कला

उपचार

लघुकथा

इन्द्रकुमार श्रेष्ठ सरित्

धनबहादुरलाई पेटको समस्याले कहिल्यै सञ्चोसँग बस्न दिएन। मिठो मानेर खान पनि दिएन। बनिबुतो गरेर खाने समयभन्दा बढी समय त धनबहादुरले आफ्नो पेटको हेरचाहमै खर्च गरेको छ। तैपनि यो पेटले धनबहादुरसँग निहुँ नखोजेको दिन नै हुँदैनभन्दा पनि हुन्छ। भुराभुरीको रहर मारेर पनि यही पेटको सेवा गर्दैमा ठीक्क छ धनबहादुरलाई। यो पेटको व्यथा निको पार्न ऊ कहाँकहाँ गएन। तर, कतै केही सीप लागेन।

धामीझाँक्रीदेखि लिएर एलोप्याथी, होमियोप्याथी, नेचुरोप्याथी, अकुपंक्चर, मोक्जिवेसन सबैसबैतिर उसले चाहारिसकेको छ। डाक्टरहरूले सबै ठीक छ, केही भएको छैन भन्छन्। तर, उसको पेटको व्यथा बिसको उनाइस हुने नाम नै लिँदैन। हप्ता दिन जति भयो धनबहादुरलाई पेटले फेरि नराम्रोसँग दुःख दिएको। त्यसैले बनिबुतो गरेर कमाएको चार हजार जति रूपियाँ बोकेर ऊ आयुर्वेद अस्पतालमा पुग्यो। डाक्टरसामु आफ्नो पीडाको नालीबेली बिसायो। डाक्टरले सबै जाँचिसकेपछि धनबहादुरलाई नियालेर हेर्दै भन्यो, ‘तपाईले अब सामान्य औषधि खाएर हुँदैन। तपाईको उपचार पञ्चकर्म र क्षारशूत्र विधिद्धारा गर्नुपर्छ। त्यसका लागि तीन हप्ता जति समय लाग्छ। पैसाचाहिं तीस हजार जति लाग्छ। त्यसपछि तपाईँलाई पेटले फेरि कहिल्यै दुःख दिँदैन। गर्नुहुन्छ त उपचार?’

डाक्टरले सोधेको प्रश्नको धनबहादुरबाट कुनै जवाफ नआएपछि धनमायाले लोग्नेलाई झक्झक्याइन्। धनबहादुरबाट कुनै प्रतिक्रिया आएन बरु उसको टाउको एकातिर लत्रिसकेको थियो।

प्रकाशित: ३१ असार २०७९ ०७:०७ शुक्रबार

अक्षर