कला

गरिबीको चिरफार र उपचार

पुस्तक

नेपाल सरकारका सचिवसमेत रहेका र सरकारी सेवामा तीन दशक बिताएका विद्यानाथ नेपालले सेवानिवृत्त भएपछि झन् बढी महत्त्वपूर्ण काम गरेका छन्। उनले नेपालको विकास र समृद्धिको सपना साकार पार्ने दिशामा सधैं चुनौती रहेको गरिबी निवारणका विषयमा एक गतिलो पुस्तक लेखेका छन्।

‘नेपालमा गरिबी: निदान र उपचार ’ नामक यो कृति गरिबी निवारणका क्षेत्रमा काम गर्ने जोकोहीलाई गतिलो सन्दर्भ सामग्री हुन सक्छ। झन्डै ६ सय पेजमा लेखकले नेपालमा गरिबी निवारणका प्रमुख कारणको चिरफार मात्र गरेका छैनन, यो चुनौतीलाई सम्बोधन गर्न सम्भावित नीतिहरूको सिफारिस समेत गरेका छन्। पुस्तकलाई अनुसन्धानमूलकभन्दा गरिबी, गरिबी निवारण र ग्रामीण विकास विषयमा व्यापक जानकारी र व्यावहारिक ज्ञान दिने ग्रन्थ मान्न सकिन्छ।

लेखकले स्थानीय, क्षेत्रीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका कार्यक्रमहरूको प्रभावकारिताका बारेमा गहन अध्ययन गरेका छन्। पहिलो भागमा अध्ययनको पृष्ठभूमि, नेपालमा गरिबीको वर्तमान स्वरूप तथा गरिबी मापनका आधारहरू, आयमा आधारित गरिबी तथा मानवीय गरिबी बारेमा चर्चा गरेका लेखकले दोस्रो भागमा गरिबीका लागि जिम्मेवार विभिन्न सहायक कारणमध्ये सुशासनलाई बढी जिम्मेवार ठानेका छन्। हुन पनि, सुशासनको अभावमा जतिसुकै आर्थिक र सामाजिक सुधारका कुराहरू गरे पनि तिनीहरूको उपादेयता कम हुने नेपालको अनुभवले प्रस्ट देखाएको छ।

किताबको चौथो खण्डमा गरिबी निवारणका नीति, कार्यक्रम र रणनीतिहरूका बारेमा घतलाग्दो विश्लेषण गरेका लेखकले पहाडी धरातलको उत्पादन वृद्धि र जलवायु परिवर्तनका असरहरूलाई न्यूनीकरणको विषयलाई प्रमुख मुद्दाका रूपमा चित्रण गरेका छन्। पाँचौं खण्डमा गरिबी निवारणका अन्तर्राष्ट्रिय अनुभवहरूको चर्चा गरेर पुस्तकको अन्तिम खण्डमा समग्र विषयलाई संक्षेपीकरण गरिएको छ। नेपालमा आर्थिक रूपमा सक्रिय जनसंख्याको ६० प्रतिशत युवा रहेकाले यो जनसांख्यिक लाभको फाइदा लिनुपर्ने, निर्यात क्षेत्रलाई सबल पार्नुपर्ने, दिगो आर्थिक विकासका लागि उद्योग र व्यापारमा भूमिकालाई सशक्त पार्नुपर्ने तथा कृषि, जलस्रोत, पर्यटन क्षेत्रको विकासमा जोड दिनुपर्नेमा लेखकको जोड छ।

यो पुस्तकको प्रकाशन सही समयमा भएको छ। उच्च मुद्रास्फिति, वैदेशिक मुद्राको सञ्चितीको रित्तिँदो स्थिति, उच्च व्यापार घाटा, कमजोर आर्थिक वृद्धिले पछिल्लो समयमा नेपालको अर्थतन्त्र आक्रान्त छ। राम्रा योजना, नीति र कार्यक्रम बनाउन विश्वकै अग्र सूचीमा नेपाल पर्दछ। तर तिनको कार्यान्वयन सर्वथा कमजोर रहँदै आएको छ। गरिबी निवारणका लागि कैयन दशकदेखि लगातार प्रयास हुँदाहुँदै पनि नेपालमा जनसंख्याको ठुलो तप्का अझै पनि गरिबीको रेखामुनि छ। त्यही सेरोफेरोमा लेखकले यो विषयको विवेचनात्मक विश्लेषण गरेर पुस्तकलाई पठनीय बनाएका छन्।

