रञ्जुश्री पराजुली
महिनौ अगाडिदेखि चुनावको सरगर्मी चारैतिर फैलिएको थियो। के गाउँ के पहाड के शहर सबैतिर मत चिन्हका ध्वजापताकाले शृङ्गारिएका थिए। चियाचमेनाका लागि पाइलैपिच्छे खाजाको व्यापार चम्केका थिए। टाठाबाठाहरू खाजा खाएको हिसाब चुनाव चिन्हमा चढाउन लगाएर ढकार्दै निस्कन्थे। सोझासाझा टुलटुलु हेरेर थुक निल्थे।
चुनावको बेला भएकाले वद्धाहरूलाई भत्ता पनि घर घरमा पुर्याएर उनीहरूको अगाडि ‘जेष्ठ नागरिकको सम्मान गर्नु युवाको कर्तव्य हो। हाम्रो दलले चुनाव जितेपछि आमाबुवाहरूको भत्ता पनि दोब्बर वृद्धि गर्ने छौं। आमाबुबा हाम्रो प्रेरणाको स्रोत हुनुहुन्छ। तपाईंहरूको स्वास्थ्य उपचार पनि देशव्यापी रूपले निशुल्क नै हुने छ। यो हाम्रो यसपालिको नारा हो’ भन्थे। टाठाबाठा बुबाआमा त यस्ता नाराका भुक्तभोगी भैसकेका थिए। पत्याउँदैन थिए। देशको हालत लथालिंग छ। यी नाथेहरू फुर्ती गर्न छोड्दैछन् भन्ने सोचथे। तर कुनाकाप्चाका बाआमा ‘नयाँ सरकारले सुविस्तासँग बाँकी जीवन बिताउन दिने भयो भनेर दङ्ग पर्दै ‘हुन्छ, हामी तपाईहरूले भनेको चिन्हमा छाप लगाउँछौ’ भन्थे।
चुनावको दिन बिहानैदेखि भोट खसाल्न वडाकै एउटा स्कुलमा लर्को लाग्यो। त्यस्तो बेला त्यहाँ सबै टोलवासीसँग भेट हुन्थ्यो। एक प्रकारले रमाइलो नै हुन्थ्यो। यसपालि श्रीमती स्वर्गारोहण भएकीले उनलाई एक्लै भोट खसाल्न जान मन लागेको थिएन। तर नजाऔँ भने आफ्नो अधिकारको दुरूपयोग होला कि भन्ने छ,जाउँ भने एक्लै रमाइलो लाग्दैन’ भन्ने सोच्दै गरौ मन लिएर भोट खसाल्न पुगे।
जेष्ठ नागरिक भएकाले उनलाई लाइनमा नबसाईकन भित्र छिर्न दिइयो। भोट खसालेर औलामा चिन्ह लगाउने बेला एकजनाले ‘बधाई छ है बाजे तपाईलाई। हामीलाई नबोलाईकन यति चाँडै यो उमेरमा दोस्रो बिहे गर्नुभएछ। तर, तपाईकी नयाँ पत्नी त आफ्ना बैनीहरूसँग अघि नै भोट खसालेर गैसक्नुभयो। तपाईं किन यति ढिला एक्लै आउनुभएको’ भनेर सोध्यो।
प्रकाशित: ३२ असार २०७९ ०७:२४ शनिबार