कला

जन्मदाता

लघुकथा

विकल आर्त

एउटा यात्री हिंडिंरहेछ। यात्राको क्रममा खत्र्याकखुत्रुक्क परेछ। केही क्षण आराम गरेछ। देउरालीको चौतारीमा भुसुक्क निदाएछ।

उसको एउटा प्रतिबद्धता छ, ‘म फर्किएर बाटो दोहोर्‍याउदिनँ।’

ऊ बिउँझियो चौतारीको चारैतिर बाटो छ। उसले म कताबाट आएँ भनेर हेक्का राखेन।

मध्यान्हमा उसले चारै बाटो नहिंड्ने निश्चय गर्‍यो र अबाटोतिर लाग्यो।

निकै कष्टका साथ यात्रा गर्दै गयो। एक वृद्धा बडो कठोरताका साथ काम गरिरहेकी थिइन्। छेवैमा थचक्क बस्यो।

वृद्धाले यसो हेर्दै सोधिन्, ‘कहाँ हिंड्यौ बाबु?’

यात्री बोल्यो, ‘गन्तव्य खोज्दै हिंडेको!’

फेरि वृद्धाले जिज्ञासा राखिन्, ‘समयको, यात्राको र जीवनको धेरैको हुन्छ   गन्तव्य तर बाटोको गन्तव्य हुँदैन। तिमी कुन गन्तव्य खोज्दै हिंड्यौ त?’

यात्री निर्धक्क भन्छ, ‘म आफ्नै भाग्यको गन्तव्य खोज्दै हिंडेको!’

वृद्धा-जुन कुराको गन्तव्य हुँदैन। तिमी त्यही खोज्छौ?

यात्री- हो, म भाग्य खोज्दै हिंडेको यात्री!

वृद्धा–नजाऊ बाबु, तिमी भूगोलमा हिंडिंरहेछौ। भूगोलमा गन्तव्य हुँदैन। तिम्रो गन्तव्यहीन यात्रा हो। भाग्य त खोज्नै पर्दैन। तिमी जे भोगिरहेछौ, त्यही हो तिम्रो भाग्य।

यात्री तिनै वृद्धासँग भाग्य बाँड्न थाल्छ। छ दशक पार गरिसकेको यात्री ८४ बर्से वृद्धासँग। दुःखसुख साट्ने क्रममा आआफ्ना जीवन भोगाइका कथा पनि बाँड्छन्।

वर्षाैं पहिले डम्पिङ साइडमा छाडेको दूधे बालक थियो सो यात्री। अतीतका कथाबाट थाहा हुन्छ, उसकी आफ्नै जन्मदाता हुन् ती वृद्धा।

प्रकाशित: २१ श्रावण २०७९ ०८:२१ शनिबार

अक्षर