कला

किन बुझ्दैनन् यो कुरा

कविता

माया उपाध्याय

जसको

स्वाधिष्ठान र अनाहत चक्रमा

समाहित छौं हामी

दुर्योधनले षड्यन्त्र गरेर

पाण्डवलाई वनबास पठाएजस्तै

प्रकृतिमा प्रदूषण गरेर

हामीलाई ध्वस्त पार्ने

षड्यन्त्र रच्दै छन् शकुिनहरू  

वा आफ्नै आधार काट्ने

चेतशून्य कालीदासहरू।

तिम्रो उर्वर छातीमा डोजरको दाँत गाढेर

कहिले आगो लगाउँछन्

यसरी आगोको राप बढ्दै गएपछि

ज्वालामुखी विस्फोट हुन के बेर

यो बढ्दो प्रदूषणले

हाम्रो मस्तिष्क नै प्रदूषित भएर

हामी नै प्रदूषित हुन के बेर!

हाम्रा यी आधारभूत आवश्यकताहरू

गाँस, बास, कपास र सहवास

प्रकृति नरहे कसरी रहलारु

भोलि यो संसार रहला कि नरहला!

यस्तै प्रश्नजस्तै जटिल भएर बाङ्गिएका

अनुत्तरित जिज्ञासाहरूले

मलाई अचेल सताइरहेछ।

आत्मा र परमात्माको मिलन हो प्रकृति

यो कुरा किन बुझ्दैनन् प्रिया!

तिम्रो इच्छालाई पिंजडामा कैद गरेर

मेरो स्वतन्त्रतामा हस्तक्षेप गरेका छन्

धज्जी उडाएका छन्।

ग्रीन हाउसको प्रभावले जल वर्षाको ठाउँमा

अम्ल वर्षा हुन के बेर

मानवकै जीवन बचाउन आएको रवि किरण

धर्तीसम्म आएर

ग्रीन हाउस ग्याँसको कारण

फर्किने बाटो नपाउँदा

निरन्तर बढेको तापक्रमले

हिमटाकुराहरू पग्लिएर

नाँगिदैछन् हिमालहरू

हिम नदीहरू पग्लिएर

सागर महासागर बढ्दैछन्।

जसले

दिनानुदिन गाउँबस्ती डुबानमा पर्दैछन् 

सागर छेउछाउका बस्ती!

माल्दिप्स जस्ता देशहरू

प्राकृतिक प्रकोपका कारण कतिपय प्राणीको

अस्तित्व लोप हुँदैछ

विभिन्न महामारीको जन्म हुँदैछ

द्वन्द्वात्मक प्रवृत्तिका कारण

बसाइँसराइको क्रम बढ्दै छ

जसरी

मानवले निर्माण गरेको चुरोटले

मानवकै कलेजो नष्ट गर्न

दिन प्रतिदिन मन्द विषको काम गर्दैछ

त्यसरी नै जलवायु परिवर्तनले

प्रकृतिलाई नष्ट गर्न

दिन प्रतिदिन मन्द विषको काम गर्दैछ

प्रकृतिकै श्रेष्ठ प्राणी मानिने मानवहरू

किन बुझ्दैनन् यो कुरा!

प्रकाशित: १ श्रावण २०७९ ०७:३९ आइतबार

अक्षर