कला

उपयोगी र सिर्जनशील कलाको समागम

माटाका कपहरू, चियादानी अनि चियाको सन्दर्भमा बनेका एक तमासका अनौठा कला अहिले सिद्धार्थ कला केन्द्रमा प्रदर्शित छन्। कलाकार यसलाई चियाको संस्कृतिसँग सिरामिक कलाको विलयको उपमा दिन रुचाउँछन्। अर्कै नाममा, अर्कै उद्देश्यका साथ समाजमा उदाएको चिया–कल्चर, अनि मानव सभ्यताको अनुपम देन सिरामिक कला उहिले र अहिले पनि अलगअलग त त्यसै पनि थिएनन्। माटाका कपमा चिया खाने प्रचलन उहिले पनि थियो, अहिले पनि छ। रखन–धरनका लागि बनेका सिरामिकका भाँडाकुँडा मानवले प्रयोग गर्दा चियासँग सिरामिक कप सहयोगी बनेको सन्दर्भ अबचाहिँ पुरानो कुरा भयो। अब कला यसैसँग जोडिएर चियाको कल्चर पनि कलाको एक भाग बनेको सन्दर्भ नौलो ढंगबाट उद्घाटित भयो। योचाहिँ कलाकारको देन हो।  

उपयोगी कलाले अहिले व्यापारको रूप लिइसकेको हुँदा चियाको कम्पनी सुइरो पनि त्यहाँ छ। दोकानमा सजाउने, जस्तोगरी कपहरू, अन्य किसिमकिसिमका भाँडाकुँडाहरू, चियापत्ती सबै सजधजका साथ सुकिलो भएर, गराइएर राखिएको छ, त्यहाँ। यी सब अवयवहरू तामझामका साथ बसेका देखिन्छन्। काठका र्‍याकहरू छन्। र्‍याकभरि अटपटजस्ता लाग्ने कपहरू सजिएका छन्। अस्वाभाविक स्वरूपमा टि टेबल छ, कुर्सी छन्। (कलात्मक रूपमा वा आफैमा एक कला भएझैं) पहिलेदेखि नै भइरहेको स्वाभाविक टेबुल, बेन्चीहरू पनि छन्। कला र चियाको विज्ञापनजस्तो उपयोगी कलाहरू अनायासै सिर्जनशील भएजस्तो देखिएको छ। 

आम मान्छेको दैनिक प्रयोग हुने वस्तु मात्र होइन, दिनचर्यासमेत गाँसिएको यो एक अनौठो कला प्रस्तुत हुँदा स्वभावतः भावक पनि एक छिन अन्योलमा पर्दछन्। चिया खानेहरू चियाका चुस्की पनि लिइरहेका छन्। रमाइलो कुराचाहिँ न यो रेस्टुराँ हो, न दोकान हो। बजारमा पाइने सामान्य कपहरूको मूल्यभन्दा धेरै महँगा यी कपहरू यहाँ किन्न पनि पाइन्छ, तर यो दोकान होइन। चियाको चुस्की लिइरहेका धेरै देखिन्छन्, पिइरहेकासँग सोध्न मिलेन। पैसाचाहिँ तिर्नुपर्छ वा पर्दैन थाहा छैन। तर यो रेस्टुराँचाहिँ होइन।  

यो अनौठो कार्यक्रममा चियाको गुणका साथ मानवको दिनचर्यामा एउटा चिया कल्चर बनेको आदिबारे प्रवचनको ठेली पनि पस्कने सन्दर्भ छ। उद्घाटनको सत्र वा समापनको सत्रमा यसलाई सजाएरै पस्किएको अवस्था पनि देखिन्छ। आम भावकलाई सादर निमन्त्रणाका साथ आग्रह गरेको सन्दर्भ पनि जुरेको छ। चिया कल्चरसँग सिरामिकचाहिँ जुर्दाजुर्दै पनि कलाचाहिँ अलि छुटेको हो कि जस्तो भान भावकले गर्दछन्। 

