कला

कमरेड

लघुकथा

ढाकामोहन बराल

ज्याक अर्थात् जगन खड्कालाई तीन दिनदेखि निकै छटपटी भएको छ। मुख्य निर्वाचन अधिकृतको अस्थायी कार्यालय अगाडि साँझको झरी र मध्य दिनको चर्को घाममा पनि मानिस भरिएकै छ्न्। सामाजिक सञ्जाल प्रयोगकर्ता पनि पुरानै शैलीमा गेटमा झुम्मिएको देख्दा अचम्म लाग्छ। गणनाको शैली हेर्दा दिक्क लाग्छ तर मानिसहरूले छोड्दैनन्। अस्ति दिउँसोबाट गणना सुरु गरेको ‘कछुवाको गति’ कहिले सकिने हो। गणना सुरु गरेदेखि नै ज्याकको मत अगाडि त अगाडि नै थियो तर पाँचदेखि दश भोटले मात्र। आज अकस्मात् विपक्षको मत बढेर सयले उछिन्यो।

‘साथीहरू, म यता बसेको धेरै भयो। केही परे बोलाउनुस् है। म घरतिर जान्छु।’ भन्दै घरतर्फ लागे।

अब हारिने पक्का भयो भन्ने लाग्यो उनलाई। घरमा गएर फ्रेस भएर आफ्नै घरको मिनिबारमा पसे। केटालाई ‘लेग पिस’ बनाउन लगाए। आफूले पेग तयार पारे। धेरै दिन भयो घरको बारमा नपसेको। राति कतिबेला सुते, थाहा भएन।

राति ३ बजे हरिलालको फोन आयो, ‘कमरेड हामीले जितियो। चाँडै आउनुपर्‍यो। सबै कमरेडहरू जम्मा भइसक्नुभयो।’

झ्याल खोलेर हेरे। बाहिर पानी दर्किरहेको थियो। ज्याकले भने,‘कमरेड, पानी आइरहेको छ, कसो गर्ने। उज्यालो भएपछि आउँदा हुदैन?’

हरिलाल फोनबाट भन्दै थिए, ‘हजुरका लागि भनेर सबै कमरेडहरू रुझेर बस्नुभएको छ। हजुर तुरुन्त आउनुपर्छ।’

ज्याकलाई भने झरीको त खासै पिर थिएन। तीन घण्टाअघिको पेगको असर अझै देखिंदै थियो। मुखको गन्ध पनि बढी नै थियो। बुढी र माझी औंलाले टाउको समाउँदै मनमनै ‘अलि बढी भएछ कि कसो हो?’भने।

प्रकाशित: २ असार २०७९ १०:०८ बिहीबार

अक्षर