कला

'क्वारेन्टाइन' उपन्यासमाथि परिचर्चा

उपन्यासकार पदम विश्वकर्माको  ‘क्वारेन्टाइन’ उपन्यासमाथि परिचर्चा सम्पन्न भएको छ। 

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा साहित्यकार खेमराज पोखरेलले कृतिमाथि बोल्दै उपन्यासले सकारात्मक सन्देश दिएको बताए। उपन्यासको सन्देश हामीले जस्तोसुकै परिस्थितिमा पनि बाँच्नुपर्छ भन्ने  हो। बाँच्ने आशामा कोरोना जितेको र संयोगान्त समापन भएकाले उपन्यास निकै ओजिलो बनेको छ। उनले भने, ‘उपन्यासको बिचबिचमा कोरोनाले फैलाएको बीभत्स दृश्य देखाएको छ। तैपनि मीठो भाषाले पाठकलाई तानिरहन्छ। भाषा सरल र सरस छ। कहीं कतै रोकिंदैन।’

साहित्यकार डा.दीनबन्धु शर्माले सूचनाको दृष्टिकोणले उपन्यास अब्बल रहेको बताए। उपन्यास कोरोनाको पीडाको दस्तावेजीकरण हो। यसमा अस्पताल घुइँचो र घर रित्तो भएको जस्ता कोरोनाकालका अनेक त्रासदी चित्रण छ।

समालोक राजकुमार बानियाँले समसामयिक विषयमा कलम चलाउनु जोखिम हुने बताए। कोरोना कहर सकिएको छैन। अझै बढिरहेको छ। अझ के हुन्छ, टुंगो छैन। उपन्यासमा मान्छेले बाँच्नका लागि गरेको उपक्रमको चित्रण छ। जस्तोसुकै पीडा परे पनि बाँच्नका लागि आशाा जगाउन सक्नु उपन्यासको उज्यालो पक्ष रहेको छ।

उपप्रा/समालोक ज्ञाननिष्ठ ज्ञवालीले उपन्यास  कोरोना काल र परिवेशलाई समेटेर लेखिएको उत्कृष्ट डायोस्पोरिक उपन्यास भएको बताए। उपन्यासमा कोरोनाकालीन समयमा अमेरिकामा बसोवास गर्ने नेपालीहरूको जनजीवन प्रभावकारी रूपमा देखाइएको छ।

साहित्यकारहरू श्रीओम श्रेष्ठ रोदनले समसामयिक विषयमा उपन्यास लेखेको बताए। समसामयिक विषयमा उपन्यास लेख्न निकै ठूलो साहस चाहिन्छ। उनले अनेक चुनौतीको सामना गर्दै उपन्यास लेखेका छन्।

कथाकार विश्वराज अधिकारीले सहजीकरण गरेको उक्त कार्यक्रम मोलुङ फाउण्डेसनका अध्यक्ष प्रा. भूपप्रसाद धमलाको सभाध्यक्षमा सम्पन्न भएको थियो।

प्रकाशित: १५ असार २०७९ ०५:४८ बुधबार

अक्षर