संयोगवश कलाबारे अभिलेखन, छलफल र मिमांसाको सन्दर्भ भने जोड्न खोजिएको छैन। चियाको कुरा गरिरहँदा यसको इतिहास, गुणादि केलाइराख्दा कपभित्रको एस्थेटिस्ट भेल्यूलाई पनि पुर्पक्षको दायरामा ल्याउन पाए कत्ति राम्रो हुन्थ्यो होला ! यो सोचचाहिँ पलाउन सकेन। यसो भएको भए कला र कलाकारको पनि एउटा अलग इतिहास बन्थ्यो होला। यसबारे थप बहस नगरौं, यसलाई अहिलेलाई थाँती नै राखाैं।  

रमाइलो कुराचाहिँ न यो रेस्टुराँ हो, न दोकान हो। बजारमा पाइने सामान्य कपहरूको मूल्यभन्दा धेरै महँगा यी कपहरू यहाँ किन्न पनि पाइन्छ, तर यो दोकान होइन। चियाको चुस्की लिइरहेका धेरै देखिन्छन्, पिइरहेकासँग सोध्न मिलेन। पैसाचाहिँ तिर्नुपर्छ वा पर्दैन थाहा छैन। तर यो रेस्टुराँचाहिँ होइन।

तापनि बनेका काठकै र्‍याकहरू पनि अनि कपलाई प्रस्तुत गर्ने, पस्कने तौरतरिका पनि कलात्मक रूपमा देखिँदाचाहिँ त्यहाँ जे छन्, कलाकै रूपमा देखिन्छ, महसुस हुन्छ। अनि थोरै भए पनि बुझ्न नै खोजिन्छ। यसर्थ हामी भावनात्मक, अवधारणागत रूपमा गोपाल कलापे्रमी श्रेष्ठका कलाहरू देख्छौं, हेर्छौं। दशकौंदेखि यस्तै माटाका कलाहरू नयाँनयाँ प्रयोगमा, नितान्त नयाँनयाँ स्वरूपमा ल्याइरहने कलापे्रमी यसपल्टचाहिँ के लिएर आएको छ। यसलाई रसस्वादन गर्न पल्केका धेरै भावकहरू छन्। अवलोकन गर्ने लालसा त राख्छन् नै। वस्तुतः यसप्रकारले कलालाई प्रदर्शन गर्ने कुरा सर्वथा नौलो हो। यसैकारणले पनि व्यापारजस्तो भएर देखिने यी कलाहरू भावकसम्म आइपुग्दा अनौठो भएर देखापरेका हुन्। वस्तुतः कोल्याबोरेटिभ कलाको यो अनुपम नमुना पनि हो। विश्व बजारमा कोल्याबोरेटिभ कला, समसामयिक कलाको अत्यधिक चलनचल्तीमा आएको शक्तिशाली कलाको नौलो धार पनि हो। 

डान फ्लाबिनको थोरै प्रसङ्ग

यस्तो प्रचलन विश्वमा साठीको दशकको उत्तरार्धमा अचाक्ली बढेर आएको थियो। अहिले यसैको पराकाष्टामा अझ योभन्दा थुप्रै कुराहरू हुने गर्दछ। सन् १९६४ मा डान फ्लाबिनले ‘डे लाइट एन्ड कुल ह्वाइट’ नामक यस्तै काम गरेर विश्वलाई चकित बनाएका थिए। उनको अर्को चर्चित काम सन् १९९६ मा बनाएको ‘साइट स्फेसिफिक इन्स्टलेसन’ पनि हो। बजारबाट बिक्रीमा राखिएको ट्युबलाइटहरूलाई (फ्ल्यूरेसेन्ट लाइट) मात्र अनेक ढंगबाट विशाल रूपमा प्रदर्शन कक्षमा कलाको रूप हो भनी प्रदर्शित गर्ने गर्दथे। वा यसले सिर्जना गरेको वातावरण समग्रमा एउटा कला बन्ने गर्दथ्यो। ट्युबलाइटहरूको प्रदर्शनपछि पुनः बेचिन दोकानमा फर्काइने गरिन्थ्यो। 

