कला

कन्दरा ब्यान्डको व्यवस्थापनकाे जिम्मा ‘नेपग्याज्म लाइभ इभेन्ट’ लाई

लोकप्रिय सांगीतिक ब्यान्ड ‘कन्दरा’ र ‘नेपग्याज्म लाइभ इभेन्ट’ (एनएलई) कम्पनीबीच व्यवयसायिक सम्झौता भएको छ। आगमी दिनमा ‘कन्दरा’का गीतको भिडियो निर्माण तथा कन्सर्ट व्यवस्थापनका सम्पूर्ण जिम्मेवारी एनएलई ले गर्ने ब्यान्डका गायक विवेक श्रेष्ठले बताए।

‘एनएलईलाई व्यवस्थापनका सम्पूर्ण जिम्मेवारी सुम्पेपछि खुलेर गीत संगीतमा लाग्न पाउँछौं’, श्रेष्ठ भन्छन्, ‘अब हामी ढुक्कले नयाँ समय र नयाँ पुस्तासँग जोडिने गरी सक्रिय हुनेछौं।’ त्यस्तै ब्यान्डले नयाँ गीतसँगै आफ्ना पुराना चर्चित गीतहरुको रिप्राइज्ड भर्सन सार्वजनिक गर्ने उनले बताए। 

लोकलयमा आधारित मेलोडियस गीतहरु रच्नु कन्दराको विशेषता हो। ‘समय र परिस्थितिअनुसार कन्दराले नयाँ प्रयोग गर्दै आएको छ। कन्दरा र एनएलईको सहकार्य पनि यस्तै प्रयोग हो। हामी सिक्दै अघि बढ्ने छौं। आगामी दिनमा पनि हाम्रो प्राथमिकता स्तरीय र मिठा गीत संगीत प्रस्तुत गर्नु नै हुनेछ’, उनले भने।

सन् १९९४ देखि सक्रिय कन्दरा ब्यान्डले हालसम्म पाँच वटा एल्बम सार्वजनिक गरिसकेको छ।  कन्दराका लेककी हे माया, चञ्चले कान्छी, तिमी पारी, हङकङ पोखरा, तगारोमा रुमाल राखी जस्ता गीत चर्चित छन्।

प्रकाशित: ९ असार २०७९ १०:३१ बिहीबार