लता केसी
रमाको कौशीबारी लोभलाग्दो थियो। हुन पनि उनी त्यसमा सधैं पसीना चुहाउँथिन्। फर्सीका मुन्टा, टमाटर, जिरे खुर्सानी, करेला सबै राम्रो फलेका थिए।टमाटरले सधैं जिरे खुर्सानीलाई जिस्काउँदै भन्थ्यो, ‘फुच्चे,ए पिरो फुच्चे!’
आफूलाई हेपेको महसुस गथ्र्यो र ऊ रिसले आगो हुन्थ्यो। जवाफ फर्काउथ्यो,‘डल्ले, ए नमिठो डल्ले!’छेउमा उनीहरूका कुरा सुनेर करेला खित्तित्त हाँस्थ्यो।
एकदिन फर्सीका मुन्टा झाँगिएको देखेर रमा टिप्दै थिइन्। मुन्टा निमोठिंदा ऐयाऐया भनेको स्वर उनले सुनिनन्। छाक पुग्ने गरी टिपिन्। तर,करेला भने भावुक भयो। उसले पीडाबोध गयो। उसैबेला फेरि टमाटर र जिरे खुर्सानी सधैंझैं झगडा गर्न थाले। दुवै एक अर्कालाई हेप्ने वचन बोल्दै थिए।
खुर्सानीले भन्यो,‘डल्ले दाइ,ठूलो छु भनेर के फूर्ति देखाउँछौं! म नभई गृहिणीको भान्सा मीठो हुँदैन।’ टमाटर पनि के कम? आफ्ना फाइदाबारे बखान गर्न थाल्यो। उनीहरूको भनाभन सुरू भयो। करेला सशंकित भयो,‘फर्सीको मुन्टापछि निमोठिने पालो आफ्नो त होइन?’
अचानक रमाले केही जलेको जस्तो गन्ध महसुस गरिन्। चारैतिर हेरिन्, केही देखिनन्। छिमेकीले कागत बालेका हुन् कि भनेर मुन्टो उठाइन्। टमाटर र खुर्सानी पो झगडा गरिरहेको सुनिन्। एक आपसमा रिस, जलन र डाहाको आगो फैलिएको थियो। नजिकै गइन्।
तिमीहरूका फुर्ति, लौ त भन्दै टमाटर र खुर्सानी दुवै निमोठेर भान्सातिर लागिन्। आज ज्यान बाँचेकोमा करेला ढुक्क भयो। ऊ सोच्न थाल्यो, ‘कठैबरा, जानु त एकैठाउँमा रहेछ। बेकारमा केको घमण्ड?’
प्रकाशित: १५ असार २०७९ ०६:४१ बुधबार