आमा–छोरीको प्रसङ्ग। छोरी दीपमालाचाहिँ कलाकार, आमा हीराचाहिँ सामान्य गृहणी, तर हिजोका दिनमा भने फोटोजर्नालिस्ट। तथापि आमाको अझ उत्कृष्ट कलाकारिता प्रकट हुँदा, अब छोरी–आमा दुवै बराबरका कलाकार भएका छन्।
नेपाल आर्ट काउन्सिलमा भर्खरै आठजना कलाकारहरूको ‘मौलिक’ नामक संयुक्त कला प्रदर्शनीमा देखा परेको यो अनौठो कला हो। आठजना भनिएको कलाकारमा आमा–कलाकारको नाम परेको छैन। सामान्यतया कलाकारले कला-अवधारणाको विकास गरिसकेपछि यो अवधारणालाई प्रस्तुति गर्ने क्रममा संलग्न भएका कलाकार, अकलाकारका कामहरू पहिलो दर्जामा पर्दैनन्।
यसर्थ यस्ता कोल्यावोरेटिभ काममा यी सहयोगी कलाकारहरूलाई मूल कलाकारका रूपमा समावेश गर्ने चलन छैन। यस्ता कलामा मूलतः भिजुयल आर्टिस्ट, नन-आर्टिस्टसँग कोल्यावोरेटिभ गर्दछन्। जहाँ सहसर्जक (कोक्रिएटर) र भावक (अडियन्स) समावेस हुने गर्दछ। यो कलाको सन्दर्भमा को–क्रिएटरको रूपमै समावेश भएको भए पनि यो काममा चाहि आमा-कलाकारको नाम कतै उल्लेख भएको देखिँदैन। हुन त यसो गर्ने विश्वव्यापी नै चलन छ, अनि यो विश्वव्यापी मान्यता पनि हो। तथापि यसो गर्न मिल्छ मिल्दैन, सही हो वा होइन, अहिले पनि यो बहसको विषय नै छ।
अझ यो कलामा त छोरीको भन्दा आमाको बढी कलात्मक काम छ, यसर्थ म यी दुवैलाई कलाकार नै भन्छु। र यो संयूक्त काम हो भन्ने मेरो ठहर छ। यस्तै प्रकृतिका कामहरू साहित्यमा संयुक्त लेखनका प्रसङ्गको रूपमा धेरै ठाउँमा भेटिन्छन्। प्रचलन र अभ्यास नेपालमै पनि धेरै भइसकेको छ।
यस्ता कलालाई कलाको क्षेत्रमा हिजो आज चलनचल्तीको भाषामा कोल्यावोरेटिभ ओर्क भन्ने चलन छ। यसको प्रकृति भनेको देखिँदा एउटै क्यानभासमा देखिन्छन्। तर दुई वा दुईभन्दा बढी सर्जकका कामहरू यसमा समावेस भएका देखिन्छन्। सजिलोका लागि यसलाई बुझ्न परे कोल्यावोरेटिभ ओर्क भन्ने गरिन्छ। कहिलेकाहीँ एउटै जातका कलाकारहरू कहिले विभिन्न जातका र कहिले त कलाकार अनि अकलाकार आदिको मिलेमतोमा पनि यस्ता कलाहरूको सिर्जना हुन्छ।
अहिले यहाँ क्यानभासमा गरिएको चित्रको मात्र सन्दर्भ छ। तर यसमा पचासौँ कलाका स्वरूपहरू देखापर्ने, देखा परेको नेपालकै सन्दर्भमा पनि वग्रेल्ती कामहरू सार्वजनिक भइसकेका छन्। यसलाई अभिलेखन गर्ने र विश्लेषण गर्ने परम्परा नहुँदा भौतिक रूपमा यसलाई आज खोज्न सकिएला नसकिएला, यो एउटा अर्कै छलफल र बहसको कुरा भयो। तथापि आज पनि दर्जनौँ कलाकारहरू यस्ता काम गरिरहेका चाहिँ स्पष्ट दृष्टिगोचर हुन्छ।
