कला

मेरो जीवन कथामा डा. अरूण सायमि

व्यक्ति-व्यक्तित्व

ग्राबियल गार्सियाले एक ठाउँमा भनेका छन्– “पुस्तक लेखन एक आत्मघाती व्यवसाय हो। अरू कुनै पेसाले यति धेरै श्रम र एकाग्रता माग गर्दैन। लेखनमा तुरुन्त लाभ पनि छैन।” डा. अरूण सायमि पेसाले एउटा सुप्रसिद्ध हृदय चिकित्सक हुनुहुन्छ तर पनि उहाँले सयम–समयमा पुस्तक लेख्ने काम गरिराख्नु भएको छ।

ग्राबियल गार्सियाले एक ठाउँमा भनेका छन्–“पुस्तक लेखन एक आत्मघाती व्यवसाय हो। अरू कुनै पेसाले यति धेरै श्रम र एकाग्रता माग गर्दैन। लेखनमा तुरुन्त लाभ पनि छैन।” डा. अरूण सायमि पेसाले एउटा सुप्रसिद्ध हृदय चिकित्सक हुनुहुन्छ तर पनि उहाँले सयमसमयमा पुस्तक लेख्ने काम गरिराख्नु भएको छ। उहाँलाई पूरा थाहा छ कि लेखनले परिश्रम र एकाग्रता माग गर्छ।

तसर्थ उहाँले आफ्नो व्यस्त चिकित्सकीय जीवनबाट केही अमूल्य क्षण चोरेर यदाकदा लेखनमा हात हाल्नुहुन्छ। सायद यो उहाँको जीनमा पनि जीवन्त हुन जान्छ किनभने उहाँका पूज्य पिता धुस्वाँ सायमि स्वयम् एउटा प्रसिद्ध लेखक हुनुहुन्थ्यो। उहाँले आफ्नो आत्मजीवनी स्वयम्ले लख्नुभएको छ, जसको शीर्षक दिइएको छ ‘मेरो जीवनकथा’।

उहाँजस्तो व्यस्त जीवन बिताउने मानिस आफूले स्वयम् नलेखीकन अरूलाई लेख्न लगाउँछ तर डा. अरूण सायमिले आफूले आत्मकथा लेखेर एउटा अभिनन्दनीय काम गर्नुभएको छ। उहाँले योभन्दा पहिला केही उपन्यासहरू नेपालीमा पनि लेखेर प्रशंसनीय काम गरिसक्नुभएको छ। लेखन एउटा नशा पनि हो, जसले एउटा मानिसलाई लेख्न बाध्य तुल्याउँछ। फलतः समीक्ष्य आत्मजीवनीको लेखन सम्भव भएको छ।

यो आत्मजीवनी विभिन्न उपशीर्षकहरूमा विभाजित गरेर लेखिएको छ, जस्तो–मेरो बाल्यकाल, मेरो स्कुल जीवन, मेरो कलेज जीवन, चिकित्सा शिक्षा अध्ययन, मेरो राजनैतिक यात्रा, मुटुरोग विशेषज्ञको बाटोमा, जनआन्दोलन २०४६, मनमोहन र म, सि.के. प्रसाई, जनयुद्धको सुरुवात, मेरा आँखामा जनआन्दोलन २०६२–०६३, नारायणकाजी श्रेष्ठसँगको भेट, मोहनविक्रम सिंहसँगको भेट, आइओएमको डीन र मनमोहन केन्द्रको स्थापना, मेरो परिवार, डा. अरूण सायमिको वंशावली, सन् २००८, नयाँ मिलेनियम महाभूकम्प २०७२, गिरिजाबाबु र मेरो घरको फोन, दिनेशलाल श्रेष्ठ, धन र मन दुवै भएका व्यक्ति, यस्ता पनि नेपाली हुँदा रहेछन् शान्तदास मानन्धर, मलाई सबैभन्दा बढी मनपर्ने बिरामी केशरी कंसाकार, मेरो साथी प्रेम नम्हु लामा र सि–स्टोन, साहित्यिक यात्रा, मेरो उपन्यास र म, मेरा कविताहरू, मैले चिनेका के.पी. ओली, मेरो डाक्टर: डा. गोविन्द के.सी., नेपालमा केही पनि असम्भव छैन, डा. अरूण सायमिका चर्चित लेखहरू, राजदरबार हत्याकाण्डको पोष्टमार्टम, राजनेताहरूलाई एउटा डाक्टरको रोडम्याप, कृष्णमोहन!

