कला

जमिन

कथा

कृष्णश्री राई

‘धेरैले आँखा गाडेका रहेछन् यो जमिनलाई। हुन पनि चट्ट रुमाले परेको। मूल सडकदेखि नजिकमा पर्ने। एकदम पायक पर्ने ठाउँको। भोलिका लागि अर्को भव्य चौक यतै नजिकमा बन्ने निश्चितजस्तै रहेछ। भाउ त चाँडै आकाशिन्छ जस्तो छ यसको। त्यसैले त तपाईंले भनिहाल्नुभो, तपाईंले भनेको दामभन्दापाँच लाख बढी नै दिएँ। अरू तपाईं आफूले खाने कमिसन त छँदैछ।’ ऊ आफैंले दलेले फलाक्नुपर्ने कुरा दलेकै सामु भन्छ।

झाँगिदै गरेको कङ्क्रिटको शहर पूर्वतिर छ। त्यो रुमाले जमिनदेखि दक्षिणतिर केही पर एउटा खोला छ। त्यहाँ दिनहुँ एक–दुई शवको दाहसंस्कार हुन्छ। त्यसको पारिपट्टि पातलो जंगल छ। जंगललाई कब्रस्तान भने हुन्छ। पुराना र आला चिहानले त्यहाँ खुट्टा लाउने ठाउँ छैन। साना र ठूला विभिन्न आकारमा उठाइएका कङ्क्रिट समाधिहरू छन् त्यहाँ। तिनमाथि मृतकका जन्म र मृत्युको मिति कोरेर राखिएका छन् वषौंदेखि।

आफूभित्र गोमनको फणाझैं फुलेको अहंलाई ऊ किन्दै गरेको जमिनको बीचभागतिर बसेर बिचौलियाको अघि व्यक्त गर्दछ।

‘झण्डै यो जमिन नउम्केको! तपाईंले मेरो कुरा सुन्नुभो। हामी दुवैलाई जाती भो। ती भुसुनाहरूले गन्दै पो नगनेका मलाई। मेरो पहुँच कहाँकहाँसम्म छ। माथिसम्म छ। त्यही कारण हो मलाई करोडौंको योजना ठेक्कापट्टामा यसो नजर मिलाइदिने माथिकाहरूले। खर्च गरेर कुर्सीमा पुगेकाहरू मेरो उद्यम व्यवसायको उन्नतिमा शुभकामना प्रकट गर्छन्। त्यतिले पुग्दैन फुर्सद मिलाएरै होस्टेमा हैंसे गर्न मेरैमा आइपुग्छन्। म पनि उनीहरूलाई यसो चाँजो मिलाएर अलिअलि पानफूल अनलाइनबाट चढाउँदै गर्छु। कसैको चियो न चर्चो!’

उसले बिहान रजिष्ट्रेसन पास गर्नुभन्दा अघि जमिनमा गाडेको ढुंगाको चार किल्लालाई यसो टाउको घुमाएर हेर्छ र आफ्नो सानो वालेटबाट पैसाको बिटो झिकेर दलेलाई दिंदै भन्छ, ‘ल लिनुस्, तपाईंको एकमुष्ट रकम पैंतालीस लाख रूपैयाँ।’

दलेले रूपैयाँ गनी सक्छ। आजको दलाली आम्दानीबाट ऊ मक्ख हुन्छ। एउटा फूल छातीभित्र कतै सुटुक्क फुलाउँछ। अब दुवै उठ्छन् त्यो जमिनबाट। दुवैले आफ्ना लुगामा लागेको त्यो जमिनको धुलो टक्टक्याउँछन्। दुवै प्रसन्न मुद्रामा त्यहाँबाट बिस्तारै टाढा हुँदै जान्छन्। टाढिन्छन्। यता आफू मोलतोल र बिक्री भएकोमा जमिन छक्क पर्दै उनीहरूको त्यो क्षणिक खुसीलाई मनन गर्न थाल्छ।

     - खोटेहाङ -६, इन्द्रेणीपोखरी, खोटाङ।

प्रकाशित: ४ श्रावण २०७९ ०५:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App