कला

हरियो त्रास

कविता

लिली अधिकारी

बजिरहेको छ कामिरहेको छ

मनको घन्टी

पुकारिरहेको छ हृदयले बारबार

किन चाहियो र मलाई सोमबार?

ओभाउन पाए पो नुहाउनु

एक सय आठ धारा

शून्यताको उकालोले थकित तन

नाचिरहेको छ उद्देश्यहीन गोरेटाहरूमा

अब नाच्नु छैन कुनै भजन र कृतनहरूमा

मलाई माफ गरिदेऊ शिव

म तिम्रो भक्त बन्न सकिनँ

सधैं आँखामा छ पन्छाउनै नसकेको साउन

बसेर नुनिलो सागरमा  

कसरी बार्ने साउन

सुस्केराका शंखहरू बजिरहेका छन्

मुक्तिको आह्वानमा

अबिरजस्तै रातोले क्रान्तिको विगुल फुकेको छ

मन केसरीजस्तै भएको छ

हृदय उजाडिएको छ

किन चाहियो हरिया चुरा र पोते?

संसारमै हरियो आतंक बढेको बेला

किन चाहियो र नाडी र सारीमा हरियो?

हरियो हुनुको श्रापले चुपचापचुपचाप बसेको

जंगललाई हेरिरहन्छु म

कहिले पहाडमा कहिले ऐनामा।

प्रकाशित: ३० श्रावण २०७९ ०७:२७ सोमबार

अक्षर