कला

बकपत्र

लघुकथा

किशोर केसी

म स्कुल गइनँ। मलाई सजाय भयो। स्कुल किन गइन भन्ने कारणको खोजी भएन। घरबाट हिँडेको हुँ। स्कुल पुगिँन। बस मेरो गल्ती यही थियो।

हिटलरको ग्याँस च्याम्बरजस्तो कोठाभन्दा खुला आकाश र खुला धर्तीबीचको खुला परिवेश मलाई रमाइलो थियो। कुन रोज्छौ? भनेर मलाई कसैले सोधेन।

सरहरूको बानी पनि मलाई मन पर्दैन। त्यही भएर पनि अलिक त मलाई स्कुल जान मन नलागेको हो। एकदिन मभन्दा सानो केटाले मसँग निहुँ खोज्यो। मैले त्यसका कान बटारें। उसले कक्षा सरलाई उजुरी गर्‍यो। सरले आफूभन्दा सानाका कान किन बटारिस् भनेर मेरा कान बटार्नुभो। सरभन्दा म सानो थिएँ। यो प्रश्न राख्दा मैले थप सजाय भोग्नुपर्‍यो।

यो त भयो-भयो। एकजना शास्त्री सर हुनुहुन्छ। संसार प्रभुले बनाएको भन्नुहुन्छ। विज्ञान सर होइन भन्नुहुन्छ। सरहरूकै कुरा मिल्दैनन्, स्कुलमा। किन जानु म त्यहाँ? म बाटामा खेलेर रमाएको मेरा पितालाई पनि मन परेन। यो थाहा पाएर उहाँ आफै एकदिन मलाई लिएर स्कुल जानुभयो र सरहरुलाई अनुमति दिनुभयो, ‘यसका गाला चड्काइदिनु कान उखेल्दिनु।’

‘के मेरा गाला मादलका ताल हुन् र चड्काउनलाई? के मेरा कान कोठेबारीका मुला हुन् र उखेल्नलाई? उत्तरै म पाउँदिनँ, चित्त बुझाउनलाई।

म स्कुलबाट भागेर घर आउँछु। कारबाही हुन्छ तर कारण खोजिँदैन। भागेर स्कुल जाने दिन कहिले आउँछ होला?

प्रकाशित: ३२ असार २०७९ ०७:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App