इन्स्टलेसनको स्वभाव अस्थायी हुँदा यो प्रक्रिया स्वाभाविक पनि देखिन्थ्यो। इन्स्टल्ड गरेको कुरा पुनः भत्काएर हरेक वस्तुलाई लानु, भताभुङ्ग पार्नु अनि यसको अस्तित्वलाई निमिट्यान्न पारेर खरो भाषामा भन्नुपर्दा मार्नु नै इन्स्टलेसन कलाको विशेषता हो। निश्चित ठाँउमा निश्चित अवस्थामा यो कलाले पारेको क्षणिक प्रभाव अनि रूपलाई छायाचित्रले सम्हालेर राख्नुले नै यो कला जीवन्त रूप बन्छ। अहिलेचाहिँ यसैको पनि बिक्रीवितरण हुने प्रचलन कलाका सङ्ग्रहालयहरूले गर्न थालेपछिचाहिँ यस्तै रूप सङ्ग्रहालयभित्रै पनि इन्स्टल्ड गर्न थालिएको छ। यसलाई भने भावकले निश्चित शुल्क तिरेर जुनसुकै बेला पनि अवलोकन गर्न सक्छन्।  

डान फ्लाबिनका कलाहरूचाहिँ यस्तै पचासौं लाइटहरूसँग ठूलाठूला कक्षहरू मधुरो प्रकाशमय (आँखा नखाने) वातावरण बनाउँदै इन्स्टलेसन स्वरूपमा कलाको रूपमा देखिनु उनको विशेषता थियो। त्यसबेलाको यो नितान्त नौलो कलाको प्रस्तुति भइरहँदा प्रकाशसहितको ट्युब (उपभोग्य वस्तु) मात्र एक सबल पात्र बनेको थियो केही समयका लागि। यो ट्युब आफैमा कला नभएर एउटा साधन थियो, सहयोगी पात्र थियो। जसले यी कलाकारको महान् कला जन्मनुमा महत्वपूर्ण योगदान दिएको थियो। 

उपभोग्य वस्तु सस्तो भाउमा दोकानमा रहेको केही छिनका लागि प्रदर्शन कक्षमा कलाको रूपमा महँगो भएर देखा पर्नु पनि कम घतलाग्दो घटना बन्न गएको थिएन त्यसबखत। उनी मूलतः मिनिमालिस्ट आर्टिस्ट थिए। झट्ट हेर्दा कन्सेप्चुयल आर्टिस्टका रूपमा स्थापित भइसकेका कलाकार कलाप्रेमीका यी कामहरू पनि यसैबाट प्रभावित अनि यस्तै विशेषताको सेरोफेरोमा घुमेको देखिन्छ। अलिकति फरकचाहिँ के देखिन आउँछ भने कलाप्रेमीका यी कपहरूचाहिँ प्रदर्शन पछि पनि मूल्यमा हेरफेर हुँदैन अनि घरमै बस्दा वा दोकानमा पुग्दा पनि सायद सामान्य उपभोग्य वस्तुभन्दा पनि कलाकै एउटा रूपमा देखिन्छ।  

माथिल्लो कक्षमा चाहिँ ठूला, बाक्ला, मोटा काठमा कलात्मक स्वाभाविक फल्याकहरू (काटकुट गरेर नबनाइएको) झुन्डाइएको अवस्थामा देखिन्छ। प्राकृतिक सेपमा बसेका यी फ्ल्याकहरू कम लोभलाग्दो देखिँदैन। जसमाथि गोलाकारमा कपहरू गफ गर्न, छलफल गर्न बसेकाजस्ता देखिन्छन्। माथिपट्टि कपासमा बादलहरू गुजुल्टिएर अटेमटेसमा बसेका देखिन्छन्। ससाना माटाकै भाडाहरूमा ससाना बोन्साइ गरेका रुखविरुवा आफ्नै धाक जमाएर बसेकाजस्ता निर्धक्क दृश्यावलोकन हुन्छ। 

नितान्त इन्स्टलेसनको स्वरूप बोकेका अनि झुलनमा झुलिरहेका यी कलापे्रमीको कलामा एउटा अलग आकर्षन देखिन्छ। उनका कलामा मिठास र लालित्य छ। कलामा गुणस्तरको खोजी गर्न यसैलाई केलाउन यही एस्थेटिक्स जजमेट अपरिहार्य सर्त पनि हो। कलामा यही लालित्य कसरी कहाँबाट कस्तो रूपमा उदय हुन्छ भन्ने नियम र उपनियमहरू भने हुँदैनन्। तर भावकमा यस्ता लालित्यमयी प्रभाव भने कलाबाट प्रवाह हुन्छ नै। यही विशेषता, शिल्पी बोकेका कलाप्रेमी अझ सहयोगी पनि हुँदा सबैको प्यारो पनि बनेका हुन््। उनको थप विशेषताका रूपमा आफ्नै विविध कामहरूलाई सङ्गठित गर्ने अस्वाभाविक पारामा पस्कने उनको कला पनि विलक्षणकै छ।  

