कला

‘स्रष्टा र सिर्जना’को सातौँ शृंखला सम्पन्न

‘स्रष्टा र सिर्जना’को सातौं शृंखलामा रचना बाचन गर्दै कवि उत्तम लिम्बु। तस्बिर: नागरिक

विराट आदर्श साहित्य मञ्चको आयोजनामा ‘स्रष्टा र सिर्जना’को सातौं शृंखला शनिबार सम्पन्न भएको छ। विराटनगरस्थित आरोहण गुरुकुलमा आयोजित कार्यक्रममा धनकुटाका युवा कवि उत्तम लिम्बूले रचना  बाचन गरे ।  

‘मुलुकलाई तँ चाहिएको छ’, बग्दै–बग्दै जाने रहर’, ‘म त्यही हुनेछु’, ‘कण्डम फुटेपछि’, ‘म कवि भएँ’, ‘यसरी कसरी’, ‘युगका स्वर’, ‘तर तिमी आएनौ’ शीर्षकका कविता वाचन गरे। कार्यक्रममा  प्राज्ञ विवश पोखरेलले युवाहरुलाई सिर्जनात्मक काममा आकर्षित गर्न विराट आदर्श साहित्य मञ्चले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए। त्यस्तै आयोजक संस्थाका संरक्षक मीनकुमार नवोदितले मञ्चले स्थापनाकालदेखि नै युवाहरुलाई साहित्य, नाटकलगायतका विधामा आकर्षित गर्ने काम गरेको बताए। २०७१ सालमा स्थापित संस्थाले हरेक दुई–दुई महिनामा कविता वाचन, सम्मानलगायतका कार्य गर्दै आएको छ।  

मञ्चकै आयोजनामा यसअघि महाकवि लक्ष्मीप्रसाद देवकोटाको चर्चित खण्डकाव्य ‘मुनामदन’मा आधारित नाटक, वरिष्ठ आख्यानकार परशु प्रधानको ‘छिडिभरिको आकाश’ कथामा आधारित नाटक मञ्चन गरिसकेको आयोजक संस्थाका अध्यक्ष कटवाल दीपकले जानकारी दिए।

प्रकाशित: ११ असार २०७९ १४:११ शनिबार