कला

असारे विकास

लघुकथा

लक्ष्मण थापा

देशको भण्डारमा विदेशी मुद्राको अनिकाल परेको छ र आकाशमा कालो बादलको अनिकाल छ। असारको महिनामा पनि हप्तौं भयो पानी नपरेको। धन खेतमा धाँजा फाटेका छन्। कतै भ्यागुताको विहे त कतै जनप्रतिनिधिलाई बाँधेर मन्दिर लगि पूजा-आजा गरी ईन्द्रलाई खुशी पारेर पानी झार्ने प्रयास नेपाली किसानहरूबाट पनि भैरहेको छ।

आकाश निलो छ र तलको धर्तीमा उखुम! बाटाको पीच तातेर हप्प अनुहारै पोल्ने गरी हावा तातेको छ। आज सुदास पानीको शुल्क तिर्न हिंडेरै खानेपानीको कार्यालयतिर लागेको छ। पेट्रोल महँगिएपछि सवारी साधन कम चलाऊँ भनेर घरमा भएको मोटरसाइकल पनि नचलाउने निधो गरेको थियो।शरीरलाई भिटामिन डी पनि चाहिन्छ भन्दै छाता पनि नलिई हिंडेको छ।

यसरी प्रचण्ड गर्मीमा हिंड्न पाउँदा शरीरमा गर्मी भए पनि मनमा शीतल भएको अनुभूति गरेको छ। पेट्रोलको मूल्य झण्डै दुई सय पुगे पनि सडकमा सवारी साधन कम भएका थिएनन्। कोही स्कुटरमा घाँस बोकिरहेका थिए भने कोही पानी बोकिरहेका थिए। दश पाइला परका पसलमा पुग्न पनि मोटरसाइकल चढिरहेका थिए। बेफ्वाँकमा हावामा कार्वनडाइअक्साइड, कार्वनमोनोअक्साइड लगायत धुवाँ र धूलो उडाउँदै कुदिरहेका थिए बेरोजÞगार युवाहरू।

तर, सुदास भनें यसरी हिंड्न पाएकोमा खुशी नै थियो। बाटामा चिनेजानेका मान्छेहरू भेटिएका थिए। तीसँग बोल्दा छुटेका कुरा पाएझैं लागिरहेको थियो। वर्षौं नभेटिएका साथीहरू पनि भेटिएका थिए।

निजी सवारीका साधनमा हिंड्दा यी अवसरहरू कति छुटे होलान्! ऊ मनमनै सोचिरहेको थियो।

सुदास मूल सडकबाट सहायक मार्गतिर लाग्यो। अलि पर सामुदायिक स्कुल थियो। स्कुलको पछाडिको पिच बाटामा असारे विकासको नमुनास्वरूप पिचमाथि पिच थप्दै रहेछन्। पानी नपरेर किसानहरू बाँझो खेत हेर्दै पुर्पुरामा हात लगाइरहेको थिए भने सरकारका विकासे कार्यालयहरू फटाफटा काम गरेर बजेट सक्दै थिए र घरका भकारीमा हात्तीहरू थप्दै पनि थिए।

यता यस्तो गर्मीमा पनि मजदुरहरू तातो अल्कत्रामा मुछेको सिल्कट गिट्टी ओछ्याउँदै थिए।

‘ए केटा, माल अझै पातलोसँग फिंजा।’ सडकको किनारमा छाता ओढेर बसेको ग्याण्टेग्याण्टे खालको उद्दण्डजस्तो केटो बोल्यो। सायद ऊ ठेकेदारको प्रतिनिधि थियो। उसले यो कुरा ‘माल’ फिंजाइरहेको मजदुर केटालाई भनेको थियो।

केटाले सुनेको नसुन्यै गरी आफ्नो काम गरिरह्यो।

‘यही ‘माल’ जोगाएर त हाम्ले कमिसन खाने हो!’ उसले अलि चर्को गरी बोल्यो। कामदारले वास्ता नगरेकाले उसको अहँमा ठेस पुगे होला।

यो कुरा सुदासको कानमा पसिहाल्यो।

‘ए बाबू, देशको राजस्व दुरूपयोग गरे भनेर हामी प्रधानमन्त्री, मन्त्री र नेताहरूलाई गाली गर्छौं तर मौका पाउँदा ढुकुटी लुट्न त सडकका मान्छे पनि पछि नपर्ने रहेछौं नि! अनि यसरी मापदण्डभन्दा पातलो पिच भएपछि यो हेर्ने इञ्जिनियरले पिच पास गर्छ त?’ सुदासले आफ्नो आवाज सक्दो कोमल बनाएको थियो।

ग्याण्टे केटो एकछिन के बोलौं–के बोलौं भएझैं गर्‍यो। ‘त्यही इञ्जिनियरले भनेर त हाम्ले यस्तो गरेको हो नि! खाने मुख सबैसँग छन् के रे!’ भन्दै केटो अर्कातिर फर्कियो।

प्रकाशित: ४ श्रावण २०७९ ०६:०८ बुधबार

अक्षर