टीका आत्रेय
माटाको स्तुति हो पवित्र कविता बेदाग सङ्कल्प हो
माटाकै रसिलो स्वनाम कविता सम्मान सन्तुष्टि हो
झण्डाको नि त स्वाभिमान कविता अस्तित्व हो शान हो
सीमाको रखवार सैन्य कविता रक्षार्थ हो दुर्ग हो।
फुल्छन् पद्मसमान काव्य कहिले सौन्दर्य उत्साहमा
उठ्छन् वज्रसमान काव्य कहिले गर्जेर सङ्ग्राममा
मात्रै अक्षर होइनन् हृदयका यी श्वास हुन् तन्त्र हुन्
स्रष्टाका स्वविचार देश तर हुन् सिद्धान्तका मन्त्र हुन्।
वैरीका शिर पाउ कम्पन दिने सन्देश हो शक्ति हो
हेर्दा कोमल लाग्न सक्छ कविता यो फूलमा धार हो
आगाको पथमा अदम्य कविता शैलेन्द्रझैं शीतल
फुट्छन् पत्थर शब्दका अधरले छोए भने प्राञ्जल।
दावा हिम्मतका अठोट अथवा हुङ्कार हुन् अक्षर
यात्रा हुन् युगका निरन्तर हिंडे गन्तव्य हुन् अक्षर
आस्थाको दरबार शिष्ट कविता कैलाश हुन् धाम हुन्
झिल्का हुन् अथवा चिराग कविता यी क्रान्तिका नाद हुन्।
ढुङ्गाबाट रसाउने जलधरा पीयूष सञ्जीवनी
हुन् आरोग्य पहाडका वदनमा फुल्ने प्रभा रोशनी
वर्षाको खहरे हुँदैन कविता सङ्लो हिमाली नदी
शालिग्रामसमान बन्छ कविता स्रष्टा बने गण्डकी।
प्रकाशित: २६ श्रावण २०७९ ०७:४४ बिहीबार