कला

सम्झौता

कथा

अनु विज्ञाति

‘बिहे भएको एक हप्ता नपुग्दै उहाँको व्यवहारमा परिवर्तन आउन थाल्यो। राति अबेर घर आउने, बिहान चाँडो अफिस निस्कने र मसँग कुरै नगर्ने। यो क्रम आज नौ महिना बितिसक्दा पनि चलिरहेको छ। उहाँले मलाई श्रीमतीको दर्जा अहिलेसम्म दिनुभएको छैन। लौ तपाईंहरू नै भन्नुस् उहाँसँग  म कसरी बस्ने?’

रुविनाले श्रीमानको व्यवहारप्रति असन्तुष्टि जनाउँदै छुट्टै बस्ने वातावण मिलाइदिन आग्रह गरिन्।

न्यायिक समितिका सदस्यहरू बको ध्यानम् उनका कुरा सुनिरहेका थिए। म भने त्यो दृश्य र स्थान दुवैका लागि नौलो थिएँ। मेरो हातमा उनीहरूको मिसिल थियो। अझ भनौं, उनीहरूले माग गरेको उनीहरूको भविष्य थियो।

रुविनाको सिकायतपछि प्रवेशको सफाइको पालो आयो। न्यायिक समिति संयोजकले प्रवेशतिर फर्किएर सोधे, ‘रुविनाको कुरा सही हो?’

प्रवेश बोल्नुभन्दा अघि नै प्रवेशका आफन्तले अनुनय गरे। ‘बुहारी किन यस्तो कुरा गर्छ्यौ? हामीले त तिमीहरू बिच कहिल्यै मनमुटाव भएको थाहा पाएका थिएनौं। हो, बिहे गर्न तिमीले पनि मानेकी थिएनौं। प्रवेशले पनि तर तिम्रा अभिभावक र हाम्रो कुरा मिलेर नै बिहे भएको हो। दुवै राम्रो परिवारका। पढेलेखेका। तिमीहरूको भविष्य सुन्दर हुन्छ भन्ने सोचेर नै हामीले तिमीहरूको बिहे गराइदिएका थियौं।’ एकजना पाका व्यक्तिले कुरा राखे। उनी प्रवेशका बुबा रहेछन्।

‘होइन तिमीहरू त धेरै दिनदेखि एकान्तमा खासखुस गरिरहेको देख्थें। केही महिनाअघि देखि नै  बैठक कोठामा भन्दा बढी आफ्नै कोठामा गफिन थालेका थियौ। यसले त तिमीहरूको सम्बन्ध झन् गाढा भएको संकेत गर्छ, होइन र! तर, आज अचानक!’ अर्की अधबैंसे महिलाले आश्चर्य जनाइन्। उनी प्रवेशकी आमा रहिछिन्।

प्रवेशले भने आफूलाई लागेको आरोपको कुनै खण्डन गरेन।

मात्र यति भन्यो, ‘उहाँ मसँग बस्न चाहनु हुन्न भने यसमा  किन जबर्जस्ती गर्ने! ठीक छ, उहाँलाई छुट्टै बस्ने व्यवस्था गरिदिनुस्। के भयो र किन भयोतिर अल्झिएर समय बर्बाद गर्नुभन्दा उहाँको मागबमोजिमकै न्याय दिलाइदिनु। दुवैको टन्टै साप।’

प्रवेशको  ग्रीन सिग्नलवाला जवाफ आएलगतै  पुनः छुट्टै बस्ने व्यवस्था मिलाइदिन रुविनाले थप आग्रह गरिन्।