कलाविद् ब्राड बेल ह्वाट इज कोल्यावोरेटिभ आर्ट भन्ने उनको एक आलेखमा उनले सटिक रूपमा यस्ता कोल्यावोरेटिभ कलाको परिभाषा दिएका छन्। उनको भनाइअनुसार यो यस्तो कलाको काम हो, जहाँ कला सिर्जना गर्न एउटा समूह नै संलग्न हुन्छन्। (प्रक्रियागत सिर्जनाको सन्दर्भमा, किनकि यस्ता कलाहरूमा कहिलेकाहिँ प्रोडक्टभन्दा प्रोसेस अझ महत्त्व भएर देखा पर्ने हुन्छ) जहाँ हरेक व्यक्तिले कला सिर्जना गर्नेक्रममा महत्त्वपूर्ण योगदान दिन्छन्। जहाँ हरेक व्यक्ति विशेषको युनिक र विशेष योगदानको संयोगको प्रत्याभूति हुन्छ। जहाँ एक आपसमा कला सिर्जना गर्न सहयोग गर्दछन्, अनि जहाँ मौलिकता र जटिलता समेत प्रतिबिम्बित हुने गर्दछ।
यसरी हेर्दा समसामयिक कलामा उत्तरआधुनिक अवधारणाले प्रवेश गरेपछि देखापरेका कलाका कयौं प्रवृत्ति, शैलीहरूलाई यसले आफ्नो परिधिमा बाँध्ने काम गरेको देखिन्छ। सामान्य चलनचल्तीमा आइसकेको, इन्स्टलेसन, पर्फमेन्स, कलादेखि स्ट्रिट आर्ट अझ कम्युनिटी आर्टसम्म यसले ओगटेको छ। अझ कम्युनिटी आर्ट त यसको मूल धारकै कला नै भइहाले।
यसैगरी नाटकमा देखा परेको सडक नाटक वा कचहरी नाटकका नौला प्रवृत्तिहरू पनि यसैभित्र राखिने प्रचलन छ। (सर्जकको परिकल्पनामा नभएका पात्रहरू मञ्चन हुँदा देखिने सन्दर्भमा वा समुदायसँगै बसेर नाटकको स्वरूपकै लेखनप्रक्रिया गरिरहँदाको सन्दर्भमा) यहाँ कोल्यावेरेटिभ आर्टको सन्दर्भ अझ गहिरिएर आउने गर्दछ।
शैक्षिक प्रक्रियामा आबद्ध यो अवधारणाको संलग्नतामा स्कुलका विद्यार्थीलाई दिने गरेको समूहगत कार्य पनि हो। जहाँ मिलेर अध्ययन र काम गर्नेगरी प्रोजेक्ट गर्ने आदि हुने गर्दछ। विकासको नौलो अवधारणा सहभागितामूलक प्रक्रिया त यसै अवधारणाको प्रतिफल हो।
यस्तैमा यसको फैलाउटले गर्दा कला, अकला के हो भन्दाभन्दै यस्ता प्रवृत्तिले चारैतिर ओगटिसकेको चाहिँ स्पष्ट देखिन्छ। यसैलाई पुनः भिजुयल आर्टको फर्म समेटेर ल्याउन खोज्दा भने फर्म-अफ-आर्ट भनिने चलन आउँदा वा कलाको फर्ममा विकसित हुन खोज्दा, गर्न खोजिँदा विशेष गरेर भिजुयल आर्टिस्टहरूलाई म्युजिसियन, डान्स वा नाटकलाई एक साथ प्रयोग गर्ने प्रचलन यसैको परिणति हो।
मूलतः कोल्यावोरेटिभ आर्ट गतिशील कला हो र आजको कला अभ्यासको समसामयिक रूप पनि हो। आजका समसामयिक कलाकारहरूले जेजस्तो कलाको सिर्जना गरे पनि यो कोल्यावोरेटिभको अवधारणालाई च्यापेरै अगाडि बढिरहेका हुन्छन्।
