कला

सुन्दर बस्ती

लघुकथा

नारायणी (पौडेल) खनाल

‘यस मन्दिरमा आउने दर्शनार्थी सबैले आआफ्नो समस्या तनाव ठूलै स्वरले सुनाएर प्रार्थना गर्नुस्। सबैको मनोकामना भोले बाबाले पूर्ण गरिदिनु हुनेछ।’ तनाव ग्रस्त नामको गाउँका पूजारी बाले शिव मन्दिरको भित्तामा लेख्न लगाए।

मन्दिरमा तनाव पोख्नेहरूको लाइन लाग्यो।

‘हे भगवान्, नहुनेलाई किन यस्तो रोग लागेको होला! उपचार नपाएरै मरिने भयो बाबाको दृष्टि पाऊँ न।’

‘प्रभु, निकासा माग गरेको बजेटमा मेरो हातमाथि पारिदिनुस् त्यत्ति भए हुन्थ्यो।’

‘हे भगवान्, मलाई कस्तो घरमा पायौ! सासू ससुराको मुखै हेर्न मन लाग्दैन। मैले सोचे जस्तो होस् बाबा!’

‘भोलेनाथ यस्तो छोरालाई जन्मदिनुभन्दा त कोखै बाँझो भएको भए हुन्थ्यो। शान्ति दिनुस् प्रभु!’

‘कुन जन्मको पापले यस्तालाई स्याहार्न परेको होला। भएको जायजेथा दिएर बाँडफाँड भए त नजिकै नबस्न हुन्थ्यो।’

‘यस्तासँग कसरी जीवन बिताउनु सन्तानको मुख हेरेर नि बाँच्नै पयो। हे ईश्वर मेरो उद्दार गर!’

‘मेरो छोरालाई कुलतबाट कसरी निकालौं! हजुरबाहेक मेरो कोही छैन विश्वेश्वर!’

मन्दिरमा पारिवारिक तनाव धेरै पोखिए। समाजमा लुटपाट, भ्रष्टाचार, चोरी,डकैती, अपहरण, बलात्कार व्याप्त हुँदै गएको थियो।

पल्लो गाउँबाट उठेका उम्मेदवारले चुनाव जितेका थिए।

एकदिन नेताज्यू शिव मन्दिरमा आए। पूजारी बा र नेताज्यू बिच निकैबेर कुरा भयो।

केही महिनापछि मन्दिरमा तनाव पोख्नेहरू हराउँदै गए। मान्छेहरू पूजा गर्ने र घुम्ने उद्देश्यका बढी देखिन थाले। समाजमा केटाकेटीका लागि स्कूल, पार्क र खेल मैदान बने।

बुढाबुढीका लागि सत्संग भवन, स्वास्थ्य केन्द्र र थेरापी सेन्टर खुले। श्रमदानमा सक्षम युवा अधबैँसे नारी पुरुष उद्योग धन्दातिर लागे।

नेताज्यूले जनसमुदायको ताली सुन्दै बस्तीको नाम सुन्दर बस्ती घोषणा गरे।

प्रकाशित: २४ असार २०७९ ०८:१९ शुक्रबार

अक्षर