न्यायिक समिति संयोजकले रुविनाको माग सम्बोधन गर्दै भने, ‘कहिलेकाहीं जानी-नजानी गल्ती हुन्छ। कमीकमजोरी हुन्छ। यस्ता कमीकमजोरी सुधार्न हामीले एक अर्कालाई मौका पनि दिनुपर्छ। यसरी बिहे गरेको नौ महिनामै श्रीमान् र श्रीमतीको सम्बन्धविच्छेद गर्दै जाने हो भने त यो गाउँका धेरै जना एकल भैसक्नुहुन्थ्यो। त्यसैले दुवैले आआफ्ना कमीकमजोरी सुधारेर अब नयाँ शैलीमा जिउन सिक्नुपर्छ। लौ भन्नुस्, कसकसले केके बानीमा सुधार ल्याउनुपर्छ? हामी त्यही लेखेर तपाईंहरूको सहमति गराइदिन्छौं?

संयोजकको कुरामा कसैको केही प्रतिक्रिया आएन। दुवै चूपचाप बसे।

समितिका अर्का सदस्यले पुनः ‘दोहोर्‍याए। सुधार गर्नुपर्ने बानी भन्नुभएन त दुवैले? कि दुवैको छुट्टिने बहाना हो यो?’

अझै पनि दुवै बोलेन्।

रुविनाकी आमा र प्रवेशका बुबाआमा उनीहरूलाई मिलेर बस्न अनुनय गरिरहेका थिए। मात्र नौ महिना भएको छ बिहे भएको। त्यत्रो खर्च भएको छ। आज तिमीहरू छुट्टिएर बस्दा जोरीपारीले के भन्लान्! समाजले के भन्ला! हामीलाई मुख देखाउन नै गाह्रो हुन्छ। उनीहरू सम्बन्ध बचाउन घिडघिडाइरहे।

तर,प्रवेश र रुविनालाई त्यो कुराले कतै छोएन।

धेरै समय न्यायिक समितिका सदस्यहरूले उनीहरूलाई मिलेर बस्न सम्झाए। उनीहरूका अभिभावकले पनि छुट्टाछुट्टै कोठामा लगेर निकैबेर सम्झाए बुझाए। तर,कसैको केही सीप चलेन।

‘बिहे गरेको नौ महिनामा नै त्यो पनि आफ्नै राजीखुशीले सम्बन्ध तोड्दा हामीले किन अंश दिनुपर्ने? बस्दै नबस्ने हो भने जाऊ तर अंश दावी गर्न पाउँदिनौ।’ सम्बन्ध बचाउन नसकेपछि सम्पत्ति बँचाउनतिर लागे प्रवेशका बुबाआमा।

रुविनाले मुख खोल्नुअघि नै प्रवेशले भन्यो, ‘उसको भाग त दिनैपर्छ नि! कहाँ त्यसो भनेर हुन्छ! आजकलका केटीको भर हुन्न। राम्रोसँग नचिनी बिहे गर्दिनँ। बरु बिहे गर्ने खर्च त मलाई दिनुस्। म अस्ट्रेलिया जान्छु भनेकै थिएँ। त्यतिबेला त्यत्रो खर्च कहाँबाट ल्याउनु भन्नुभो! जान दिएको भए यतिबेला डलर थाप्ने बेला हुन्थ्यो। खूब त्यति पैसाले त बिहे हुन्छ भन्दै बिहे गरिदिनुभयो। अब तिर्नुस् उल्टै। पैसा पनि गयो। मैले अस्ट्रेलिया जान पनि पाइनँ।

सबै  दोष आमाबुवालाई खन्याएर रुविनाको न्यायका लागि अघि स¥यो ऊ।

न्यायिक समितिका सदस्यहरू मुखामुख गरें। सम्बन्ध सकिएपछि सम्पत्ति बचाउनतिर नलाग्ने पहिलो केश थियो सायद त्यो उहाँहरूका लागि।

प्रवेशका बुवाआमा छोराको कुरा सुनेर जिल्ल परे।

‘तैंले कमाएको छ भने दे। हामी त हाम्रो सम्पति दिंदैनौं। घरजम हुँदैन भने अर्काको सम्पतिमा के आँखा लगाउनु?’ निकैबेरपछि प्रवेशका बुवाको वाक्य फुटयो।