यसैले त यसलाई सहभागितामूलक कला वा समाजमा बाँधिएको कला भनेर पनि भनिने प्रचलन छ। यसैलाई कम्युनिटी आर्टको उपमा दिँदै समुदायको कन्टेस्टलाई गहिरो गरी सम्बोधन गर्ने गर्दछन्। अनि समाजमा कल्चरल डेमोक्रेसीलाई प्रोत्साहित गर्ने काम पनि गर्दछ।
यसर्थ कलाकारहरू समुदायका बासिन्दाहरूलाई संलग्न गरेर गराइएर कलाका प्रयोगात्मक काम गर्न रुचाउँछन्, गर्दैगर्दा रमाउँछन् पनि। स्वभावतः यस्ता कलाहरू ग्यालरीभन्दा बाहिर गरिने गर्दछन्। नाटकमा परम्परागत थियटरको स्पेसलाई प्रयोग गर्ने गरिँदैन। कहिलेकाहिँ त यस्ता कलाहरू जेलखानामा, हस्पिटलमा समेत गर्ने गरिन्छ।
यता पछिल्लो कालमा रेसिडेन्सियल कलाको उदय भएपछि यस्ता प्रकृतिका कलाहरू बढी देखिन गएको हो। यस्ता रेसिडेन्सियल कलामा कलाकार जन्मजात हुनुपर्छ, विधिवत शिक्षा, दीक्षा लिनुपर्छ भन्ने मान्यता राख्दैन। बरु हरेक मान्छेमा कलाकारिता हुन्छ, यसर्थ कुनै पनि बेला, कुनै पनि समय, अवस्थामा कुनै पनि स्वरूपमा उनका कला प्रकटन हुन्छ।
यसैले यसको प्रकृति, स्वभावलाई लिएर कलाकारहरू बीचमा मतभेद गराइनु हुँदैन भन्ने यसको मान्यता छ। यसो हुँदा यस्ता कलाको कार्यक्रममा कलाकार, साहित्यकार, सङ्गीतकार मात्र होइन, कुनै अन्य विधाका विज्ञहरू पनि भाग लिन पाउँछन्।
मिलेर काम गर्ने, कलाको सिर्जना गर्ने भन्ने कुरा नितान्त नौलो कुरा होइन। हाम्रो परम्परालाई मात्रै हेर्यौं भने पनि यस्ता उदाहरणहरू प्रशस्तै मात्रामा पाउन सकिन्छ। जहाँसम्म मिलेर कला सिर्जना गर्ने सन्दर्भ छ। योचाहिँ परम्परागत रूपमै सदियौंदेखि संयुक्ततामा कलाको सिर्जना गर्ने प्रचलन छ। हाम्रा परम्परागत कलाहरू अधिकांश यसरी नै विकसित भएका हुन्।
नेपाली चित्रकला पौभा त सम्पूर्ण परिवार मिलेर बनाउने प्रचलन हिजो पनि थियो र आज पनि छ। यसर्थ उहिले जमानामा यस्ता चित्रहरूमा कलाकारको नाम लेख्ने गरिँदैनथ्यो। यसबखत यसलाई कोल्यावेरेटिभ काम पनि भनिएन। आज आधुनिक, उत्तरआधुनिक हुँदै समसामयिक कलाका अनैकौं रूप देखापर्दै जाँदा, हरेक कलाकारले आफूलाई नौलो देखाउने प्रयास गर्दा यसलाई स्थापित गर्न यस्तै अनेकौैं नाम र उपनामहरू राखिने प्रचलन बस्यो। अहिले भनिने गरिएको कोल्यावोरेटिभ ओर्क पनि यस्तै नै हो।
यस्तै कोल्यावोरेटिभ कामको विभिन्न रूप देखिँदा दीपमालाले चाहिँ आफ्नै आमाका साथ, आफ्नै पाराको जेन्डर इसुमा, आमा छोरीको नाता, माया र यसैभित्र रहेको शक्तिलाई कलाद्वारा प्रस्तुत गरेका छन्। आमा छोरीको लामो छलफलपछि आमाचाहिँ छोरीले भनेझैँ उनले आमाछोरीका विविध प्रकारका यथार्थ रूपहरूलाई उनको धागोको माध्यमले बुन्छन् (स्वीटर बनाउने पारामा)। स्वीटरको एक पाटाजस्तो मात्र बन्दा यो स्वीटर चाहिँ बन्दैन।
