कला

‘हाम्रो बाटो’ लघुकथासंग्रहको परिचर्चा कार्यक्रम सम्पन्न

‘हाम्रो लघुकथा पाठशाला’को आयोजनामा म्यामराज राईको ‘हाम्रो बाटो’ लघुकथासंग्रहको जुम मार्फत परिचर्चा कार्यक्रम सम्पन्न भएको छ।

दुई घण्टासम्म चलेको कार्यक्रममा डा. पुष्करराज भट्ट, ध्रुव मधिकर्मी, शेखर अर्याल, वन्दना घिमिरे तथा सत्या अधिकारीले परिचर्चा गरेका थिए।

परिचर्चाकार सत्या अधिकारीले कथागत चित्र तथा सरल भाषा प्रयोगले कृति संग्रहनीय भएको बताइन्।

अर्का परिचर्चाकार वन्दना घिमिरेले लघुकथाकारको कर्मथलो जापान भएर होला जापानमा भएको र भइरहेको विकास सर्लक्क सपनामा होस् या विपनामा आफ्नो जन्मभूमि नेपालमा लिएर आएका छन्,भनिन्।

अगाडि थपिन्, ‘व्यस्त शहरमा बसेर त्यहाँका राम्रो संस्कार,जनजीवन र विकासको लहर आदिबारे कथाकारको लघुकथामार्फत सजिलै अनुभव गर्न सकिन्छ।’

त्यस्तैगरी परिचर्चाकार शेखर अर्यालले दुई देश-विकासोन्मुख देश नेपाल र अति विकसित देश जापानको विकास नीति,राष्ट्रिय रणनीति,राजनीतिक संस्कार आदि तुलना गरेको विषय लघुकथाहरूमा पाइन्छ। जुन कथाकारले स्वाभाविक चाहना राखेको पनि बताए।

वरिष्ठ लघुकथाकार ध्रुव मधिकर्मीले समसामयिक कथाहरू हाम्रो बाटोभित्र समावेश भएको भन्दै कथाकारको कर्मथलो प्रवासमा रहेकोले अझै आप्रवासी समस्याहरू समेत समेट्दा सुनमा सुगन्ध हुने बताए।

त्यसैगरी कार्यक्रमका अन्तिम परिचर्चाकार डा. पुष्करराज भट्टले संग्रहमा मानक लघुकथा छन् तर सबै उत्कृष्ट र सबै निकृष्ट नभएको बताए। उनले यही कार्यक्रम मार्फत संग्रहको अवधारणा बनाउँदा कथा परिपाक छ/छैन र कतै बालकथा पो बन्दैछ कि जस्ता कुरामा नयाँ पुस्ता निकै सचेत हुनुपर्ने बताए।

सो कार्यक्रम डा. शेखरकुमार श्रेष्ठ र विमुन्स पौडेल संयुक्त रूपमा चलाएका थिए। हाम्रो लघुकथा पाठशालाका संस्थापक लता केसीले कार्यक्रममा सहभागी सम्पूर्णलाई  धन्यवाद दिंदै कार्यक्रम समापन गरेकी थिइन्।

प्रकाशित: २४ असार २०७९ ०६:१४ शुक्रबार

अक्षर