कला

‘नारायणमान श्रेष्ठ इतिवृत्त’ पुस्तकको लोकार्पण

कवि वसन्त श्रेष्ठले स्वर्गीय पिता नारायणमान श्रेष्ठको सम्झनामा तयार पारेको ‘नारायणमान श्रेष्ठ इतिवृत्त’ पुस्तक विमोचन गरिएको छ।

राजधानीमा काठमाडौंमा एपेक नेपालले आयोजना गरेको एक समारोहमा प्रमुख अतिथि स्वास्थ्य मन्त्री भवानीप्रसाद खापुङले ‘नारायणमान श्रेष्ठ इतिवृत्त’ पुस्तकको लोकार्पण गरेका हुन्।

कार्यक्रममा बोल्दै मन्त्री खापुङले तेह्रथुममा शिक्षाको दीप प्रज्वलनको सुरुवात गर्ने नारायणमान श्रेष्ठको बारेमा पुस्तक तयार भएकोमा अत्यन्त खुसी भएको बताए। उनले भने, ‘तेह्रथुमको म्याङलुङ बजारमा स्कुल खोलेर त्यस क्षेत्रमा साक्षरता अभियान सुरु गर्ने उनको उल्लेख्य योगदान रहेको थियो। उनले म्याङलुङमा स्कुल खोलेर शिक्षाको थालनी मात्रै गरेनन्, चित्रकला, फोटोग्राफी र संगीतका क्षेत्रमा पनि स्थानीय जनतालाई अग्रसर गराएका थिए।’

वरिष्ठ साहित्यकार प्राडा अभि सुवेदीले स्वर्गीय नारायणमान श्रेष्ठले आफूलाई दिएको ज्ञान सम्झिंदै श्रेष्ठको कृतित्व,व्यक्तित्व र योगदानबारे चर्चा गरे। उनले आफ्नो जम्मथलो तेह्रथुमको आर्थिक,सामाजिक, राजनीतिक र शिक्षाको विकासको जग बसाउन मात्रै नभई सद्भावको संस्कृति स्थापना गर्न समेत नारायणमान श्रेष्ठ  तथा उनका पिता लोकमान श्रेष्ठको भूमिका रहेको बताए।

कृतिका लेखक वसन्त श्रेष्ठले पुस्तकमा तेह्रथुम जिल्लामा आफ्ना पिताले सरकारी/गैरसरकारी संस्था, आर्थिक, सामाजिक र राजनीति क्षेत्रमा पुर्‍याएका योगदानको समावेश गरेको बताए।

समारोहमा पारिवारिक सदस्यहरूले स्वर्गीय नारायणमान श्रेष्ठको तस्वीरमा दिप प्रज्वलन र माल्यार्पण गरेका थिए। एपेक नेपालका अध्यक्ष एवं कार्यक्रमका सभाध्यक्ष कवि विश्वविमोहन श्रेष्ठले २५० पृष्ठमा रहेको ‘नारायणमान श्रेष्ठ इतिवृत्त’ पुस्तकबारे फेरि चर्चा र अन्तरक्रिया गर्ने बताए।

एपेक नेपालका कार्यक्रम निर्देशक राजेन्द्र शलभले स्वागत मन्तव्य राखेका थिए भने कवि मणि लोहनीले कार्यक्रम चलाएका थिए।

समारोहमा माया ठकुरी, मञ्जुल, पद्मावती श्रेष्ठ, भागिरथी श्रेष्ठ,चन्द्रबहादुर कार्की, प्रमोद प्रधान, किशोर पहाडी, विजय सुब्बा,मुकेश मल्ल,जयदेव भट्टराई, कोषराज न्यौपाने, शङ्कर भारती, प्रद्युम्न जोशी, गोकुल अधिकारी, केदार न्यौपाने, श्रीओम श्रेष्ठ रोदन, विक्रमभक्त जोशी, ललिता मल्ल, प्रज्ज्वल अधिकारी, एलिसा ढुंगाना लगायतका साहित्यकारको उपस्थिति थियो।

प्रकाशित: २९ असार २०७९ ०८:०६ बुधबार

अक्षर