कलामा प्रयोग गर्ने उनको यो लालसा पहिलोपल्ट भने होइन। सन् १९९५ मा नेपालमा पहिलोपल्ट पर्फमेन्स र इन्स्टलेसन काम गरेर नेपाली समसामयिक कलामा उत्तरआधुनिक प्रवृत्तिको अगुवायी गर्ने पनि उनी नै हुन्। यो कलागत–प्रवृत्तिलाई औपचारिकरूपमा अगाडि बढाउने कला संस्था ‘सूत्र’का पनि उनी नै अध्यक्षसमेत भएका हुन्। उनैको अगुवाइमा सूत्रबाटदर्जनौं यस्ता कार्यक्रमहरू भएका हुन्। यसबारे धेरैपल्ट धेरै ठाउँमा मैले नै लेखिसकेको छु। अहिले यतापट्टि नजाऊ। मूलतः उनी समसामयिक मूर्तिकार हुन्। 

व्यावसायिक र सिर्जनशील हुँदै उनको कलायात्रा बढ्दै जाँदा आज भने कलाका यी दुवै धारहरू उनका कलामा विलय भएर देखा पर्न थालेको छ। यो उनको खाँटि पहिचान पनि हो। माटोलाई खेलाएर उहिलेदेखि बनाउने गरेको पोटरी, सेरामिक्स र टेराकोटालाई नितान्त आधुनिक फर्ममा सिर्जना गर्ने, यसैमा विचारलाई समेत घोल्ने, यसका टेक्निक विशेष गरेर प्राविधिक पक्षलाई स्वदेश र विदेशमा समेत सिकाइ हिँड्ने सम्भवतः उनी मात्र एक हुन्। यसलाई ठोकेरै भन्न सकिन्छ, भन्नै पर्ने हुन्छ।  

सन् १९९८ मै एकल कला प्रदर्शनीको शुभारम्भ गरिसकेका कलाप्रेमी, गोल्ड फिल्ड सिरिज, गणेशका सिरिज, कमल फूल र किहोल सिरिजबाट आजको दिनसम्म उनले सम्भवतः हजारौं कामहरू गरिसकेका छन्। उनले काठमाडौंयुनिभर्सिटीको कलासंकायमा लामो समयसम्म प्राध्यापन गर्न समय व्यथित पनि गरे। यस्ता अनेकौं काम गर्दागर्दै फूलमा बढी रुची हुँदाहुँदै ओशो तपोवनको जंगलभित्र अनेकौं मूर्तिहरू स्थापना समेत गरे। यसरी फूलको भीडमा मूर्तिलाई समेत स्थापित गर्ने अनि गार्डेनमा मूर्ति राख्ने परम्परालाई जिउँदो बनाउने श्रेय पनि उनैलाई जान्छ। यसले गर्दा विश्वमा प्रचलनमा रहेको स्कप्चरल गार्डेनको अवधारणा नेपालमा पनि प्रवेश गरेका हुन्। उनी फूलबगैंचाको डिजाइन गर्ने पनि गर्दछन्। यसो हुँदा यो कल्चरले पनि स्थायित्व कायम गरेको छ।  

म्यास्कुलिज्मका थोरै कुराहरू  

केही वर्ष अगाडिमात्र गरेको उनको ‘म्यास्कुलिज्म’ नामक एकल कला प्रदर्शनीले त नेपालमा मात्रै पनि होइन, यता साउथ एसियामा नै एउटा तरङ्ग ल्याएको थियो। विश्वमा जेन्डर इसुमा काम गर्ने हजारौं कलाकार छन्। नेपालमै पनि बगुन्द्र कलाकारहरू यो सवालमा काम गरिरहेका छन्। महिला हिंसाको सवाललाई उठाउने अनि यसैमा आधारित भएर कला सिर्जना गर्ने त नेपालमै सयौं कलाकारहरू होलान्। तर पुरुषका बारेमा उनका दुखेसो, पीडाबारे कसैले पनि कला बनाएका थिएनन्। अझ साँचो रूपमा भन्नैपर्दा आज पनि यो विषयमा अन्य कलाकारले हात हाल्न चाहेका छैनन्, सकेका छैनन्। 

