कला

काँडाघारी यात्रा

लघुकथा

उमेशकुमार कार्की

दुखको महासागरबाट किनारा लाग्दै थियो रामवीरको जीवनी। दुख गरेर पढाएका तीनै जना छोरा सरकारी जागिरे। छोरी बंगलादेशमा चिकित्सा पढ्दै थिइन्। आर्थिक र सामाजिक स्तर सर्लक्कै बढेको थियो। दानदक्षिणा र धर्मकर्ममा नि निकै अगाडि सर्थे उनीहरूका जोईपोइ। तर, कहाँनेर गल्ती भयो कुन्नि यो कुरा भगवानलाई स्वीकार्य भएन। सोच्दै नसोचेको वज्रपात बज्रियो।

महाभूकम्पले श्रीमती चुँडेर लग्यो। पत्नी वियोगको घाउमा खाटा नबस्दै प्लेन दुर्घटनामा परेर छोरी गुमाए। वृद्ध बुवाले थर्थराउदै छरपस्ट शवका टुक्रामाथि दागबत्ती थिए। मनै त हो! लोहा बनाउनै पर्दोरहेछ। उनले उसै गरे।

एकाध वर्ष यसरी नै बिते पनि फेरि विपत्ति शुरू भयो कोरोना महामारीको रूपमा। यसपालि त आफैं यमलोकको नजिकै पुगेर फर्किए उनी। महामारी नि कस्तो विचित्र! आफ्ना र आफन्त कसैले हेर्नै नपाउने। तीनतीन जना छोरा भएर पनि बुवाको हेरविचार गर्न पाएनन्। यस्तो विषम परिस्थितिमा फोनबाटै भए पनि हिम्मत नहार्न सुझाइरहन्थे। बस्, सक्ने नै यत्ति थियो।

माइला र कान्छालाई सिकायत गर्थे, ‘तीनचार दिन भो ठूलो केटाको फोनै आ’को छैन।’

छोराहरू सम्झाउँथे,‘दाजु काममा व्यस्त हुनुहुन्छ होला! पिर नगर्नुस् न।’

‘होला त नि!’ आशंकाका बिच यसै बोलिदिन्थे उनी।

क्रमश: माइला र कान्छाको पनि फोन आउन छाड्यो। ‘कतै अनिष्ट त भएन’ अनेक आशंकाका काला बादलहरू मनभित्र मडारिन्थे र तेजावी वर्षा गराइरहन्थे।

उफ! भगवान् पनि यति निर्दयी नभएको भए हुने! छोराहरू पनि...। दोस्रोचोटि यमलोकको नजिक पुगे पनि चिकित्सकको अनेक प्रयत्नमा फर्किए फर्किन त तर यो शून्य संसारमा फर्किनुको कुनै अर्थ थिएन न कि दुखले आर्जेको अर्थको।

फेरि पनि उनले मनलाई लोहा बनाए।

जति दिनहरू बित्दै जान्थे उति नै परिवारको यादले सताउँथ्यो। यसरी यादै यादमा रामवीरले आँगनलाई उडान बनाए र ‘एक्लै छैन, परिवारसँगै छु’ भन्ने महसुस होस् भनेर सबै जनाको  प्रतिमा बनाए।

हरेक बिहान सबैको नजिक जान्थे, मायाले मुसार्थे र पालैपालो बोलाउँथे। तर, एक बिहान बोलाउन बिर्से। पारिजातको बोटमुनि  पारिजातकै बिछयौनामा चीरविश्राम लिंदै गर्दा उनलाई बोलाउने कोही भएनन्। काँडाघारीको महायात्रा फूलबारीमा विसर्जित हुँदा  प्रतिमाहरूले  मात्र हेरिरहे/हेरिरहे।

प्रकाशित: ६ श्रावण २०७९ ०५:३९ शुक्रबार

अक्षर