तिमीलाई मेरो अन्तिम सलाम!, नारायणप्रसाद पोखरेल: समाज सेवाका बादसाह, मिसिसिपीदेखि बागमती किनारसमम्म झल्किएको नेपालको माया, बाबुरामलाई पत्र (कलम समाऊ बाबुराम), विद्रोही धुस्वाँ, अरूका आँखामा डा. अरूण सायमि, प्रभावशाली अभिव्यक्ति, केही संस्मरण, केही अनुभूतिहरू, औपचारिकताका शब्दहरू, डाक्टरका शब्द क्षेप्यास्त्रहरू, गंकी धुस्वाँ–वसुन्धरा पुरस्कार, गंकी धुस्वाँ–वसुन्धरा प्रतिष्ठान, गंकी धुस्वाँ–वसुन्धरा पुरस्कार प्राप्त गर्ने साहित्यकारहरूको नामावली, गंकी धुस्वाँ–वसुन्धरा प्रतिष्ठानबाट हालसम्म प्रकाशित कृतिहरू, डा. अरूण सायमि: व्यक्तिचित्र।

यी विभिन्न उपशीर्षकहरू आदिदेखि अन्त्यसम्म पढेपछि अरूण सायमिको व्यक्तित्व र कृतित्व हाम्रा आँखा अगाडि झलझली झल्केर आउँछ। उहाँका दुःखसुखका क्षणहरू पनि छर्लङ्ग हुन आउँछन्। हामी सोच्छौँ कि डाक्टरहरूको जीवनमा विरलै दुःखको अनुभूति हुन्छ तर पनि डा. अरूण सायमिको गाडी दुर्घटनाको दुःखद् वर्णन आफूले नै गर्दा पाठकहरूको आँखा रसाएर आउँछ।

गाडी दुर्घटनाको दुःखद् क्षणलाई उहाँले आफ्नै भाषामा यसरी व्यक्त गर्नुहुन्छ, ‘शनिबारको दिन सहिसक्नु भएन, हात साह्रै दुख्यो। उठेर ट्वाइलेटसम्म पनि जान सकिन। मेरो जिन्दगीको सबैभन्दा ठूलो शारीरिक पीडा भोगेको त्यही दिन थियो तर सहन नसकेर रुन पनि त मिल्दैनथ्यो। असल काम गरेको मानिसले परिस्थितिवश दुःख पनि भोग्नै गर्दछ।’

डा. अरूण सायमिले राम्रो काम गर्दागर्दै पनि अख्तियारको अन्याय धेरै दिनसम्म भोग्नका लागि अभिशप्त हुनु भयो तर अन्त्यमा उहाँले अख्तियारबाट ‘क्लिन चिट’ पाउँदा कम आनन्द विभोर हुनुभएन। त्यस्तै उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सुप्रबल जनसेवाश्री पदक पनि प्राप्त गर्नुभयो तर उहाँले स्पष्ट रूपमा स्वीकार गर्नुभएको छ-‘मनमोहन, प्रचण्डदेखि के.पी. ओलीसम्मको उपचारमा संलग्न मैले सरकारबाट कुनै मान पदवी नपाएको, मैले कहिल्यै त्यसको जरुरत पनि ठानेको थिइनँ। किनभने मैले परीक्षण र उपचार गरेका बिरामीहरू, मैले सिकाएका विद्यार्थीहरू र मेरा पाठहरूले दिएको मायाप्रेम नै मेरा लागि सबभन्दा ठूलो पुरस्कार हो।”(पृ. ८६)

चिकित्सक र लेखक अरूण सायमिको महानता यी पंक्तिहरूमा स्वतः प्रस्ट हुनजान्छ। चिकित्सक र लेखक मानपदवी र पुरस्कारका लागि मरिहत्ते गर्दैनन्। लेखक डा. अरूण सायमिले समीक्ष्य जीवनीमा आफ्नो प्रसिद्ध परिवारको परिचय, पृष्ठभूमि र वंशावलीको वर्णन पनि बडो घतलाग्दो किसिमबाट गर्नुभएको छ, जुन प्रशंसनीय भन्न सकिन्छ। उहाँको परिवार सुसंस्कृत, सुशिक्षित र सभ्य रहेको जानकारी पनि पाठकहरूलाई थाहा हुन्छ।

मेरा बाजे नारायणबहादुर मानन्धरले मेरो काकालाई भन्नुभएको कुरा याद आउँछ–तिमीहरू त फिजिसियन, असली डाक्टर तम डा. नारायणबहादुर मानन्धर, पी.एच.डी. डाक्टर।(पृ.९८)२०७२ साल वैशाख १२ गते गएको भूकम्पका बारेमा पनि लेखकको अनुभव कस्तो चाखलाग्दो छ हेरौँ:‘भुइँमा पाइला हाले हल्लिन्छ, त्यसैले नाँचिबसौं। भूकम्प नसकिएसम्म हामीहरू नाँचिबस्यौँ।’(पृ. ११७)

