कला

नवदुर्गा भवानीको बाह्रवर्षे जात्रा

ललितपुर गोदावरी नगरपालिका–१२ ठेचोमा नवदुर्गा भवानीको बाह्रवर्षे जात्रा सुरु भएको छ। परम्पराअनुसार प्रत्येक बाह्रवर्षमा नवदुर्गा भवानी नाँचको मेला मनाइने चलन चल्दैआएको छ। साउन दश गतेबाट जात्रा सुरु भएको पुजारी गोपाल माली बताउँछन्। बाह्रवर्षे जात्राको अवसरमा ठेचोस्थित नवदुर्गा मन्दिरको मूल ढोकामा ताला लगाइएको छ। उक्त मन्दिरमा हरेक बाह्रवर्षमा एकपटक मात्रै ताला लगाइन्छ। जात्राको अवधिभरिमा घण्टी बजाउन नहुने भएकाले घण्टीलाई पनि डोरीले बाँधेर राखिने चलन छ।  

परदेशीलाई बास दिन र बेलुका नौ बजेदेखि चार बजेसम्म हिँड्डुल गर्न नहुने, पाटी वा अन्य ठाँउमा बस्दा खुट्टा झुन्ड्याएर बस्न नहुने, सिट्ठी, ताली र घण्टी बजाउन नहुने कुराको सूचना गाउँबासीलाई दिइएको नवदुर्गा भवानीदेवी गुठीका अध्यक्ष धर्मराज मालीले बताए।

देवीलाई गुप्तबास राखेर साउन दश गते मारिएको ताल्चा एक महिनापछि मात्र पञ्चदानका दिनमा खुल्ला गरिने जानकारी मालीले दिए। उनले भने, ‘गठ्ठे मंगलबाट नवदुर्गा भवानी मन्दिरको ढोकामा ताल्चा मारेसँगै जात्रा सुरु भएको हो ।’ दुर्गा भवानी गुप्तबास बस्ने भएकाले ठेचोबासीले पनि खुसीयाली मनाउन हुँदैन भन्ने मान्यताअनुरूप राती घरबाहिर पनि हिँड्न नहुने धार्मिक बुझाइ रहेको स्थानीय बासिन्दा बताउँछन्। सो बन्द गरिएको मन्दिरको ढोका त्यसअघि दैनिक रूपमा पूजाआजाका लागि खुला हुनेगरेको पुजारीले जानकारी दिए ।

यहाँ जात्रा सुरु भएपछि कसैको घरमा पाहुना बोलाएर बास बसाउनसमेत हुँदैन भन्ने चनल रहेको नवदुर्गा भवानी गुठीका अध्यक्षले बताए। मन्दिरको ढोकामा ताल्चा मार्नुअघि आफूहरूले झ्याली पिटेर जात्रा अवधिभर आवश्यक नियमहरू पालना गर्न ठेचोबासीलाई अनुरोध गरिने अध्यक्ष मालीले जानकारी दिए। सो जात्रामा परम्परागत रूपमा चल्दै आएको तान्त्रिक विधिअनुरूप पूजासमेत हुनेगरेको नवदुर्गा भवानी गुठीका अगुवा भक्तलाल मालीले बताए। उनले भने, ‘छिट्टै मन्दिरअगाडि छाप्रो बनाउन सुरु गरेर फूलपातीका दिन सुनाकोठीमा रहेको बालकुमारी मन्दिरमा होम गर्नका लागि दक्षिण ललितपुरमा रहेको कोन्ज्योसोम गाउँपालिका–३ दलचोकीबाट काठ काटेर ल्याई राख्ने कामसमेत गर्ने छौं ।’

नवदुर्गा नाँचका गुरु धर्मराज मालीले भने, ‘देवता गुप्तबासमा बस्ने भएकाले ठेचोमा खुसीयाली मनाउन नहुने मान्यता छ र विभिन्न शक्तिपीठहरूबाट तन्त्र साधनामार्फत गोप्य पूजा गरी देवता र जल मन्दिरमा ल्याउनुपर्ने र नाथ गुरु प्रतिष्ठानलगायत रात्रिकालीन पूजा गर्नुपर्ने भएकाले राति हिँडडुल गर्न बन्देज लगाउने गरेको हो ।’

यसरी प्रत्यक बाह्रवर्षे जात्रामा एकपटक मात्र यस्ता गतिविधिमा प्रतिबन्ध लगाइन्छ। साथै नवदुर्गाको नाँच सकेपछि मात्र यी प्रतिबन्ध फुकुवा गरिन्छ। देवीको नाँच फाल्गुन–चैत्रतिर नचाउने चलन छ।  

जात्रा सञ्चालन गर्न गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनको संयोजकत्वमा मूल जात्रा व्यवस्थापन समिति गठन गरिएको छ। मेयर महर्जनले राष्ट्रको प्रतिष्ठासँग जोडिएको गौरवका रूपमा रहेको बाह्रवर्षे जात्रा भव्य ढंगबाट सञ्चालन गरिने बताए। जात्राका लागि गोदावरी नगरपालिकाबाट पचास लाख रूपैयाँ विनियोजन गरिएको छ। नवदुर्गा गुठीका कोषाध्यक्ष जितेन्द्र मालीले भने लागतअनुसार छ्यहत्तर लाख रूपैयाँ खर्च आवश्यक पर्ने बताए।

घण्टाकर्ण चतुर्दशीदेखि धुंःखः नामक नाँच सम्पन्न नभएसम्म श्री नवदुर्गा गुठीको बाजाबाहेक बाहिरको बाजा बजाउन नहुने तर श्री नवदुर्गाको पर्वपूजामा भने नवदुर्गा गुठीबाहेकका बाजा बजाउन मिल्ने चलन रहेको गुठीका अध्यक्ष मालीले बताए।

धुंःखः नामक नाँच सम्पन्न भएसँगै बाह्रवर्षे जात्रा पनि समापन हुने र घण्टाकर्ण चतुर्दशीका दिनदेखि बन्द गरिएका बाजागाजा एवं अन्य नियमहरू पनि फुकुवा प्रचलन रहेको छ।

प्रकाशित: १ भाद्र २०७९ ०२:०१ बुधबार

नवदुर्गा भवानी ललितपुर गोदावरी नगरपालिका पुजारी गोपाल माली