कला

छोटो समयमा सही काम गरेर देखाउँछुः केसी

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली सिनेमालाई विश्व बजारीकरण गर्न प्राविधिक पक्षलाई बलियो बनाउनुपर्ने औंल्याएका छन्। विकास बोर्डले दक्ष प्राविधिक उत्पादनमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै अध्यक्षमा नियुक्ति भएको छोटो समयमा सही काम गरेर देखाउने प्रतिबद्धता जनाएका छन्।

शनिबार क्याराभान नेपाल प्रालीले पोखरामा आयोजना गरेको ‘आफ्नो कथा आफ्नो सिनेमा’ कार्यक्रममा बोल्दै केसीले समग्र चलचित्र क्षेत्रको संरक्षणका लागि आफूले काम गर्ने स्पष्ट पारे। चलचित्र विकास बोर्डको अध्यक्षमा भर्खरै मात्र नियुक्ति भएको भन्दै उनले बोर्डमा थुप्रै समस्या रहेको जिकिर गर्दै समाधानको बाटो खोज्दै अगाडि बढ्ने बताए।

‘समग्र चलचित्र क्षेत्रको उत्थानका लागि सम्पूर्ण चलचित्रकर्मी, पत्रकार लगायत सबैको साथको अपेक्षा छ। काम गर्न आएको हुँ। छोटो समय नै सही काम गरेर देखाउँने छु,’ उनको भनाइ थियो। जीवनको ४० वर्ष आफूले सिनेमा क्षेत्रमा बिताएकाले चलचित्र निर्देशक, निर्माता, लेखक, कलाकार, प्राविधिकका समस्यालाई नजिकबाट नियालेको उनले बताए।

‘जीवनको लामो समय मैले चलचित्र क्षेत्रमा नै बिताएको छु। यसमा भएका विविध समस्या सँग म जानकार नै छु। हिजो प्रश्न गर्ने ठाउँमा म थिए। आज उत्तर दिने ठाउँमा छ। प्रशासनलाई बुझ्दै छु। सबैलाई समेटेर चलचित्र क्षेत्रको सुधारमा लाग्ने प्रण गर्दछु,’ उनले थपे। समाजको कथा खोज्ने कार्यमा विकास बोर्डले सक्दो सहयोग गर्ने भनाइ उनको छ।

क्याराभान नेपाल प्रालिका निर्देशक एवम् कार्यक्रम ‘आफ्नो कथा आफ्नो सिनेमा’ का परिकल्पनाकार विमल पौडेलले नेपाली चलचित्र र दर्शकबीचको दुरी बढ्दै गएको बताए। ‘हामीले आफ्नो कथालाई चलचित्रमा प्रस्तुत गर्न नसक्दा यस्तो समस्या आएको हो,’ उनको बुझाई थियो।

‘कार्यक्रम आफ्नो कथा आफ्नो सिनेमा एक अभियान हो, जून अभियानमार्फत हामी समाजमा भएका कथा खोज्छौं। हरेक व्यक्तिका व्यथालाई प्रस्तुत गर्छौं,’ उनले भने। पौडेलले यो अभियान गण्डकी प्रदेशका ११ वटै जिल्लामा गरिने बताए। हरेक जिल्लाको स्थानीय तहसँग समन्वय गरी समाजका कथालाई बुझ्ने प्रयासमा आफू रहेको भनाइ उनको छ। उनले प्रदेशमा चलचित्र विकास बोर्ड गठन गर्नुपर्ने आवश्यकतालाई समेत औंल्याएका छन्।

यस्तै चलचित्र निर्माता तथा निर्देशक शिवजी लामिछानेले चलचित्र विकास बोर्ड सेन्सरमा मात्रै सिमित नरही कथाको खोजी गर्ने र सिनेमाको संरक्षणमा लाग्नुपर्ने बताए। उनले नीति नियमको अवधारणामा जानुपर्ने आवश्यकतालाई सुझाएका छन्। कलाकार प्रकाश घिमिरेले नेपाली कथावस्तुअनुसार कलाकारले अभिनय गर्ने हुँदा मौलिकतामा विशेष ध्यान दिनुपर्ने बताए सिनेमा बुझेको निर्माता चलचित्र क्षेत्रमा आउनुपर्ने उनको भनाइ छ।

त्यस्तै चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष अरुण गिरीले किताबी विषयलाई घोकेको आधारमा मात्रै चलचित्रको कथावस्तु उत्कृष्ट बन्न नसक्ने बताए। यसका लागि समाजमा नै गएर बुझ्नुपर्ने उनको धारणा छ। गुरुङ फिल्म एशोसिएसन (जिफान) का अध्यक्ष गुञ्जबहादुर गुरुङले पूर्वदेखि पश्चिमका कथालाई खोज्नुपर्ने धारणा राखे।

जिफानका निवर्तमान अध्यक्ष भोज बहादुर गुरुङले भाषागत चलचित्र अब च्यारेटीमा मात्रै सिमित हुन नहुने बताए। भाषागत चलचित्रलाई सेन्सरमा समस्या भएकोले यसको निवारण तर्फ विकास बोर्डले ध्यान दिनुपर्ने उनको तर्क छ। मगर चलचित्र संघ कास्कीका अध्यक्ष राहुल थापाले मगर चलचित्रको व्यवस्थापन र संरक्षणमा सरकारी निकायले साथ दिनुपर्नेमा जोड दिए।  

प्रकाशित: २१ श्रावण २०७९ ०९:०९ शनिबार

अभिनेता भुवन केसी चलचित्र विकास बोर्ड