कला

अन्तर्घात

लघुकथा

त्रिलोचन ढकाल

पार्टीका प्रमुख नेता गर्जिदै थिए, ‘अन्तर्घात! आश्चर्यजनक अन्तर्घात! अन्तर्घातीहरू सबैलाई ठेगान लगाइदिन्छु। त्यस्ता पापीलाई पार्टीमा बस्ने कुनै अधिकार छैन।’

उनी आँगनको वल्लोछेउ र पल्लोछेउ गर्दै थिए। बायाँ हातको चोर औंलालाई आकाशतिर लक्षित गर्दै भुतभुताउँदै थिए। उनले मानसिक सन्तुलनमा समस्या आएको कुरा समेत देखाइरहेका थिए।

मदनको जिज्ञासा पसारियो, ‘के भयो नेताज्यू?’

‘हुनुसम्म भयो। अन्तर्घातीहरूले निर्वाचन हराइदिए।’

‘भ्रष्टाचारी,तस्कर, कमिशनखोर, चरित्रहीन, पुरातन चिन्तनवाला जस्ता पतित व्यक्तिहरूलाई उम्मेद्वार बनाएको हुनाले यस्तो भएको हो भन्छन् त!’

‘झुट! गलत!! मैले सुयोग्य चरित्रमान मानिसहरूलाई उम्मेद्वार बनाएको छु।’

‘अन्तर्घाती मेरो नजरमा छ। कारबाही गर्नुहुन्छ?’

‘किन नगर्ने? गरिहाल्छु। मलाई चिनाइदिनुस् त।’

दुवै मदनको घरमा उपस्थित भए। उनले ‘अन्तर्घातीहरू यहींभित्र छन्’ भन्दै कोठाको ढोका खोलिदिए। नेता कोठामा पस्नु अस्वाभाविक भएन। कोठामा कोही पनि मानिस भेटिएन। त्यहाँ एउटा विशाल ऐना थियो। त्यसमा नेताको अनुहार भयमिश्रित मुद्रामा प्रकटित थियो।

प्रकाशित: १३ असार २०७९ ०७:५८ सोमबार

अक्षर