वसन्त चौधरीले निबन्ध, उक्ति आदि विभिन्न विधामा कलम चलाए पनि मेरो विचारमा उनी कवि र गीतकार बढी हुन्। उनका कवितासङ्ग्रह नेपालीका अतिरिक्त नेपालभाषा, हिन्दी, अंग्रेजी, तामाङ, मारवाडी, मैथिली, भोजपुरी , बंगाली र रोमन शैलीमा पनि प्रकाशित भएका छन्।
खास गरेर विदेशमा बस्ने अधिकांश प्रवासी नेपालीहरू जसोतसो नेपाली बोल्न सके पनि देवनागरी लिपिमा लेख्नपढ्न सक्दैनन्। रोमन लिपिमा समेत नेपाली कविता प्रकाशित गरेर चौधरीले त्यस्ता प्रवासी नेपालीलाई पनि प्रत्यक्ष रूपमा नेपाली कविताको रसास्वादन गर्न सक्षम बनाएका छन्।
यसका अतिरिक्त उनका कविताहरू विभिन्न भाषामा अनुवादित भएर प्रकाशित भएका छन्। वसन्त चौधरीले सुरूदेखि नै कविता र गीतलाई सँगसँगै अघि बढाउँदै आएका छन्। विभिन्न समयमा प्रकाशित भएका ‘माया बल्झेछ’, ‘तिम्रो नाममा’, ‘रिफ्लेक्सन अफ लभ’, ‘वन्ली लभ’, ‘लभ फर एभर’, ‘वसन्त बेला’ नामका गीति एल्बमहरू पाठक, स्रोताहरूले निकै मनपराएका छन्।
मैले उनको पछिल्लो प्रकाशित कवितासङ्ग्रह ‘तिमीविनाको म’ पनि भर्खरै पढेँ। चौधरीको सरल भाषामा मार्मिक अभिव्यक्ति दिने विशेषता यस कवितासङ्ग्रहमा प्रतिबिम्बित भएको छ। उनका अधिकांश कवितामा आम जनमानसका सहज भावनाहरू मुखरित भएका हुन्छन्। उदाहरणार्थ देशको हविगत र दुरावस्थाप्रति असन्तुष्ट भएर लेखेको कविताको निम्न अंशलाई उद्धृत गर्न सकिन्छ–
लोकतन्त्रको स्टिकर टाँसेर
गरिरहेछन् तानाशाहतन्त्रको
खेती
उमार्दैछन्
भ्रष्टाचार, बेथिति र विकृति
र हारिरहेछ देश
यसप्रकार वसन्तका कविता पढ्दा पाठकहरूले आफ्नै मनको प्रतिध्वनि झङ्कृत भएर कवितामा रूपान्तरित भएको, आफैँभित्रको छटपटी र असन्तुष्टि कविताका अक्षरहरूमा पोखिएको अनुभव गर्दछन्।
वसन्तले यस सम्बन्धमा ‘आफ्ना कुरा’ शीर्षक दिएर भनेका शब्दहरूले उनको काव्य सिर्जनाका विषयमा वास्तविक यथार्थ स्पष्ट रूपले पाठकसमक्ष राखिदिएका छन्। उनी भन्छन्, ‘कहिलेकाहीँ कविता मेरा लागि सञ्जीवनी बनेर आउँछ र म आफूलाई जीवित भएको अभ्यास गर्छु। कहिले भावनामा निथु्रक्क भिजेर शब्दहरूको सरोवरमा क्रीडा गर्न पुग्छु। म तृष्णाले व्याकुल हुन्छु र पोखिन्छु अक्षरहरूमा...।’
वसन्तको विशेषता के हो भने उनी आम मान्छेको भाषामा आम मान्छेको कविता लेख्छन्। आम मान्छेलाई कवितामा उतारेर पाठक एवम् स्रोतासमक्ष प्रस्तुत गरिदिन्छन्। प्रस्तुत कवितासङ्ग्रहका कविताहरूमा पाठकहरूले यस्तै अनुभव गर्दछन्। मेरो यस कथनको पुष्टि वसन्तका कविताका यी अंशहरूले गर्दछन्–
सन्त्रासमा सास फेरिरहेको विश्व
पलपल आत्तिएको छ
युद्धरत छ जीवन मृत्युसँग
आँखामा आत्मीय पीडाको
आँसु बोकेर
बन्दी छ मान्छे
आफ्नै घरभित्र !
