रामदेव पाण्डे
शहीदको सम्मानमा सरकारका तर्फबाट विशेष समारोहको आयोजना गरिएको थियो। पुरानो व्यवस्था फालेर अहिलेको नयाँ व्यवस्था ल्याउन हाँसीहाँसी मृत्युवरण गरेका सहिद अमर। उनकै सम्मानमा उनको जन्मघर नजिकैको सानो बजारको चोकमा माननीय मन्त्रीज्यूका हातबाट अमरको पूर्ण कदको मूर्ति राख्नका लागि स्थानको शिलान्यास गर्नु थियो। जोडजामको वर्तमान सरकारमा अमरकै छिमेकी गाउँबाट चुनिएका सांसद मन्त्री भएकाले ती शहीदलाई सम्मान दिइँदै थियो।
गरिबको उत्थानका लागि गरिब विरोधी सत्ता फ्याँकेर नयाँ सत्ता ल्याउन भएको युद्धमा मारिएका अमर शहीदको नाम नै अमर थियो। सत्ता फेरिनुअघि मन्त्री महोदय र अमरका घरहरू उस्तै थिए। खानपान र आर्थिक अवस्था सबै समान थिए।
अमरले सहादत प्राप्त गरी आएको नयाँ व्यस्थामा भने मन्त्रीज्यूको गाउँको छाप्रे घरले तीनतले पक्की घरका रूपमा परिवर्तित भएको थियो। काठमाडौं गतिलो कोलोनीमा पनि आठ आना जग्गामा बनेको चारतले सासानो झुप्रो तयार भइसकेको थियो।
शिलान्यास कार्यक्रममा शहीदका परिवारलाई बोलाएर विशेष सम्मानका साथ मञ्चमा बसाइएको थियो। शहीदकी आमा, विधवा श्रीमती र सहादत प्राप्त गर्दा भर्खर दश महिनाकी भएकी छोरी क्रान्ति। पल्लो गाउँ र सदरमुकामबाट समेत मानिसहरू आएका हुँदा राम्रै भिड थियो।
कार्यक्रम सुरु भयो। मन्त्रीज्यू बोल्नुअघि २ कक्षामा पढ्ने क्रान्तिले एकछिनका लागि माइक मागी र सोधी, ‘मन्त्री अंकल, मेरा बाको मूर्ति ठड्याउन कति पैसा लाग्छ?’
सानी बालिकाको यस्तो अनौठो प्रश्न अचानक सुनेर सबै जना ट्वाल्ल परिरहेका बेलामा मन्त्री आफै जोसिँदै उठे र भने, ‘साढे पाँच लाख छुट्याएका छौं नानी हाम्रा अमर शहीद क. अमरको पूर्ण कद मूर्ति स्थापनाका लागि।’
क्रान्तिले फेरि माइक हातमा लिई र अनुरोध गरी मन्त्रीज्यूसँग,‘धन्यवाद मन्त्री अंकल, मेरा बाको मूर्तिका लागि त्यतिका पैसा छुटाइदिनुभएकोमा! मन्त्रीज्यूसँग म एउटा अनुरोध गर्न चाहन्छु, हुन्छ?’
मन्त्रीले हात र मुन्टोको ईशाराले हुन्छ भनेपछि क्रान्तिले भनी, ‘धन्यवाद मन्त्री अंकल! मेरा बाको मूर्ति म ठूली भएपछि म आफैंले बनाउने छु। अहिलेका लागि उहाँका नाममा छुट्याइएको साढे तिन लाख पैसा मेरी आमालाई दिनुहुन अनुरोध छ।’
मन्त्रीले आश्चर्य मान्दै सोधे, ‘किन छोरी त्यसो गर्ने? तिम्रा बाबाको सम्मानमा अहिले नै मूर्ति स्थापना गर्दा के समस्या आउँछ र?’
‘मन्त्री अंकल, तपाईंले मेरा बाको मूर्तिका लागि छुट्याएको त्यो पैसा दिनुभयो भने मैले मेरो स्कुललाई ७ हजार तिरेर मेरो शुल्क नतिरेकाले रोकिएको परीक्षा दिन पाउने छु। मेरी हजुरआमाको पाँच वर्षदेखि हुन नसकेको मोतिबिन्दुको अपरेसन हुने छ।
तपाईंलाई मन्त्री बनाउन लडाइँ खेल्दा बा जंगल पसेका बेला पुलिसको कुटाइले खसेको मेरी आमाको पाठेघरको अपरेसन गर्न सकिने छ।
मेरा बाले तपाईंका सालासित लिएको भनिएको बिस हजार रुपैयाँको रिन तिरेर तपाईंका सालाको दिनदिनैको साहुमारा आइमाई भन्ने शब्द सुन्नबाट मेरी आमाले मुक्ति पाउनु हुनेछ। त्यसपछि पनि त्यसबाट पैसा बच्यो भने तपाईंको जस्तो गाउँमा तिनतले र काठमाडौंमा चारतले पक्की घर बनाउन नसके पनि बाले हालेको चुहिने भएको छाप्राको जस्तापाता फेर्न पाइने छ र मन्त्री अंकल म पढ्दै जवान हुन सकें भने पैसा कमाएर बाको मूर्ति आफैं ठड्याउने छु। हुन्न र मन्त्री अंकल?’
प्रकाशित: ६ श्रावण २०७९ ०८:४५ शुक्रबार