कला

कहिल्यै नआउनु

कविता

सिरेन बान्तावा

मध्यरातमा

मेरो झ्यालको चुकुल खोलेर,

सम्झना चुपचाप पस्यो,

धेरैधेरै पीडाहरू लिएर।

निद्राको एकान्त नमेटिंदै

फुस्रो हिउँदको तह जस्तो

सिध्दिएको शरदमा

वैलाइएका कोपिलाजस्तो।

म एकपटक घाम जन्मिएर,

परमानन्दको रूपमा उदाउने,

र,

रंगीन साँझ भएर अस्ताउने,

तर,

 यादहरू मसँगै भएपछि?

मेरो बिस्ताराको वरिपरि

कोठाको अँध्यारो खाल्डाका कालो गहिराइमा,

वियोगको आँसुले भिजेको

नयाँ चिहानजस्तै हुन्छ।

भूल गरेर खुसुक्क नआउनु तिमी,

एक्लो यसरी पीडाहरूसँग।

जब तिर्खाएर सपनाहरूले,

मेरो आँसु पिएर प्यास मेट्यो,

म निकम्मा भए।

दोष दिन्नँ आइन्दा,

जानु मानिसको थलोतिर भन्दा अन्तै पस्नु,

आफैंले  ल्याएका पीडाहरू लिएर

फर्केर कहिल्यै नआउनु।                              

प्रकाशित: १ असार २०७९ ०८:४२ बुधबार

अक्षर