स्वीटरको एउटा पाटोजस्तो देखिने यो वस्तु क्यानभासमा टाँसिन्छ। यसले क्यानभासको सम्पूर्ण स्पेस नढाक्दा, ढाक्न नदिँदा यतिकैमा यो कलाको रूपमा भने पूरा भएको हुँदैन, ठानिँदैन। अनि यसै क्यानभासमाथि कलाकारले खेल्न थाल्छन्। क्यानभासमा खाली भएको ठाँउमा (नेगेटिभ स्पेस) पून रेखाहरू चलमलाएर थप रूपहरू बन्न जान्छ। यस्ता रूपहरूमा उनका रेखाहरूले सिउरेने उपक्रम पनि कम घतलाग्दो बन्दैन।
अझ रमाइलो पक्ष भनेको त पुन उभ्रेको क्यानभासका स्पेसहरूलाई कतै यही उनका डल्लाहरू टाँसेर संयोजनलाई सन्तुलित बनाएको देखिन्छ। कतै यसैको शक्तिशाली रेखाहरू बनेर, बनाएर सानासाना यथार्थ रेखाचित्रहरू भित्रबाहिर गर्दै उफ्रन्छन्, कुद्छन्, दौडिन्छन् स्वभावतः यसले कलामा यथेष्ठ मात्रामा सौन्दर्यको (यस्थेटिक्सको) सुगन्धलाई निर्माण गर्दछ।
तत्क्षणै कला जीवन्त बन्छ र गतिशील कलालाई भावकले एउटा अर्थसहित ग्रहण गर्दछ। यो उनको कलाले लैङ्गिक विभेदको सवाललाई जरैदेखि उठाएको पनि देखिन्छ। उनी लेख्छन् पनि। र, कलाका अन्य कार्यक्रमहरू पनि गर्दछन्। यसो हुँदा उनलाई आफूले भोगेका तिता–मिठा अनुभवहरू जोडेर जेन्डर इसुको सकारात्मक पक्षलाई उठाउने उनको स्वभाव छ।
महिलाले आफैले भोगेका कुराहरू उठाउनु, सेयर गर्नु, अवस्थामाथि ओकालत गर्नु पनि त जेन्डर इसु नै त हो भन्ने पनि उनको दावी रहन्छ। आमा मात्र १९ वर्षमा गर्भावस्था रहेको, त्यति बेलाको अवस्था, सोच र समाजले हेर्ने दृष्टिकोणसँग अहिले आफू स्वयं ३० वर्ष नाघिसकेपछि भएको गर्भावस्थामा रहेको अहिलेको अवस्थासँग उनले तुलना गर्दै, आफ्नै अनुभवलाई बाँडचुँड गर्ने अभिष्ठ राख्दछन्।
यो जेनेरेसन ग्यापभित्र उम्रेको अनेकौं सामाजिक सवालहरू उनको कलाभित्र गुजुल्टिएर समावेस भएका देखिन्छन्। समाजमा भएका अनेकौं परिवर्तन आदिका साथै आमाले उनी बच्चाको बेला पुतली, खेलौना आदि ल्याएर निस्वार्थ माया दिएको प्रसङ्ग पनि त्यहाँ उदाउँछन्।
अहिले छोरी गर्भवती भएको अवस्थामा आमाले देखाएको माया आदिलाई उनका कलाले सिलसिलेवार उठाएको पनि देखिन्छ। आमाछोरीको नाताको अनुभव उनको कलामा छताछुल्ल पोखिएको पनि देखिन्छ। महिलाले भोग्न परेका निजी अनुभव, यसमा आमाको भूमिका, आमाछोरीबीचको नाता अनि अति सूक्ष्म रूपमा जेन्डरको अवधारणालाई एउटा अर्कै पक्षबाट देखा पर्दा पनि उनका कलाहरू अब्बल बनेका छन्, देखिन्छन्।