- - -
दोबाटोमा पुगेपछि
सायद बाटोले पनि
दिने छ मौन स्वीकृति
तिमी जाने छौ
म छुट्ने छु
तिम्रा यादहरू
सँगै रहने छन्!
म फेरि पनि भन्छु, वसन्त चौधरीको विशेषता के हो भने उनी आम मान्छेको भाषामा आम मान्छेका कविता लेख्छन्। आम मान्छेका मनमस्तिष्कका भावनाहरूलाई आम मान्छेका शब्दमा अभिव्यक्त गर्दछन्। आफू पनि आम मान्छेबीचको कवि भएर आम मान्छेको कविता लेख्छन्। वसन्तको कविता बुझ्न र बुझेर रसास्वादन गर्न कुनै विश्लेषकको आवश्यकता पर्दैन। उनका अभिव्यक्तिहरूलाई आत्मसात गर्न कुनै भाष्यकारको जरूरत पर्दैन।
वसन्तका कविता र गीतहरूले सिधै स्रोता र पाठकहरूसित प्रत्यक्ष सम्बन्ध स्थापित गर्दछन्। कतिपय कवितामा वसन्तले परम्परागत घारणा र विचारप्रति विद्रोह पनि गरेका छन्। अन्धकार र कुरूपको प्रतीक सम्झँदै आएको रातलाई सकारात्मक रूपमा प्रस्तुत गरेर वसन्तले नयाँ दृष्टिकोणको उदाहरण राखिदिएका छन्–
आजसम्म रातलाई
कुरूपताको बिम्ब
भन्नेहरूलाई
उसको सौन्दर्य
देखाउन सक्थेँ
आजको रात
भोलिको सूर्योदय हो भनी ...
यसैगरी केही रूपमा कवितामा उनी दार्शनिक पनि भएका छन्। यस्तै ‘असमर्थता’ कवितामा जीवनलाई दार्शनिक रूपमा परिभाषित गर्दै उनी भन्दछन्–
मैले चाहँदैमा
फेरिन्न रहेछ जीवनको अर्थ
मैले माग्दैमा
मेटिन्न रहेछ समयको मर्म
त्यसैले सामथ्र्यभित्रको
असमर्थता रहेछ जीवन
- - -
यद्यपि
ऊ बसेको रहेछ मभित्र
म रहेछु, अनभिज्ञ ऊसँग
धन्य छ! त्यो महाज्ञानीलाई
जसले देखाउने मात्र होइन
भेट्टाई नै दियो
अभ्यन्तरमा
मभित्र लुकेर बसेको मलाई
- - -
व्यस्त रहनु
जरूरी छैन यो संसारमा
व्यस्तताले
खोसिदिन्छ आफैलाई आफैसँग
साथै जीवनका
सानातिना खुसीलाई पनि
यसप्रकार सदाझैँ उनको प्रस्तुत पछिल्लो कवितासङ्ग्रहमा पनि वसन्त चौधरीको संवेदनशीलता मार्मिक कविताका रूपमा प्रस्तुत भएका छन्। उनले आफू, आफ्नो परिवेश र आफू बाँचेको कालखण्डका चित्रहरूलाई शब्दहरूको माध्यमबाट प्रस्तुत गरिदिएका छन्। र, एउटा कुरो मैले भन्नैपर्छ, उनी आफ्नो काव्ययात्रामा अविरल गतिमा पाइला बढाइरहेका छन्।
क्रमिक रूपमा अघि बढिरहेका छन्। उनका कविता सरल छन्, मार्मिक छन् र जीवन्त छन्। म वसन्त चौधरीलाई बधाई तथा शुभकामना दिन चाहन्छु। यात्रा यसैगरी अविरल चलिरहोस्, वसन्तको साहित्यिक वसन्त पल्लवित भैरहोस्। बाँकी पाठकहरूले, समालोचकहरूले मूल्याङ्कन गर्ने नै छन्। निष्पक्ष मूल्याङ्कन!
प्रकाशित: ३२ असार २०७९ ०४:२९ शनिबार