मानवीय अनुभुतिको लिपि विश्वव्यापी हुन्छ, सबैलाई बुझ्न सजिलो। मान्छेको सुख, दुःख रोदन हाँसोमा गहिराइ धेरै थोरै हुन सक्ला तर अन्तर्य समान हुन्छ। सबैले बुझ्छन्। पछिल्लो समय निर्देशक दीपेन्द्र के खनालले यिनै कुराहरूलाई समातेर आफ्नो सिने यात्रा दौडाइ रहेका छन्।
‘पशुपति प्रसाद’ बाट प्राप्त उर्जाले ’आमा’ बनाए, ’आमा’ को उर्जाले ’चिसो मान्छे’ बाट थप उर्जा ल्याउने तरखर गर्दैछन्। सिनेमा असार ३ गते शुक्रबारबाट प्रदर्शनमा आयो। आफ्ना अघिल्ला सिनेमाहरू झैँ ‘चिसो मान्छे’ ले पनि न्यानो माया पाउनेमा उनी ढुक्क जस्तै छन्। सिनेमाका बारेमा गरिएको साक्षात्कारको समयमा उनीमा त्यो विश्वस्तता स्पष्ट झल्किन्थ्यो। सोही सिनेमाको सेरोफेरोमा रहेर गरीएको कुराकानीको सम्पादित अंशः
अघिल्लो पटक एउटी आमाको कथा थियो यसपटकको कथा कसको हो?
‘आमा’ मा एउटी आमाको भन्दापनि एउटा नारीको कथा थियो अझ भन्नुपर्दा तीन वटा नारीको कथा थियो। यसपाली पनि नारीकै कथा छ। समग्रमा नारीकै वरिपरि कथा घुम्छ।
यसले कस्तो नारीको कथा भन्छ?
यो एउटा विद्रोह जस्तो छ चलचित्रमा। एउटा नारी पात्रले समाजसँग उसको अफ्ठ्याराहरूको विद्रोह। त्यो छनक ट्रेलरमा पनि देखिएको छ। गाडी पछाडि श्रीमानको शव छ, अगाडि बसेकी ऊ एउटा छुट्टै जोनमा छ। त्यसले गर्दा चलचित्रमा एउटा नारी विद्रोह जसरी धेरै कुरा छ।
यो पनि भन्नुपर्ने देखाउनुपर्ने कथा हो भन्ने आत्मविश्वास तपाईंलाई यसको के कुराले दियो?
यो नै बनाउँछु अथवा यो नै गर्छु भनेर म गर्दिन। मलाई मनमा लाग्नुपर्छ, मनमा छुनपर्छ आफैँलाई। विशेष गरी जन्म, मृत्यु, सम्बन्धका कथाहरूले मलाई धेरै छुन्छन्। त्यसले गर्दा प्रायः मलाई छुन पर्यो।
तपाईंलाई यो सिनेमा बनाइरहँदा लागेको गाह्रो कुरा के थियो?
भाषाकै कुरा गाह्रो थियो। त्यो एउटा प्लानअनुसार हामीले जसरी गर्यौँ सहज भयो। अर्को यो ट्राभल फिल्म थियो, ट्राभल फिल्म भएपछि यहाँदेखि बाजुरासम्म गाडीमा खिच्नपर्ने, बाटोमाआउने अफठ्यारोहरू, एकदमै अफठ्यारो थियो। पहिलो कोभिडको लकडाउन सकिने बित्तिकै खुलेको सेटिङमा चलचित्रको कथा घुमेको छ।
त्यो बेलात्यो समय आफैँमा डरलाग्दो थियो। सिनेमा खिच्नलाई यहाँ (काठमाडौँ) देखि बाजुरासम्म निस्किन्छु भन्दा परिवेश त्यतिखेर डर लाग्दो थियो। तर अब चलचित्रको कथा पनि सेटिङ पनि मैले ठ्याक्कै त्यही बेलाको बनाएको हुनाले त्यो डरलाग्दो भएपनि चलचित्रमा त्यो बेलाको सेटिङ राख्न पाएँ।
पात्रहरूका लागि कलाकार छान्न सजिलो भयो कि गाह्रो?
