कला

महेश्वर पन्तको ‘बौलाको डायरी’ उपन्यासको परिचर्चा

साहित्यकार महेश्वर पन्तको ‘बौलाको डायरी’ उपन्यासको परिचर्चा भएको छ। काठमाडौं बत्तिसपुतलीस्थित तृप्त रेस्टुराँमा आयोजित कार्यक्रममा साहित्यकार खेमराज पोखरेलले उपन्यासको परिचर्चा गरेका थिए।

उनले उपन्यासको केही स्वरूपको चर्चा गर्दै पन्तको यस उपन्यासले त्रिपक्षीय द्वन्द्व समेटेको बताए। सत्ता पक्ष, विद्रोही पक्ष र द्वन्द्व पीडित सिमान्तकृत वर्गका कथाव्यथा उपन्यासले समेटेको बताए।

कतिपयले उक्त उपन्यासलाई आञ्चलिक भने समीक्षक पोखरेलले उपन्यास आञ्चलिक नभएको जिकिर गरे। माओवादी द्वन्द्वकालीन कथावस्तु समेटेकाले उपन्यासमा राष्ट्रिय विषय प्रस्तुत गरेको पनि पोखरेलले बताए।

सर्जक पोखरेलले कृतिले पाठकको मन ताने पनि उपन्यासकार पन्तले सम्पादन गर्नुपर्ने धेरै ठाउँ छोडेको बताए।

साहित्यकार विश्वराज अधिकारीले आफ्नो धारणा राख्दै साहित्यिक कृतिको बिक्री कसरी बढाउने र पाठकलाई नेपाली साहित्यप्रति कसरी आकर्षित गर्ने विषयमा पनि ध्यान दिनुपर्नेमा जोड दिए।

साहित्यकार अश्विनी कोइरालाले उपन्यासमा माओवादी द्वन्द्वले निम्त्याएको बिभत्स रूप चित्रित भएको बताए।

साहित्यकार ममता मृदुलले उपन्यास पढ्दा आफ्नो कथाजस्तै लागेको बताइन्। त्यसैगरी अर्का  साहित्यकार दीपक लोहनीले उपन्यासमा सामाजिक यथार्थवादी धार समेटिएको बताए। उनले भने, ‘उपन्यासमा सामाजिक यथार्थवादी धार समेटिएको छ। उपन्यासको भाषा शैली पनि गजबको छ। पढ्न बसेपछि त्यत्तिकै छोड्न मन लाग्दैन।’

कार्यक्रम मोलुङ फाउन्डेसनका अध्यक्ष भूपप्रसाद धमलाको सभाध्यक्षमा सम्पन्न भएको थियो।

प्रकाशित: ६ असार २०७९ ०७:४८ सोमबार

अक्षर