अब अलि विस्तारमा यो मौलिकता समूहगत कला प्रदर्शनीकोे अन्य कलाकारहरूको सन्दर्भ पनि निकालौं। यो समूहगत कला प्रदर्शनीका सहभागी कलाकारहरूमा लक्ष्मण वज्र लामा, निलेश शाक्य, इसान परियार, सविता डंगोल, अनिसा महर्जन, दीपमाला महर्जन, नम्रता सिह र दीपक थामी हुन्। यी सबै जोडी हुन्। चार जोडी भए। यो पनि रमाइलो संयोग नै मान्नुपर्छ।
यी जम्मै युवा कलाकारहरू समसामयिक कलाको नौलो अत्याधुनिक धारमा काम गरिरहेका कलाकारहरू हुन्। यसो हुँदा यी सबैजसोका कामहरू झट्ट हेर्दा सामान्य चित्रहरूजस्ता देखिँदा पनि भाव र अभिव्यञ्जनाको साथसाथै अझ समसामयिक विचारहरू गहिरिएर गाँसिएको र समसामयिक सामाजिक मुद्दामा सचेत नागरिकको हिसाबमा वकालत गरिरहेका देखिन्छन्।
यसर्थ पनि यी कलाहरूलाई अवलोकन गरिरहँदा सोलोडोलो चित्रको रूपमा मात्र हेरिँदिदा सर्जकमाथि अन्याय गरेकै ठहरिन्छ। यसमा अन्तर्निहित सौन्दर्यमात्र होइन, आजको समाज, सामाजिक अवस्था, समुदायले भोगिरहेको जीवन आदिलाई समेत मिलाएर भावकले पनि थप मिहिनेत गरिदिन पर्छ भन्ने सर्जकको पनि आग्रह देखिन्छ।
आजका कलाकारहरू समाजलाई प्रतिनिधित्व गर्दैनन्। अपितु सामाजिक सवालहरूलाई उठाएर समाज परिवर्तनमा सम्बाहक बन्ने गर्दछन्। आम मान्छेलाई समेत सजग बनाउने काम गर्दछन्। संयुक्ततामा समाज, अन्ततः राष्ट्रकै विकासको सन्दर्भ उठाई कलाको निर्माण गर्ने गर्दछन्। कलाकारका साथसाथै सचेत नागरिक हुनुको बोध आजको कलाकारमा यथेष्ट मात्रामा समाहित भएको देखिन्छ। विश्वमै अहिले चलनचल्तीमा रहेको यो कलाको नितान्त नौलो धार हो, प्रवृत्ति पनि हो।
अब थोरै कलाकारको कामलाई नियाल्ने जमर्को गरौं। इसानबाट सुरु गरौं। उनी यता माझिएका युवा कलाकार हुन्। सानै उमेरमै उनी देशभित्र मात्र होइन, देशबाहिर समेत आफ्ना पर्फमेन्स, इन्स्टलेसन कामबाट ख्याती कमाइसकेका छन्। हरेक प्रकारका कला कौशललाई देखाइसकेका छन्। कलाभित्र कन्सेपमा खेल्न रुचाउने यी कलाकार मूलतः पोखराका भएको हुँदा फेवातालका नाउहरू उनका गतिलो पात्र बन्ने गर्दछन्।
पोखराबाट काठमाडौँ आई यतै काठमाडौँ जन्मे हुर्केको कलाकार, जीवन–सहयात्री हुँदा आफ्नै युगल जोडीहरू पनि उनको मन पर्ने विषय, मोटिफ बन्ने गर्दछ। कला सम्पदाको विषयमा अझ चासो लिने कलाकारका रूपमा पनि उनी चिनिन्छन्। पेन्टिङलाई समसामयिक कन्टेस्टमा मिलाइहाल्ने उनको स्वभावले उनका कलाहरू एक अर्कै प्रकृतिमा दृष्टिगोचर हुने गर्दछन्।
