कला

अठोट

लघुकथा

दिनेश निरौला

कालेबुङका सुन्ताला टिप्नु, कोइला खानीमा कोइला काट्नु वा मधेस झरेर नुन खेप्नु पुरुषार्थ मानिन्थ्यो समाजमा। बाबु र दाजुहरू गाउँमा अपवादको रूपमा चाडपर्वमा मात्रै भेटिन्थे।

आमा-दिदीले धानिएको थियो घर खेती। यी सबै छोडेर कसैकोमा चरुवा बसेर भए पनि अक्षर खार्न सक्ने बन्ने चाहना थियो सुवासको तर कसैलाई सुनाउनु आफैलाई हाँसोको पात्र बनाउनु मात्र थियो।

कसरी कहाँ गएर छरिनुपर्छ, उसलाई थाहा थिएन। नछरिएको सुवास कतै बन्द थियो। त्यसैले त कुवाको ब्याङ भन्थ्ये सबैले। फरियामा लटपटिएको भनेर पँधेर्नी गफ हुन थालेपछि भने उकुसमुकुस भएको महसुस गर्‍यो। आफूमा भएको सीप र ज्ञान उपयोग गर्न कसैको लवेदाको फेर नसमाई सकिने पक्कै थिएन भन्ने ज्ञान अवश्य थियो। एक रात ऊ समाजबाट हरायो।

गाउँलेले बेलाबेला उसको प्रसंग कोट्याउँथे, ‘त्यो अल्छे तिघ्रो जोगी नबने माटो बनिसक्यो होला? त्यसको न जाँगर छ न कुनै दक्षता।’

बा पनि होमा हो मिलाउँथे। निरास आमा आफ्नो छातीमा हात राखेर छाम्थिन्। अहँ कतै चस्किंदैन थियो। उनी जोगी नै भए पनि फर्किनेमा ढुक्क हुन्थिन्। सावित्री पनि बाटो कुरेरै बसेकी थिई।

पालिकामा नयाँ कार्यकारी प्रमुख आएको जानकारी थियो। समाज मुखियाको पछि लागेर स्वागत गर्न गयो। समाज चकित भयो। कार्यकारी प्रमुख उही सुवास थियो। सुवास उर्फ कुवाको ब्याङ।

प्रकाशित: ११ श्रावण २०७९ ०७:१० बुधबार

अक्षर