कला

त्यो कालो दिन

कविता

सुरेश गाउँले

धेरै आमा

हराएको दिन

धेरै बालबालिका

टुहुरो भएको दिन

धेरै चेलीको

सिन्दूर पुछिएको दिन

अहँ, सम्झन चाहन्न म

त्यो कालो दिन

हाँस्ने ओठहरू

थरथरी कापिरहेछन्

हिंड्ने गोडाहरू

लरबराउन खोजिरहेछन्

अल्पायुमै सिन्दूर पुछिएकी

कुनै विधुवाको सिउँदोझैं

तिमी उदास भएकी छौ

हो, तिमी आज उदास भएकी छौ

वर्षाै वर्षदेखि

तिम्रै कोखमा हुर्किएका

लालाबालाहरू

पलभरमै छरपस्ट भई हराउँदा

तिमी क्षतविक्षत भई टुटेकी छौं

र त आजकाल तिमी

टोलाइरहने भएकी छौ

स्वयम्भूका दुई आँखा रसाइँरहँदा

टुट्दैफुट्दै थिए, साराका सारा सपनाहरू

र बन्द हुँदै थिए मुटुका ढुकढुकीहरू

र त रोकिंदै थिए हावाका झोकाहरू

तर, ऊ रोकिएन, ऊ हिंडिरह्यो

र गयो चोट दिएर

त्यही चोटहरू लिएर तिमी ढल्यौ

र ढले तिम्लाई सुम्सुम्याउने हातहरू

अनि माया गर्ने मनहरू!

प्रकाशित: १३ असार २०७९ ०७:३५ सोमबार

अक्षर