यसपल्ट उनी नेपालबाट चोरी भई हराएको लक्ष्मीनारायणको मूर्ति अमेरिकामा प्राप्त भएपछि, यही मूर्ति फर्काएको प्रसङ्गलाई द भिन्चीको मोनालिसासँग तुलना गर्दै अवधारणागत यथार्थ रूपमा कलाको निर्माण गरेका छन्। मोनालिसा हराउँदा जसरी विश्वमै तहल्का मच्चाएको सन्दर्भ निकाल्दै विश्वले महत्त्वका साथ देखिरहेको मोनालिसाजस्तै, हराएपछि कुनै कुराको महत्त्व हुने रहेछ भन्ने सन्दर्भका साथ लक्ष्मीनारायणको कलात्मक मूर्तिलाई पनि हेरिनुपर्छ भन्ने दह्रो वैचारिक ओकालत र लविङसमेत उनको कलामा देखिन्छ।
लक्ष्मीनारायणको धार्मिक, एस्थेटिक्स महत्त्व, आम समुदायको यसमाथिको आस्था-विस्वासलाई गौरव र प्रतिष्ठाको प्रतीकात्मक रूपमा मोनालिसाले नाममाथि यही मूर्ति लिएर नेपाल फर्किरहेको रमाइलो मार्मिक परिदृश्य उनको कलामा देखिन्छ।
अर्का कलाकार सविताले चित्रकलालाई मात्र पस्केकी छैनन्, उनले एउटा पर्फमेन्स कलालाई पनि प्रस्तुत गरेकी छन्। जेन्डर इसुमा विशेष गरेर महिला हिंसामा आधारित यो कला मञ्चन भएको थियो। यसमा अन्तर्निहित सन्देश भनेको यातना, पीडालाई झेलिरहेको महिलालाई माया र सहानुभूति प्रदान गरिदिन कलाले अपिल गरेका छन्।
यो पर्फमेन्स कलामा अस्ट्रिचका ठूलाठूला अण्डाहरूलाई खेलाउँदै कलाकार अगाडि बढेको देखिन्छ। विभिन्न रंगहरू दल्दै, झरेर, झारेर फुटाउँदै अनेक उपक्रमका साथ पर्फमेन्स कलालाई जीवन्त पारेका थिए।
अण्डालाई महिलाको प्रतीकको रूपमा, अण्डामाथि रंगहरू दल्नु, पखाल्नुको सन्दर्भलाई महिलाले भोगिरहेको हिंसाको अवस्थालाई प्रतीकात्मक रूपमा उनले प्रस्तुत गरेका छन्। अन्तमा मुटु अंकित कागजका टुक्राहरूलाई आम दर्शकहरू माझ फाल्नुलाई चाहिँ माया र सहानुभूतिको प्रतीकात्मक बिम्बका रूपमा प्रस्तुत गर्दै नौलो प्रयोग गरेका थिए।
मूलतः उनी प्रकृति र संस्कृतिमा आबद्ध भएर कलाहरू निर्माण गर्ने गर्दछन्। काङ्गियो, आफ्नै युगल जोडी परम्परागत बुट्टाहरू, अलङ्कार आदि उनका कलाका शक्तिशाली मोटिफ हुन्। विस्तारै महिनौं लगाएर देखापरेका सपाट संयोजन, अलौकिक रूपमा देखा पर्ने गर्दछ। यसपल्ट पनि यस्तै कलाहरू नै प्रस्तुत गरेका छन्।
अर्का कलाकार लक्ष्मण भने आफ्नो व्यक्तिगत अनुभव, दुःखपीडामा अल्झेको देखिँदैन। लामा भन्ने गर्दछन्, ‘मेरा कलाहरू कहिले पनि व्यक्तिगत इसुमा आधारित हँुदैनन्।’ स्वभावतः यसपल्ट उनी आकाश र बादललाई बिम्बका रूपमा प्रस्तुत गर्दै विश्वभर उदाइरहेको मानव प्रकृतिलाई आमभावकका अगाडि ल्याउने जमर्को गरेका छन्।
