कला

बज्जी साहित्यिक पत्रिकाको विमोचन

रौतहटको गढीमाई नगरपालिकाका नगरप्रमुख श्यामप्रसाद यादवले बज्जी साहित्यिक त्रैमासिक पत्रिकाको विमोचन गरेका छन्। गढीमाई नगरपालिकाको कार्यालयमा नगरप्रमुख यादव र त्रैमासिकका प्रधान सम्पादक सञ्जय साहमित्रले संयुक्त विमोचन गरेका हुन्।

जिल्ला प्रशासन कार्यालय सर्लाहीमा दर्ता भएर प्रकाशन भइरहेको बज्जी पत्रिकाको छैटौं अंकको विमोचन गर्दै नगरप्रमुख यादवले पत्रिकाले बज्जिका भाषा र साहित्यको विकासमा महत्त्वपूर्ण योगदान दिइरहेकाले आफूले सहयोग गर्ने बताएका छन्।

सर्लाही, रौतहट र बारा जिल्लाका बज्जिका साहित्यकारहरूको विभिन्न विधाका रचनाहरू समेटिएको पत्रिका नेपाल र भारतका बज्जिका साहित्यकारबीच परिचित रहेको छ। स्थानीय लोकसाहित्यलाई प्राथमिकता दिइरहेको बज्जीपत्रिकाले नवप्रतिभालाई प्रोत्साहन गर्ने काम गरिरहेको प्रधान सम्पादक मित्रले जानकारी गराएका छन्।

कार्यक्रममा नगरपालिकाका निमित्तप्रमुख प्रशासकीय अधिकृत नागेन्द्रप्रसाद यादव तथा पत्रिका व्यवस्थापक किशुन दयाल श्रीकृष्णले जनस्तरमा पत्रिका पुर्‍याउन आवश्यक रहेको र आफ्नो भाषा तथा संस्कृतिको विषयमा सबैले चासो राख्नुपर्ने धारणा राखेका छन्।

प्रकाशित: १८ असार २०७९ ०२:५६ शनिबार

अक्षर