कला

कवि डा. राजेन्द्र कोजूका ‘इमानको धरहरा’ सार्वजनिक

भक्तपुरका कवि एवं शिक्षाकर्मी डा. राजेन्द्र कोजूको पाँचौ कविता कृति ‘इमानको धरहरा’ सार्वजनिक भएको छ।

उनको कविता कृति ‘इमानको धरहरा’ शुक्रबार विमोचन गरिएको हो। सो कृतिको विमोचन वरिष्ठ साहित्यकार एवं समालोचक डा.देवी नेपालले गरेका हुन्।

सो कार्यक्रममा वरिष्ठ साहित्यकार डा. नेपालले पछिल्लो समय देशमा बेइमानहरू बढिरहेकाले बेइमानहरूलाई इमान सिकाउन लेखकहरूले लेखनीमार्फत ध्यान दिनुपर्ने बताए।

उनले लेखकहरू पनि राजनीतिबाट मुक्त हुन नसक्ने बताउँदै फोहोर राजनीतिलाई सफा गर्न र समाजका खराब विषयलाई खबरदारीका लागि साहित्य सिर्जना जरुरी रहेकोमा जोड दिए।

यसअघि कवि डा. कोजूका घोडा उसको वा ऊ घोडाको, विशेषणमा बाँचेको देश, चित्र र चरित्र र हृदयका  प्रतिविम्ब कृति छापिएका छन्। उक्त विमोचित कृतिमा ५८ कविता छन्।

कार्यक्रममा डा. कोजूले विमोचित कृतिबाट ‘विद्रोहको आगो’ र ‘बाबा छोरीको संवाद’ कविता वाचेका थिए।

कार्यक्रममा शिक्षाकर्मी एवं क्वालिटी सेकेण्डरी स्कुलका प्रिन्सिपल जिबी खड्काले डा. कोजूको शैक्षिक र साहित्यिक यात्राबारे चर्चा गरे।

सो क्रममा कवि जितेन्द्र रसिकले डा कोजुको व्यक्तित्व र कृतित्वको चर्चा गरेका थिए भने चाँगुनारायण साहित्यिक समाजका अध्यक्ष लालबहादुर भुजेलले शुभकामना दिएका थिए।

प्रकाशित: १० असार २०७९ ०५:३५ शुक्रबार

अक्षर