उनको दाबी छ-आकाश र बादलहरू यस्ता अवयवहरू हुन्, जसलाई कमन कुराका रूपमा हरकसैले विश्वको कुनै कुनाबाट पनि अवलोकन गर्न सक्छ, अनुभूत गर्न सक्छ। मूल रूपमा यसले आफ्नो स्वभाव र प्रकृतिलाई मान्छेअनुसार, ठाँउअनुसार परिवर्तन गर्दैन। यसलाई कसैले छुन पनि सक्तैन र यसलाई नियन्त्रण पनि गर्न सक्तैन।
यदि मान्छले यसो गर्न सकेको भए आफ्नो निजी स्वार्थका लागि यसलाई पनि बेचिदिन्थे होला। आकाशमा बादलमाथि डलर–नाउ र यसैमाथि मानवले जालो हाली माछा मार्न खोज्दा, डलररूपी नाउ नै कतैबाट खिचिरहको रमाइलो परिदृश्य उनको चित्रमा देखिन्छ।
अनिसाले चाहिँ लैङ्गिक विभेदको मूल जड पितृसत्तात्मक समाजको अनि यसैको आधारमा समाजको दैनिक कार्य स्टेरियो टाइपले गाँजिरहेको सन्दर्भलाई जोडेर कलाहरू बनाउने गर्छिन्। महिलाहरूले सदियौंदेखि यस्तै समस्याहरू झेलिरहेको उनको दावी छ। यसका लागि उनले सधैंजसो बालिकालाई दरिलो पात्रको रूपमा उभ्याउने गर्दछन्।
यसपल्ट अझ यसलाई नितान्त रातो-तातो रंगको वातावरणमा आफ्ना कलालाई पस्कने जमर्को गरेकी छन्। उनको अर्थमा रातो-तातो रंगलाई अघि सार्नुको तात्पर्यचाहिँ यो जीवनको रंग हो, रगतको रंग हो, विजय–उत्सवको हो, अनि विद्रोहात्मक रंग पनि हो, यसर्थ यो तातो वातावरमा म आफ्नो कलालाई उठाउने गर्दछु। नितान्त गहिरो तातो-रातो आहालमा खेलौना च्यापी बालिका स्वतन्त्र रूपमा उडिरहेका चराहरू हेरिरहनु, मस्त निद्रामा पनि खेलौनाका साथ ब्रम्हाण्डको परिकल्पना गरिरहनुजस्ता दृश्यहरू उनका कलामा देखिन्छन्। सरल र सहजजस्ता लाग्ने उनका यथार्थ चित्रहरू निक्कै भावुक छन्, धेरै अर्थ बोकेका छन्।
नम्रताको आफ्नो जीवनको भावना, अनुभव, माया, करुणा, संसारमा धेरै कुराहरू हुन्छन् तर त्यहाँ विकल्प पनि हुन्छ। यसर्थ हामी के छान्छौं भन्ने महत्त्वपूर्ण कुरा हो भन्दै मैलो, दुर्गन्धमय हिलोमा फुलेको सुगन्धमय, निर्जल, कमलको फूललाई उनी मोटिफको रूपमा छान्छिन्। हिलो, माटोमा उम्रेको यो फूल शुद्ध छ, निर्मल छ। देवी देवतालाई मन पर्ने, भक्तिभावको प्रतीकको रूप पनि हो यो।
मूलतः उनी मिथिला समुदायमा आबद्ध हुँदा उनका अधिकांश पात्रहरू मिथिला कलाका बिम्बहरूले ढाकिएका देखिन्छन्। यसो हुनु भनेको उनको आफ्नै व्यक्तिगत पहिचानको बिम्ब पनि हो। एकप्रकारको लोककलाबाट प्रभावित र आश्रित हुँदा विभिन्न रूपमा मैथिल महिलाहरूको आकर्शित र मार्मिक अनुहारहरू हेर्दा उनी आफ्नै पहिचानमा कत्ति डुबेका रहेछन् भन्ने स्पष्ट अनुभव गर्न सकिन्छ।