यस्तो अवस्थामा उनले साँढेलाई प्रतीकात्मक बिम्ब बनाएर महिलाका अनेकाैं शक्तिशाली रूपहरू सिर्जना गरेर म्यास्कुलिज्मका सवालहरू उठाउने कलाकार उनीबाहेक अर्को देखिन सकेको छैन भन्दा हिचकिचाउन पर्दैन। सानाठूला ढंगबेढंगका महिलाहरू, गतिशील चिप्लोचाप्लो साँढेहरूको बथान बनाएर यसबेला गजबकै काम उनले गरेका थिए। यो इसुमा अर्थात् साँढेले भोग्न परेको दुःखबारे सम्भवतः कसैले सोचेका पनि थिएनन् होला। यो एउटा विचित्रको सोच र अति अब्बल रूपमा रहेको उनको शिल्प–दक्षताले गर्दा पनि उनी नेपाली समसामयिक कलाको समसामयिक अवस्थालाई, समसामयिक कलाको धारलाई बुझ्न सक्ने अनि समयानुसार प्रस्तुतसमेत गर्न सक्ने शक्तिशाली कलाकार बन्न पुगेका हुन्।  

एउटा कप आफैमा सिङ्गो कला हो। यसैलाई उपभोग गर्दा (चिया खान पर्दा) सँगै बस्न आउने चियादानी, चिनी र चियापत्ती अनि मानव जसले चियाको उपभोग गर्छ, हेर्दा समग्रमा पुनः अर्को एउटा कलाको रूपमा देखिन्छ। यी अवयवहरू पनि कोल्याबोरेटिभ प्रक्रियामा आबद्ध भएका देखिन्छन्। यसैमा जोडिने मानव कलाकारको एक पात्र बन्दा पनि कलाको एक अलग र नितान्त फरक रूप देखिन्छ। 

कलाले यसरी परिधिलाई तोड्दै अति तीव्रगतिमा हुइकिँदै जाँदा आज कलाका शास्त्रीयता वा आधुनिक शैलीहरूमा समेत आज अनुशासित भएर देखा पर्ने गर्दैनन्। तथापि एक अलग ढंगको फरक कलागत मान्यताका साथ, गुणस्तरकै कलाहरू पनि नौलो आयामका साथ प्रदर्शित हुने गर्दछन्। अहिले विश्व बजारमा यस्ता कलाहरू प्रदर्शन गर्न आर्ट फिएरको (कला मेला) नामबाट आयोजना हुने गर्दछन्। जहाँ विश्वभरका यस्तै नौलो प्रयोग गर्ने कलाकारको भीड जम्मा हुने गर्दछ।  

कपको माध्यमबाट यी गतिविधि वा मानवमा सधंै घटित भैइरहने एउटा दिनचर्या अनि बन्न गएको संस्कृतिको संरक्षण गर्न अद्भूत देखिन्छ। यसैमा कन्सेप्चुयल, कोल्याबोरेटिभ बन्दाबन्दै संस्कृतिको एउटा भाग बनेको देखिनु पनि मूलतः उनको विशेषता नै हो। आर्ट, टि, अनि नेचर नामकरणका साथ देखिएको यो कला प्रदर्शनीमा मात्र चियाको कल्चरलाई, यसैसँगको सदियौंदेखि गाँसिएका माटाका भाडाहरूसँग मात्र अवलोकन नगरिदिएर शास्वत प्रकृतिलाई पनि महसुस गरोस् भन्ने पनि कलाकारको आग्रह देखिन्छ। 

यतिमात्र होइन, यो सुइरोसँग पनि भनेर भन्न पनि पछि परेको छैन। अर्थात् व्यापार–व्यवसायबीच सिर्जनशील कला समग्रमा उभिएको यो यथार्थ नै अनौठो कलाको रूपमा हामीमाँझ उभिएको हो। यसो हुँदा व्यावसायिक कलाको एक मुष्ठको विलय, समागम आदि छ त्यहाँ। यो एउटा अद्भूत वातावरणले गर्दा पनि कलाको यो नौला धार नेपाली समसामयिक कलामा एक अलगै पाराले स्थापितसमेत भएको देखिन्छ।  

