मिरा प्रसाई
बडाबुज्रुकको कार्य कुरामा
जबसम्म बुहारी तलमाथि शिर हल्लाउँछे
–ऊ छोरीजस्तै लक्षिणकी
–लक्ष्मीजस्तै विलक्षणकी।
आफ्नै अस्तित्वले धावा बोल्न थालेपछि
जब उसको चेतनाले झक्झक्याउन थाल्छ,
तलमाथि हल्लिने शिरलाई
दायाँबायाँ हल्लाउन थाल्छे
त्यसपछि ऊ रहन्न
–छोरीजस्तै लक्षिणकी
–लक्ष्मीजस्तै विलक्षणकी!
लक्षिणकी हुन त,
उसले सब्बै विचारकुविचारमा
लालमोहर लगाउनुपर्थ्यो
उठ् भन्दा उठ्ने बस् भन्दा बस्ने हुनुपर्थ्यो।
तर!
नेपथ्यमा रहेकी उसले जब पर्दा उघार्छे
निराकारबाट आकार लिन खोज्छे
तब उसको पुनः न्वारान गरिन्छ
–कुसंस्कारी
–घरभडुँवी
त्यति मात्रै कहाँ हो र!
माइतीको समेत खेदो खनिन्छ।
ऊ बुझ्दै छे संस्कारी,लक्षिणकी
बुहारी हुनुको अर्थ-रोबर्ट हुनु रहेछ।
कसैको आँखामा उसले, हालेकै छैन छारो
तैपनि उ हुन्छे, सबैको आँखाको तारो,
दिनरातझैं हुन्छ
लोग्नेस्वास्नीको एउटै सिरानी दुईटा बन्छ।
जिन्दगीले कोल्टे फेरेपछि,
मेटिनबाट बचाउन सम्बन्धको हस्ताक्षर,
उसले बुढासँग हार्नुपर्छ–हारिरहनुपर्छ
र मुटु निचोरेपछि बगेको रङ्गले पोतेर
बलियो बनाउनुपर्छ सम्बन्धको कागज।
सबैको मन जित्न कोसिस गरेकी हो उसले
तर! उसलाई भनियो,
–तँ बुहारी होस्!
बुहारीकै स्थानमा बस्नु
–बुढाले भनेको सब्बै मान्नु!
उसले बुझी
भनेको मान्नुको अर्थ रहेछ
–उठ् भन्दा उठ्नु
–बस् भन्दा बस्नु।
सानै छँदा आमालाई सोधेकी थिई उसले
‘तिमीलाई किन सब्बैले बुहारी भनेको आमा?
आमाको साधा जवाफ थियो
–बिहे गरेपछि बुहारी नै भन्छन्!
उसले बल्ल थाहा पाई
यी समग्र अर्थभित्र
बुहारीको अर्को मुल अर्थ रहेछ।
आज उसलाई
केही भन्न मन लागेको छ आमालाई।
आँसु पुछ्दै
मध्यराति जुरुक्क उठ्छे
चम्किरहेको तारा हेर्दै भन्छे,
आमा,
तिमीले नबुझेको बुहारीको अर्थ मैले बुझें,
सुन्दैछ्यौ...नि आमा?
बुढासँग हारि...रहनुपर्ने
हारि...रहनुपर्ने भएकाले
विवाहपछि छोरीलाई बु...हारी भनिएको रहेछ।
बु..हारी अर्थात् बुढासँग
बुढी हारी।
प्रकाशित: १० असार २०७९ ०८:२० शुक्रबार