दीपक थामी अलि बढी दार्शनिक रूपमा देखिन्छन्। उनको भनाइ छ, ‘विश्वको समय यथास्थानमा परिपूर्ण छ। तथापि हामी मानव फरक समय र अवस्थामा फरक ढंगको अनुभव गर्छाै। इच्छाको कुनै सीमा छैन, असीमित इच्छाले हामीलाई थिच्दा लोभीपनलाई जन्म दिन्छ।
यसो हुँदा हामी आफै आफ्नो अस्तित्वमा छौं कि छैनौं भन्ने गहिरो प्रश्न हामीबीच नै रुमल्लिएर बसेको हामीलाई नै पत्तो नै हुँदैन। पातलो थोरै जीवन बोकेका पानीका फोका भिन्दै साइज र कलरमा देखिन गएपछि हामी यसैका पहिचान बनाइरहेका हुन्छौं, खोजिरहेका हुन्छौ। जब यी फोकाहरू फुट्छन्, हामी सबै एकै स्पेसमा समाहित हुन्छौं, एक हुन्छौं।
यसैको सेरोफेरोमा उनका कलाहरू उदाउँदा उनका कलाहरू एक किसिमका देखिन्छन्। निलेस वौद्धिष्ट परिवारका हुन् र उनी लामो समयदेखि परम्परागत मूर्तिकला बनाउनमा व्यस्त भएका कलाकार हुन्। अहिले विधिवत कलामा शिक्षा ग्रहण गरेपछि उनी समसामयिक मूर्तिकलातर्फ अग्रसर भएका हुन्। यसर्थ पनि परम्परा र समसामयिक वातावरणमा उनका कला सिर्जना भएको देखिन्छ।
कला र अग्रज कलाकारलाई सम्मान
यसै बेला नेपाल आर्ट काउन्सिलमा अर्को एउटा गतिलो कार्यक्रम पनि भइरहेको छ। कलाकारको समूह पेगोडा ग्रुपले ३३ जना पाका, अग्रज कलाकारहरूलाई अभिनन्दन गरेर अनि सबैका चित्र, मूर्ति पनि प्रदर्शित गरिदिएर एउटा गहकिलो कार्यकमको आयोजना गरेको छ। यो समूहमा रोशन प्रधान, प्रधुम्न श्रेष्ठ, रुद्रबहादुर पुन, पासाङविक्रम लामा, माला श्रेष्ठ र किशोर नकर्मी छन्।
सुशील कोइराला मेमोरियल फाउन्डेसनको सहयोगमा अग्रज कलाकारलाई गरिएको सम्मानले कलाकारलाई सम्मान गर्ने गहकिलो संस्कारको थालनी पनि हुन गएको छ। केही वर्षदेखि सक्रिय हुन थालेको यो समूह गुणस्तर कला सिर्जनाका लागि सक्रिय छ। भर्खर उदाउँदै गरेका नव युवा कलाकारहरूलाई प्रोत्साहन गर्न र अग्रजलाई मानसम्मानको वातावरण बनाउन पनि उत्तिकै जागरुक भइरहेको छ।
यसैले अरू कला सस्था समूहभन्दा नितान्त फरक ढंगले, फरक धारमा यो समूह नेपाली समसामयिक कलाको क्षेत्र अगाडि आइरहेको छ। यो स्वागतयोग्य त छँदै छ, यसले अरू सानाठूला कलाका सस्थाहरूलाई पनि यस्तै वातावरण बनाउन प्रेरणा दिओस्, हाललाई यही कामना गरौँ।
(लेखक कलाकार र कला समीक्षक हुन्।)
प्रकाशित: १८ असार २०७९ ०५:३१ शनिबार