जितेन्द्र बस्नेत
मैले पाएको उपहार, एउटा पत्थरको मूर्ति
जसको सामु म नतमस्तक छु
जब समाजवादले ईश्वरको अस्तित्वमा धावा बोल्दै गर्छ,
त्यतिबेला म प्रतिकारको बन्दुक उठाउनुभन्दा पहिले
पटकपटक छाती र निधारमा हात पुर्याउँछु।
उल्टै जब मेरो आस्तिकता घाइते सिपाहीझैं
मैदानमा ढल्छ
म त्यही पत्थरको मूर्ति सम्झिएर माफी माग्दछु
यतिसम्म विश्वास छ यसप्रति।
मभित्र आफ्नै चेत छ,
अनेक निर्णय गर्नुअघि मेरो चेत, सचेत छ,
उज्यालोको उषा अनि अँध्यारोको निशाजस्तै
म पनि आफ्नै आदर्श बोकेर हिंड्छु
यति भएर पनि जब मेरा केही सपना साकार
भएको पाउँछु म त्यही मूर्तिलाई जस दिन्छु,
जब फेरि मलाई पछुतोले लखेट्छ
त्यतिबेला म स्वयं नै, यसको उपज ठान्छु।
केवल उपासनामा, कामनामा, चाहनामा
यही मूर्ति उभिएको देख्छु,
यसबाहेक एक्लिँदा, बेग्लिँदा, छेलिंदा, जेलिंदा
म यही मूर्ति जुन स्वयं भगवानले दिएको ठानेको छु,
एउटा भ्रम वा शून्यझैं आभाष हुन्छ।
जतिपटक यसको सामु उभिएर मैले
आफ्नो खुशी मागें, स्तब्ध भएँ, यो त्यति नै पटक,
निःशब्द भएको छ,
हेर्दाहेर्दै मेरो आस्तिकता, बज्रिन्छ जमिनमा,
फेरि सम्झिन्छु, आखिर यो त पत्थरको पो मूर्ति हो
जसको सामु म आशा मात्र गर्न सक्छु,
मेरो प्रेम, मेरो उपहार, एउटा पत्थरको मूर्ति ‘तिमी’।
प्रकाशित: ३१ असार २०७९ ०४:३२ शुक्रबार