कला

ए घाम!

कविता

– नाकारा, खोटाङ

ए घाम!

तल खोला डिलमा

अभारा बस्दै जालीहरूको

नर्तकी नाटके रमिता के हेरिरहन्छौ

तिमी पनि बगौला नि!

माथि हेर त,

तुषारोहरूले ढाड भाँचेका बचेराहरू

कक्रक्क गंग्रिरहेका छन्!

सिरुडाँडाका भुईंएेंसेलुहरू

शीतहरूले छेदिरहेका छन्

र मेरी आमा हिंड्ने बाटाहरू

अक्करको भिरहरूले छेकिरहेका छन्

हो, तिम्रो अभावले

स्यालहरू भेला भएर

फेरि षडयन्त्रका तारेभिरहरू

ठड्याइरहेका छन्!

अपराधीहरूको बलौटे महासागरहरूमा

फेरि ‘मनहरू’ हराउनेछन्

तसर्थ ए घाम!

माथि हेर त!

तिम्रा बाटाहरू पनि

रूखो वर्षातहरूले बगाउन लागेका छन्

तल खोला डिलमा धराप बसेर

के हेरिरहन्छौ?

नाटके–नर्तकीहरू!

उक्ल माथि

अब तिम्रो सुन्दर जोवनका चारो राखेर

जेवालो थाप्नुपर्छ

र,चेप्टाउनुपर्छ

तिम्रो लाली पछ्यौरीले पासो थाप्नुपर्छ

र सुर्काउने लगाउनुपर्छ

–शीतहरू

–तुषारोहरू

–षड्यन्त्रहरू

–अपराधहरू

–अक्करको भीरहरू

– र, रूखो वर्षातहरू!

प्रकाशित: १२ असार २०७९ ०६:५० आइतबार

अक्षर