चिया पिउने प्रचलन  

चिया खाने प्रचलन दशौं हजार वर्षदेखि अनवरत रूपमा मानवबीच रहेको किम्वदन्ती छ। ऐतिहासिक रूपमा हेर्दा पनि चाइनाको युनान प्रोभिन्समा इसा पूर्व १७६६–१०५० मा चिया औषधीका रूपमा प्रयोग गर्दथे भन्ने गरिन्छ। अझ यसलाई केलाउँदै जाँदा चाइनामा तेस्रो शताब्दीमा त चिया पिउने प्रचलन रहेको थुपै्र अभिलेख भेटिन्छन्। आधिकारिक रूपमा हेर्ने हो भने चाहिँ पश्चिमी सभ्यताका रूपमा चिया पिउने प्रचलन उदय भएपछि पोर्चुगिज धर्म गुरुहरू र व्यापारीहरू चाइनामा पसेका र त्यसपछि सोहौँ शताब्दीतिरबाट चाइनामा चिया पिउने प्रचलन सुरु भएको देखिन्छ। सत्रौं शताब्दीमा यो ब्रिटेनमा यसको प्रचलन देखिने गरी आयो। 

जब बेलायतले भारतमा राज गर्दैगर्दा चाइनाको चियामाथिको एकलौटिपनलाई तोड्न खोजे, भारतमा पनि चिया बगानको बीजारोपण भयो। मूलतः भारतको आसाममा पहिलोपल्ट चिया खेती गरेको इतिहास छ। नेपालमा भने राणा प्रधानमन्त्री जंगबहादुर राणाका ज्वाइँ गजराज सिंह सन् १८७३ ताका दार्जिलिङको भ्रमणमा जाँदा उनलाई जता पनि स्वागत गर्दा चिया नै ख्वाउने प्रचलनले गहिरोसँग प्रभावित पारेको थियो। अनि जता जाँदा पनि चियाको रहरलाग्दो, लोभलाग्दो, शौन्दर्यमयी चिया–बगान देखेपछि उनैले नेपालमा यो चिया खेती गर्ने प्रचलन भित्र्याएका हुन्। पूर्वी नेपालको इलाममा चिया बगानको स्थापना गरियो। अनि इलाम बजारमै सन् १८७८ मा चिया फेक्ट्री नै स्थापना गरियो। 

चिया पिउने प्रचलनका लोकोक्तिहरू गजब रमाइलोपनका साथ अभिलेखन पनि भएको इतिहास छ। प्राचीन कालमा चाइनाका हरेकजसो डेनेस्टिका राजा–महाराजाहरू तातो पानी खाने शौख राख्दथे अरे। तातोपानी अलि खल्लो हुँदा यसैमा किसिमकिसिमका वनस्पति राखी नौलानौला सुगन्धका साथ तातोपानी पिउने प्रचलन थियो। अनि सानका साथ आनन्दानुभूत गर्दथे रे। दुर्भाग्यवश कुनै बेला विषयुक्त वनस्पति पनि पर्दथ्यो रे। यसले स्वभावतः नोक्सान पनि हुने गर्दथ्यो रे। तर यसैलाई पनि यही तातोपानी पिउने बखतमा एक विशेष प्रकारको वनस्पति (जडीबुटी) को प्रयोग गर्दथे। अनि यस्ता विषको प्रभावबाट मुक्त पनि हुन्थे रे भन्ने किम्बदन्ती छ। पछि यही पेय पदार्थ नै चियाको प्रारम्भको रूपमा रहेको भन्ने गरिन्छ।  