पुस्तकको सुरुमा अर्थशास्त्री डा. स्वर्णिम वाग्ले, प्राध्यापक उमाकान्त सिलवाल, ज्ञानचन्द्र आचार्य र प्राध्यापक सञ्जय आचार्यले पुस्तकमा आआफ्ना मन्तव्य दिएर विषयवस्तुको गहिराइलाई अझ प्रस्ट पारेका छन्। अर्थशास्त्री तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. वाग्लेले दिगो विकास लक्ष्यअन्तर्गत सन् २०ं३० सम्ममा गरिबी समाप्त पार्न रणनीतिक उद्देश्यसहित नेपालका लागि चारवटा नीतिगत औजार आवश्यक रहनेमा जोड दिएका छन्। ती औजारमा रोजगारमूलक आर्थिक वृद्धिलाई तीव्रता दिनुपर्ने, आम मानिसलाई पूर्वाधारको माध्यमबाट आर्थिक अवसरहरूमा जोड्ने, आधारभूत सेवाहरू सरकारी स्तरबाट उपलब्ध गराउन पर्याप्त वित्तीय व्यवस्था गर्ने र सामाजिक सुरक्षाका व्यावहारिक प्रणाली स्थापित गर्ने विषय रहेका छन्।

हिजोआज कतिपयले नेपाल श्रीलंकाझैं आर्थिक रूपमा टाट पल्टन सक्ने आँकलन गरेका छन्। थेग्न नसकिने वैदेशिक ऋण, वैदेशिक मुद्राको सञ्चितीमा ह्रास तथा उच्च मूल्य वृद्धिले दक्षिण एसियाली राष्ट्र श्रीलंका हाल आक्रान्त छ।

यसले आर्थिक सँगसँगै राजनीतिक अस्थिर तासमेत निम्तिएको छ। यो प्रसङ्गमा नेपाल पनि सावधान हुन जरुरी छ। सुशासनको पक्ष श्रीलंकामा जस्तै नेपालमा पनि उत्तिकै टड्कारो छ। सुशासनका अभावमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को सपना साकार हुन सक्दैन।

लक्ष्य र योजनाअनुसार हाम्रा विकास र गरिबी निवारणका क्षेत्रमा काम हुन सकेको छैन। आर्थिक वृद्धि, उत्पादन र उत्पादकत्व, औद्योगिकीकरण, गुणस्तरीय शिक्षा तथा स्वास्थ्य, प्रदूषणमुक्त वातावरण तथा सुशासनका क्षेत्रमा अपेक्षित उपलब्धी हासिल हुन सकेको छैन। रोजगारीको अभावले युवा श्रमशक्ति विदेशिने क्रम जारी छ।

पछिल्लो समयमा कोरोना संकट, युक्रेन युद्धलगायतका कारणले समग्र आर्थिक तथा सामाजिक परिसूचकहरूमा प्रभाव परेसँगै गरिबी निवारणमा पनि ठूलो चुनौती थपिएको छ। आगामी दिनमा यस्तो प्रतिकूल प्रभाव गहिरिँदै गएमा नेपालले विगत दुई दशकयता गरिबी निवारण, समावेशी विकासको क्षेत्रमा प्राप्त गरेको उपलब्धी गुम्ने जोखिम छ।

यो समस्यालाई समाधन गर्न राजनीतिक इच्छाशक्ति सबैभन्दा टड्कारो बनेको छ। यो प्रसंगमा लेखक नेपालले भारतका पूर्वराष्ट्रपति एपिजे कलामले भनेको ‘सपना त्यो होइन, जो निद्रामा देखिन्छ, सपना त्यो हो, जसले निदाउन दिँदैन,’ भनाइलाई पुस्तकको सुरुमा उद्धृत गर्दै भनेका छन्, ‘उनको (कलामको) यो भनाइ हाम्रा नेताहरूले जनतालाई देखाएको सपना पूरा गर्न लागु हुुनुपर्ने हो तर त्यसो भएको कहिल्यै देखिएन।’

झिनामसिना राजनीतिक कचिंगल र स्वार्थमा मात्र नेता र नीति निर्माता अल्झन नहुने उनको तर्क छ। ‘व्यावहारिक मार्गचित्र, अद्यावधिक प्रविधि, इमान्दारी र प्रतिबद्धताबिनाको सपनाले कलामले भनेजस्तो देशलाई माथि पुर्‍याउँदैन भन्ने कुरा बुझ्न जरुरी छ,’ लेखकको ठम्याइ छ। 

प्रकाशित: ७ श्रावण २०७९ ०२:३५ शनिबार

अक्षर