‘हामीसँग त्यति सम्पत्ति पनि कहाँ छ र? जे जति छ त्यो पनि मेरो माइतीले दिएको। त्यो म कसैलाई बाँड्नेवाला छैन।’ आमाले अड्डी लिइन्।

फेरि पनि रुविनाले मुख खोल्नै परेन।

‘मम्मी, यही मिलेर खुरुक्क नदिए बेकारमा अड्डाअदालत धाउनुपर्छ। समाजमा इमेज अझै खराब हुन्छ। यति नै पैसा सकिन्छ र अन्तिममा सम्पत्ति पनि दिनैपर्छ। यति झन्झट बेहोर्नुभन्दा त खुरुक्क उसको भाग दिऊँ। फेरि पनि प्रवेशले सम्पति दिनुपर्ने कुरालाई जोड दियो।

निकैबेरको छलफल र वादविवादपछि सबै जायजेथाबाट प्रवेशको भागमा पर्ने सम्पत्ति हिसाब गरियो र फेरि त्यहाँबाट रुविनालाई आधा दिने र दुवैले अदालतमा गएर सम्बन्धविच्छेद गर्ने सहमति भयो।

प्रवेश र रुविनाका आमाबुवा निन्याउरो मुख लगाएर बाहिरिए। सायद छोराछोरीको मञ्जुरी विपरीत गरिएको त्यो विवाह सम्झेर पछुताएका थिए दुवै।

विवादको निकास निस्किएपछि न्यायिक समितिका सदस्यहरू पनि बाहिरिए। अब इजलासमा म र उनीहरू मात्र रह्यौ।

मैले प्रवेश र रुविनालाई सहमति पत्रमा हस्ताक्षर गर्न बोलाएँ। दुवै एकसाथ मेरो छेउमा आए। जबर्जस्ती बाँधिएको दाम्लो चुँडाएर भाग्न सफल भएझैं उनीहरूका आँखामा जीतको चमक छल्किएको थियो। दुवै निकै खुसी देखिन्थे।

हस्ताक्षर गर्ने काम सकिएपछि दुवैले पल्याक्कपुलुक्क यताउता हेरे। सायद कोही नदेखेपछि उनीहरूलाई खुसी साट्न मन लाग्यो। प्रवेशले हात मुड्की पार्दै रुविनातिर लग्यो। रुविनाले पनि उसैगरी। त्यो सौहार्दपूर्ण छुटाइ र छुट्नुको खुसीमा उनीहरूले चेस गरेको देख्दा म छक्क परे।

‘अब जाँदा हुन्छ।’ मैले उनीहरूलाई बिदा गरे।

निस्कनुअघि प्रवेशले रुविनातिर फर्केर भन्यो, ‘प्लान सक्सेस भयो। अब डील अनुसार तपाईंले पाएको सम्पत्तिबाट मेरो हिस्सा चाँडै दिनुपर्छ।’

जतिसक्दो चाँडो म उनलाई लिएर अस्ट्रेलिया जानेछु।’

रुविनाले  हुन्छको भावमा टाउको हल्लाउँदै भनिन्,‘मेरो त झन् जापानका लागि भिसा नै आइसकेको छ। खाली पैसाको अभावले प्रोसेस अगाडि नबढाएको। आफू त गएर सेटल भएपछि उसलाई तान्नु छ। पैसा कमाएर फेरि पनि दोस्रो डील अनुसारको पैसा तपाईंलाई फिर्ता गर्नु छ। यताको डिभोर्सको कागज नबनाई उता बिहे दर्ता गर्न मिलेन। धन्न आज सबै भने जस्तो भयो। अब भने बल्ल आफ्नो जिन्दगी जिउन पाउने कुरामा ढुक्क भएँ।’

प्रकाशित: ३० श्रावण २०७९ ०६:५२ सोमबार

अक्षर