अहिले चिया पेय–पदार्थका रूपमा अत्यधिक प्रयोग हुँदा आज यो मानवका लागि अपरिहार्य बन्न गई अहिले एउटा कल्चर नै भइसक्यो। अहिले अलि फरक रूपमा विशेष गरेर नेपाली युवाहरूमा फैलिएको कफी कल्चर वा यसैका अनेकांै रूपमा पेय–पदार्थ विकास भई जहँ पनि र जहिले पनि खानैपर्नेजस्तो भएको छ। यति मात्र होइन, सत्कार गर्दा चाडपर्व वा भोजभतेर गर्दा, रमाइलो गर्दा, कुनै पनि काम, कार्यक्रममा यो चियाको अनिवार्य उपस्थिति हुन आवश्यक भइसक्यो। अहिले बिगबिगी भएको यही चियाको कल्चरसँग कलाकार आफ्नो कलालाई विलय गर्न खोज्दा कलामा नयाँ आयाम देखा परेको छ। आम भावकसँग एकाकार हुन खोज्दा, अर्थ र व्यापारसँग नजिक हुन खोज्दा पनि यस्तो कलाको अनेकांै स्वरूपहरू देखा परेको यथार्थ शास्वत सत्य हो। समसामयिक कलाको इतिहासमा यसलाई कलाकारको थप सिर्जनशील, शिल्प दक्षका रूपमा हेर्ने गरिन्छ। यसपटक भने अलिकता चियाको प्रमोसनको पाटो, एक आपसमा (सर्जक र व्यापारी) हुन गएको सहयोगको पाटोले स्वभावतः एउटा अलग कल्चर विकास पनि गरेको छ। प्रदर्शन कक्षभित्रचाहिँ एक अलग रूपमा देखिँदादेखिँदै पनि सौहार्द वातावरणमा कला सार्वजनिक हुनु, नौलो र अनौठो वातावरणमा कलाको प्रस्तुति हुनु र गराउनु पनि कलाकारको सिर्जशीलता र थोरै नौलो प्रयोग पनि हो। स्वभावतः यसले भावकको मन पनि जितेको छ।  

सिरामिक कलाको प्राचीनता  

चिया पिउने कप आफैमा उपयोगी कला हो। हजारौं वर्ष पहिलेका यस्ता उपयोगी वस्तु सामग्री भेटे यसलाई पुरातात्विक सम्पदा भन्ने चलन छ। यो कलाको एउटा अभिन्न रूप पनि हो। मूलतः इसापूर्व सातहजार वर्षदेखि अस्तित्वमा रहेको सिन्धुघाँटीको सभ्यतामा पोटरी, टेराकोटा, सिरामिक कला उपयोगी कलाका रूपमा मात्र होइन, धार्मिक, सिर्जनशील कलाकै रूपमा पनि अस्तित्वका कायम थियो। चाइनिज पोटरी दशहजार इसापूर्वदेखि प्रचलनमा रहेको भन्ने गरिन्छ भने ग्रिक पोटरी सात हजार इसापूर्वमा अस्तित्वका थियो भने अझ भेनस अफ डल्बी भेस्टोनाइसको त २६००० इसापूर्वमा अस्तित्वमा रहेको बताइन्छ। यी सबै माटाबाटै बनेका उपयोगी कलाहरू हुन्। भक्तमा भक्तिभावको जगेर्ना गर्नदेखि लिएर राजनैतिक, सामाजिक इतिहासलाई उत्खनन गर्नसमेत यसले बल पुर्‍याउँदै आएको छ। यस्ता सम्पदाहरू माटाका भाँडाकुँडाहरू, मूर्ति र अन्य वस्तुहरू हुन्, जुन आज हामी कलाको चर्चा, व्याख्या विश्लेषण गर्दा आधारशीला मान्छाैं।  

स्रोतबिन्दुका रूपमा यसलाई लिने गर्दछाैं। सोझो अर्थमा भन्दा यसैलाई पुनव्र्याख्या, परम्परागत इतिहासको निरन्तरता आदिमा कलाकारले आजको सन्दर्भ मिलाउँदै सिरामिक कलाको समसायिक रूप निर्माण गरिँदा यसले ठूलो अर्थ र गरिमा बोकेको छ। कमसेकम नेपालमा कलापे्रमीबाहेक यस्तो गहिराइका साथ, निरन्तर र समसामयिक स्वरूपमा अरू कसैले गर्न सकेको छैन। अहिले नेपालमै पनि यस्ता टेराकोटा र सिरामिक भाँडाकुँडाहरूको व्यापार औधी बढ्न गएको अवस्था छ। घरघरमा यसको उपभोग गर्ने प्रचलन पनि तीव्र छ तर यसैलाई कलाको रूपमा प्रस्तुत गर्ने कलाकार एवम् कलापे्रमीचाहिँ नितान्त अलग प्रकृतिमा देखिन्छन्। 

प्रकाशित: ७ श्रावण २०७९ ०५:४९ शनिबार

सिद्धार्थ कला केन्द्र