कला

मान्छे!

व्यंग्य

कृष्ण प्रधान

संसारमा दुई थरी जनावर छन्। चारखुट्टे जनावर र दुईखुट्टे जनावर। संसारका समस्त जनावरमध्ये दुईखुट्टे जनावरलाई अन्य जनावरमध्ये सबैभन्दा विवेकशील जनावर मानिन्छ। ती विवेकशील जनावरको नाम  हो-मान्छे।

ईश्वरले सृष्टिको आदिमा आदम ढाँचामा एकजना मान्छे बनाए। त्यो नै स्रष्टाको विशेषता थियो। हामी सबै मान्छे नामक जनावर आदमका जेरक्स हौं। जेरक्स पनि किसिम-किसिमका: दुई रुपे जेरक्स, पाँच रुपे वा दस रुपे जेरक्स।

मान्छेको ढाँचा एउटै भए पनि थरीथरीका हुन्छन् मान्छे। यसैकारण, प्रत्येक मान्छे गर्वसाथ भन्छन्-मेरा लागि नै यो संसार सृष्टि भएको हो।

तर प्रश्न छ, ईश्वरले किन एकैजना मात्र मान्छे बनाए ता?

यस प्रश्नको उत्तर सजिलै छ-कुनै मान्छेले भन्न सकून् मेरा पिता तिम्रा पिताभन्दा श्रेष्ठ अब्बल थिए। एक पिता एक सन्तान। त्यो ‘एक’ एक अरब भए पनि दरवारमा उनै एकजना पिता छन्। एक सन्तान। सन्तानका कुनै पनि दोस्रा पिता छैनन्। यसैको नाम डुयेलिटी-तिमी र म...बस्।

ईश्वरका किन एक मात्र सन्तान? कारण तिनले मान्छेमान्छे माझ कुनै जातिभिमान राख्न चाहँदैनन् थिए। मेरो जात नै सर्वश्रेष्ठ हो भन्ने  कसैले उगेल्न नसकून्।

यो संसारमा तीनवटा मुकुट देखिन्छन्-ज्ञानको मुकुट, मानको मुकुट र सम्राटको मुकुट। अब्बल मुकुट हो सुनामको मुकुट। मान्छे सत्य, विनयी, परोपकारी आदि हृदयका मालिक हुन्। स्यालको टाउको नहोस् तर सिंहको पुच्छर भए उत्तम।

शैशवकालमा मान्छेले ग्रहण गरेका शिक्षा सेतो पानाजस्तै हुन्छ। बुढेसकालमा नयाँ पाराले कसैले सिक्न चाहन्छन् भने त्यो मसीले लेखिएको पानाजस्तै हुन्छ। यो सिक्नु भन्ने कुरा पनि परिपक्वहरूबाटै भएको राम्रो। जसले देखेका छन्, सुनेका छन् अनि भोगेका छन्। बिदाइको प्रस्तुति लिई वृद्ध भएर बसेका छन्। अपरिपक्वहरूबाट सिक्नुचाहिं काँचो अंगुर खानु बराबर हो अनि परिपक्वहरूबाट सिक्नु भनेको पाकेको अंगुर खाएकै बराबर।

जीवनका तीन स्तर छन्। प्राचीनकालमा के थियो भने, पाँच वर्षमा वर्ण परिचय, दशमा पाठ्यपुस्तक, तेह्र पुग्दा न्याय, नीति, अनुशासन। ठ्याक्कै पन्ध्रमा वेद-वेदान्त। अठारको डिलमा पुग्नेबित्तिकै टानापुल्टुङझ्याइँ ...। बीसमा जीविका। तीसमा सबल, राक्षस, संसारी। चालीसमा विचक्षण। पचासमा उपदेष्टा। साठीमा वार्धक्यको अनुभव। अस्सीमा समस्या। नब्बेमा भीमरति। एक सयमा स्वाहा।

अहिले पनि प्रायः त्यस्तैत्यस्तै नै छ। शिक्षामा मात्र हेरफेर भएको छ। अहिले दूर्नीति, राजनीति, चोरी, डाका, बलात्कार र चेलीबेटी बेचबिखन। राजनीतिको विएएमए। वाल राइटिङ, जुलुस, बन्द, अवरोध, चक्काजाम, भत्काइ, सामूहिक इङलिस धुलाइ, सामूहिक हत्या, थाना-कचहरी घेराउ अनि अन्त्यमा नेता। सि ग्रेड, वि ग्रेड अनि ए ग्रेड।

उहिलेको उपदेश वा अर्ती-विशाल, विख्यात हुने वासना नलेऊ। तिम्रो शिक्षा, तिम्रो विद्याको परिमाण अनुसार जति इज्जत र सम्मान पाउँछौं त्यतिमै सन्तुष्ट होऊ। राजाको कुर्सीमा बस्ने कोशिश नगर। तिम्रो आफ्नो कुर्सी नै श्रेष्ठ छ। तिम्रो आफ्नो आसन नै सर्वश्रेष्ठ सिंहासन हो।

यही उपदेश वा अर्ती पहिलेका मान्छे नामक जनावरहरूले पालन गर्थे। ती जनावर नामका मान्छेहरूका नीति यस प्रकारका थिए-

(क) तिम्रो तिम्रै हो, मेरो मेरै हो।

(ख) तिम्रो मेरो, मेरो तिम्रो।

(ग) मेरो तिम्रै हो, मेरो झन् तिम्रै।

अचेलका मान्छेहरूको नीति यस्तो देखिन्छ-

(क) मेरो मेरै हो, तिम्रो पनि मेरै।

(ख) तिमी कोही होइनौ। म भनेको मै हुँ।

अहिले हामी धन्धाको युगमा विराजमान छौं। अचेलका प्रत्येक मान्छे भन्ने जनावर आफ्नै दुनो सोझ्याउन पागल छन्-आफ्नै झोला भर्न मस्त छन्।

‘मै खाऊँ, मै लाऊँ,

सुखसयल वा मौज म गरूँ

मै बाँचूँ, मै नाचूँ,

अरू सब मरून् दुर्बलहरू।’

प्रकाशित: ३० श्रावण २०७९ ०५:२७ सोमबार

अक्षर