गरिरहेका हुन्थे। यसकारण पनि यसलाई पहिचान गर्न यस्तै नाम र उपनाम दिने प्रचलन विश्वभरि रहेको हो।  

परम्परागत चित्रकार राजकुमार दर्जनौं गाउँका वस्तुहरूलाई आफ्नो सम्झनाको तरेलीमा बुन्दै एउटै चित्रपटमा गरेको संयोजन पनि एउटा घतलाग्दो कामका रूपमा देखिन गएको छ। अलिकति परम्परागत, अलिकति समसायिक र थोरै लोक कलाजस्तो भएर उदाएको उनको कामले आम भावकलाई छुट्टै स्वाद प्रदान गर्ने छ।

सुदेसा, सुजिता र दुर्गाको कामचाहिँ प्रिन्ट मेकिङका कामहरू हुन्। जुन स्वभावतः काठमाडौं फर्केपछि स्टुडियोभित्र बनाएका हुन्। यसर्थ पनि यसभित्र अनुभव, सम्झनादेखि प्रिन्ट मेकिङका निजी टेक्निकले गर्दा पनि अलगपना देखिनु स्वाभाविक नै हो। दुर्गाको ‘कल्चर निड्स फ्रिडम’को अवधारणागत प्रस्तुति अजिबकै छ। प्रिन्ट मेकिङ पहिले पनि हुने गर्दथ्यो। कलाकै रूपमा पनि देखापरेको हो तर व्यावसायिक रूपमा हुँदा यसलाई सिर्जनशीलताको परिधिमा अटाउन सकिँदैनथ्यो।

आज यी कलाहरू समसामयिक कलाको मूलधारमा प्रवेश गरिसकेका छन्। यसबाट यो टेक्निकका कारणले पनि कलाकारहरू नयाँपन ल्याउन खुबै लागिपरेका छन्। यसैले यसलाई मैले अर्को पृथक धार भनेँ।

इम्प्रेसन  

अब अर्को नितान्त अलगै धारका कलाहरूको प्रदर्शन ‘इम्प्रेसन’को नामबाट भइरहेको छ। यी सम्पूर्ण कलाहरूको प्रकृति हेर्दा परम्परागत कुनै पनि स्थापित कलाको सिद्धान्तले कलाकारको अभिव्यक्तिलाई छेकबार लगाएको देखिँदैन। कलाकारहरूमा सवर्था नौलो, नवीन र अरू कसैले पनि नगरेको कुरा शोध गर्ने र नितान्त नौला कलालाई जन्म दिनेतर्फ कलाकारहरू लागेका देखिन्छन्।  

यसो हुँदा कतै पर्फमेन्स, कतै इन्स्टलेसन वा कतै फोटोग्राफी आदि विविध रूपमा कलाहरू प्रस्तुत भएका देखिन्छन्। यहाँसम्म कि कुनै पनि माध्यममा कलाहरू बन्न असजिलो महसुस भएको देखिँदैन। रेडिमेड याप्रोचको भरमार प्रयोग भएका यी कलाहरूमा कन्सेपको अनिवार्य रूपमा उपस्थिति हुनै पर्ने बनाइएको छ। स्वभावतः यसै पनि भएको देखिन्छ।

अनुभवको र सम्झनाको यथेष्ट मात्रामा प्रयोग हुँदा सामाजिक, राजनैतिक वा धार्मिक सेवाहरूलाई त्यति साह्रो सम्बोधन गरेको देखिँदैन। थोरै एकेडेमिक कामको अनुशासनभित्र रहनुपर्ने वा मेन्टरको गाइडेन्सको परिधिभित्र बाँधिनुपर्दा पनि यसो भएको हुन्न सक्छ। टाइम र स्पेसको अत्यधिक प्रयोग हुने यस्ता खाले कलाहरू स्पेसलाई किसिमकिसिमबाट प्रयोग गर्ने गर्दछन्।

यसो हुँदा पंखा, घडी, ऐना आदि अब्जेक्टहरूलाई कलाकारहरूले गहकिलो मोटिफका रूपमा लिएका देखिन्छन्। स्वभावतः यस्ता अब्जेक्टमा खेल्ने खेलाउने उपक्रममा स्वाभाविक अस्वाभाविक कलाहरू निर्माण भएका देखिन्छन्। आजको कलामा यो स्वाभाविक प्रवृत्ति पनि हो। हरेकजसो कलाहरूमा अवधारणा रहेकाले गर्दा पनि यो सानो स्पेसमा सबैको कामबारेमा उल्लेख गर्न सम्भव पनि भएन। सम्भवतः यी कामहरूका बारेमा कहीँ न कहीँ त चर्चा छलफल अवश्य नै हुने छ। त्यसपछि यसलाई अलि विस्तारमा कुरा उठाउने नै छु।

अहिलेचाहिँ समष्टीगत रूपमा भन्नुपर्दा पनि बढो मिहिनेतका साथ अत्यधिक नौलो संयोजनका रूपमा देखापरेका यी कलाहरूले विश्वमा आज चलिरहेको कलाको प्रवृत्तिलाई सहजै प्रतिनिधित्व गर्छ। अनि यसले हामीमा पनि आज विश्वमा चलिरहेको कलाको सिर्जना अनि नयाँ ढंगबाट कलालाई कसरी प्रस्तुत गर्नुपर्छ भन्ने सोच र शिल्पविधि यथेष्ट रहेको प्रत्याभूति दिन्छ। 

हुन त केयुको कला स्कुलिङ पहिलेदेखि नै अलग धारमा बगेको छ। मैले धेरै ठाँउमा धेरैपल्ट यसको उल्लेख पनि गरेको छु। यसले नेपाली समसामिक कलालाई एक अलग धारमा स्थापित गराएको छ। अनि विश्वमा पनि यसले सकारात्मक सूचना प्रवाह गरेको छ भन्नुपर्ने हुन्छ।

कलाकारहरूमा आल्सु अधिकारी, वर्षा मानन्धर, कुशल कार्की, मिनी तामाङ, मोमिन प्रधान, नवीन सुनुवार, न्हुज शाक्य, निरन्जन महर्जन, निर्भिता शाक्य, पीयूष यादव, प्रोमिस गुरुङ, राहुल महर्जन, साम्माङ लिम्बू, संसार ढकाल, सन्तोष गुरुङ, शैली मल्ल, सुमन राई, सुमन रानामगर, तासिसालाका शेर्पा हुन्। ग्राफिक कम्युनिकेसन विधातर्फचाहिँ आधिम सुनुवार, आयूष श्रेष्ठ, अन्युन्या पराजुली, फैसल शाक्य, कृषा जोशी, सरिष्मा आक्षामी, सुनेह श्रेष्ठ, स्वर्णिमा श्रेष्ठ छन्। 

प्रकाशित: ४ भाद्र २०७९ ०२:३७ शनिबार

अलग धारका नेपाली कला नेपाली कला