भेट्रान भारतीय गजल गायक भूपिन्दर सिंहको निधन भएको छ। आन्द्राको क्यान्सर र कोभिड-१९ सम्बन्धी शंकास्पद जटिलता देखिएका उनकाे ८२ वर्षको उमेरमा सोमबार मुम्बईको एक अस्पतालमा निधन भएको हो।
चर्चित गायिकासमेत रहेकी भूपिन्दरकी पत्नी मिताली सिंहका अनुसार भूपिन्दरलाई युरिन इन्फेक्सन भएपछि अस्पताल भर्ना गरिएको थियो। जहाँ उनमा कोरोनाका लक्षणहरु पनि देखिएको थियो। उनको पिसाबमा संक्रमण देखिएपछि आठ(दश दिनअघि नै अस्पताल भर्ना गरिएको थियो। परीक्षणपछि उनलाई कोभिड १९ पोजेटिभ देखिएको हो।
कोलोन क्यान्सरको आशंका र कोभिड १९ का कारण सोमबार बिहान अवस्था नाजुक भएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो। साँझ ७ः४५ बजे हृदयघातका कारण उनको अस्पतालमै निधन भएको थियो।
‘आने से उसके आए बहार’, ‘दिल धुन्धता है’, ‘एक अकेला’ आदि जस्ता थुप्रै चर्चित गजल तथा गीतहरुमा भूपिन्दरले स्वर भरेका थिए।
प्रकाशित: ३ श्रावण २०७९ ०८:३४ मंगलबार