कला

कवि श्रेष्ठको कवितासंग्रह ‘फर्गेट एस्टर्डे’ को परिचर्चा

ज्योति साहित्य प्रतिष्ठानको १८४औं शृंखलामा कवि मीना श्रेष्ठको कवितासंग्रह ‘फर्गेट एस्टर्डे’को परिचर्चा भएको छ। नयाँबानेश्वरस्थित टेरेस क्याफेमा प्रा.तुलसी दिवस र कवि शैलेन्द्र साकारले सो कृतिको परिचर्चा गरेका हुन्।

ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहका अध्यक्षताका परिचर्चा कार्यक्रम सम्पन्न भएको थियो।

कवि तुलसी दिवसले कवितामा आफ्नै अनुभूति भएको बताए, ‘मैले यसअघि नचिनेको र नपढेको कवि मीना श्रेष्ठ राम्रो कवि रहेछन्। संग्रहका कविता पढ्दा मन तान्यो र मैले सबै कविता ध्यानपूर्वक पढें। शब्दहरूमा भाव छ, बिम्बहरूको प्रयोग भएको छ र आफ्नै अनुभूतिहरू छन्।’

कवि शैलेन्द्र साकारले कविले राम्रो सम्भावना बोकेको बताए, ‘मैले पनि पहिलोपटक मीनालाई पढें। कवितामा कवित्व पाएँ। मीना राम्रो सम्भावना भएकी शक्तिशाली कवि रहेछन्।’

कार्यक्रमका सभाध्यक्ष सिंहले भाव र बिम्बहरूको उत्कृष्ट संयोजन भएकाले मीनालाई कवित्वको संसारमा स्वागत गर्नै पर्ने बताए।

कवि सुधा मिश्र, उषा केसी र असीम सागरले एकएकवटा र कवि मीना श्रेष्ठले दुईवटा संग्रहका कविता वाचन गरेका थिए।

परिचर्चा कार्यक्रममा साहित्यकार तुलसीहरि कोइराला, निरूपा प्रसून, ममता मृदुल, रमेशचन्द्र अधिकारी, विष्णु भण्डारी आचार्य, अम्बिका याम्फु अनमोल, भुवन भट्टराई, जगदिश अधिकारी, सन्तोष प्रधान चौधरी, जगदिश्वर थापा, दीपेन्द्र दोङ, तामाङ, सुशील कृब श्रेष्ठ लगायतले भाग लिएका थिए।  

प्रकाशित: ३० श्रावण २०७९ ०८:५४ सोमबार

अक्षर