पात्र त कस्तो हुन्छ भने म आफैँ लेख्ने भएका भएर लेख्दा लेख्दै दिमागमा लगभग हाम्रो इण्डस्ट्रिमा भइरहेको कलाकारको इमेज आउन थालिहाल्छ। त्यसले गर्दा पात्र छनोटमा अफठ्यारो भएन।
सिनेमा बनिसकेको छ, निर्देशकका रूपमा सिनेमा प्रति तपाईंको आत्मविश्वास कति छ?
कन्फिडेन्स त छ, ट्रेलरले पनि देखाएको छ। सबै जना दर्शकले एकदमै मन पराउनु भयो। र ट्रेलर भन्दा सिनेमा एकदमै भिन्न छ, धेरै कुरा छ फिल्ममा। त्यसले गर्दा म आशावादी छु एकदम। दर्शकहरूले पक्कै पनि एक लेभलको मन पराउनु हुन्छ। र जैले पनि म आफूले निर्देशकको हिसाबले काम गर्दा निर्देशकको ग्रोथ हुनपर्छ भन्ने विश्वास राख्छु र त्यो ग्रोथ ’चिसो मान्छे’ सम्म आइपुग्दाअझै बढेको छ भन्ने लाग्छ।
अहिलेसम्म तपाईंले बनाइसकेका सिनेमाहरूमा यो सिनेमा कहाँ छ?
सबैको आफ्नो-आफ्नो विशेषता छन्। त्यसैले कहाँ पर्छ भन्दापनि, मैले अघि नै भने निर्देशकको ग्रोथ कत्तिको भएको छ भन्ने सिनेमामा देख्न पाइन्छ, त्यही हो।
कति ग्रोथ भएको छ?
त्यो त दर्शकले, समिक्षकले भन्नुहुन्छ होला। तर मैले आफूले सकेको जत्तिग्रोथ गर्ने प्रयास गरेको छु।
स्वमूल्यांकन त होला नि, एउटा विद्यार्थीले परीक्षा दिइसके पछि यति आउला भनेर अनुमान गरे जस्तै?
त्यही त मैले भने नि, यो भन्दा अगाडिको चलचित्र भन्दा ग्रोथ छ मेरो।
कलाकारहरूलाई आफ्नो पात्रमा छिर्न कत्तिको गार्हो भयो, उहाँहरू तपाईको दृश्य भाषामा कतिको खरो उत्रिनु भयो?
मैले जस्तो सोचेको थिएँ, पात्रहरू यस्तो हुनुपर्छ, यस्तो बोल्ला, यस्तो गर्ला भन्ने। जोजोलाई छनौट गरेँ, पूर्णरूपमा सोचेको जस्तै भएको छ। अब सयमा सय त केही कुरा हामीले गर्न सक्दैनौं, कति कुराहरू तर सिनेमाको कति प्रतिशत आयो भन्दा एउटा मजाको लेभल आएको छ।
तपाईंले आफ्ना कलाकारहरूलाई उनीहरूको भुमिकाका बारेमा सुनाइरहँदा प्रतिक्रिया के–कस्तो थियो?
सबै जना एकदमै एक्साइटेड हुनुभएको थियो। जस्तै स्वतिमालाई उताको भाषामा चलचित्र गर्ने खुब रहर रहेछ। अनि मैले अफर गर्दा ऊ एकदमै एक्साइटेड थियो।उसले त्यो एक्साइटमेन्ट अनुसारकै सिनेमालाई दिनुपर्ने इनपुट दिएको छ।
त्यो ट्रेलरमा देखिएको छ। अर्पणकै कुरा गर्दा उनले गम्भीर भुमिकाहरू गरिरहेको थिएन। उसलाई ’आमा’ मा दृश्यात्मक रूपमा नदेखिने तर आवाजमा मात्र सुनिने छोरा पात्रमा राखेको थिएँ। त्यो फोनको संवादलाई नै दर्शकहरूले अति नै मनपराउनु भएको थियो।
‘चिसो मान्छे’ मा तपाईंले प्रस्तुत गर्नु भएको कथासँग दर्शकहरू कति सहमत हुनुहोला जस्तो लाग्छ?
कन्भिन्स हुनुहुन्छ। मैले भने नि जन्मको मृत्युको अथवा सम्बन्धको कुराहरू सबैसँग रिलेटेबल हुन्छ जस्तो लाग्छ। त्यसले गर्दा मैले जे कुरा भन्न खोजेको छु, त्यसमा कन्भिन्स हुनुहुन्छ भन्ने लागेको छ।
प्रकाशित: ४ असार २०७९ ०६:१५ शनिबार