लेखक अरूण सायमि एउटा चिकित्सक मात्र नभएर देशका सच्चा सपूत पनि भएकाले उहाँले आश्चर्य मिश्रित दुःख प्रकट गर्नका लागि बाध्य हुनुहुन्छ किनभने विडम्बना महाभूकम्प आएको यति वर्ष हुनलाग्दा पनि भूकम्प पीडितहरू अझै चिसो टहरामा बस्न बाध्य छन्।” (पृ. ११८)

देशमा लोकतन्को लालिमा छाएपछि पनि एउटा चिकित्सक मात्र होइन, एउटा सङ्घर्षशील लोकतन्त्रका योद्धाको घरमा एउटा टेलिफोन नहुनु दुर्भाग्यको कुरो थियो तर गिरिजाबाबु प्रधानमन्त्री भएपछि उहाँको ठाडो आदेशमा घरमा टेलिफोन जडान हुनु कति लाजमर्दो कुरो थियो। डाक्टरका लागि टेलिफोन जति जरुरी हुन्छ, त्यतातिर पनि प्रशासकहरूको ध्यान नजानु अस्वाभाविक कुरा हो।

कालान्तरमा उहाँले मोबाइल फोन पनि पाउनु भयो तर साथी उद्योगी दिनेशलाल श्रेष्ठको सौजन्यमा। उनकै सौजन्यमा उहाँ गाडी चढ्ने हैसियतमा पुग्नुभयो, नत्र त्यत्रो मुटुरोग विशेषज्ञलाई पनि गाडी हुनु त्यति गाह्रो। प्रसिद्ध बालसाहित्यकार शान्तदास मानन्धरको महानतामा पनि उहाँले सराहना गर्दै लेख्नुभएको कुरो उदाहरणीय र उद्धृत गर्न योग्य छ–‘कति राजनैतिक व्यक्तिहरू ठूलो समस्यामा नभए पनि विदेशमा गएर उपचार गराउन सिफरिस माग्न आउँथे, शान्तदास सरकारको एकै पैसा पनि लिन नमान्ने। यस्ता पनि नेपाली रहेछन्। (पृ. १२३)

उहाँले यहाँसम्म लेख्न बिर्सनु भएको छैन कि उहाँलाई सबैभन्दा बढी विश्वास गर्ने बिरामी केशरी मानन्धर थिइन्। उहाँमा लोभलालचको लेसमात्र पनि पाइँदैन, जसको टड्कारो उदाहरण प्रेम नम्हु लामाद्वारा दिइएको स्वतःस्फूर्त उपहार पनि स्वीकार गर्न हिचकिचाउने मानिसकता। लेखक अरूण सायमिले आफ्नो साङ्गीतिक यात्राको रसास्वादन पाठकहरूलाई गराउन बिर्सनुभएको छैन।

उहाँका गीतहरू पनि मुटुकै भाषामा र भाकामा बोलेका छन्। उहाँका गीतहरूमा स्वर दिने सुप्रसिद्ध सङ्गीतकार शम्भुजित बास्कोटासमेत हुनु उहाँको सौभाग्यको कुरो हो। त्यसपछि उहाँका गीतहरूमा स्वर दिने गायकहरूमा रामकृष्ण ढकाल, देविका सिंह, नवीन के भट्टराई, फत्तेमान, प्रकाश श्रेष्ठ, सुकमित गुरुङ, उदित र दीपा आदि प्रमुख छन्।

उहाँको स्मृतिमा छाएका अनुहारहरू नारायण गोपाल, छिन्नलता, कोइलीदेवी आदि प्रमुख हुन्। साङ्गीतिक यात्रापश्चात् उहाँले आफ्नो साहित्यिक यात्राको पनि सटिक वर्णन गर्न बिर्सनुभएको छैन। उहाँका साहित्यिक कृतिहरूका साथैसाथ अन्य समसामयिक राजनीतिक लेखहरूले गर्दा उहाँ झन् चर्चित व्यक्तित्वका रूपमा देखापर्नुभयो।

उहाँका केही प्रसिद्ध उपन्यासहरू नेपाली भाषामा रातो टीका, मर्दिको किनारामा, आस्था र नेवारी भाषामा प्रकाशित हाकुलाँ, बचुँमिला, ह्याउँ स्वाँ आदिको सङ्क्षिप्त विवरण प्रस्तुत गरेर पाठकलाई आफ्नो उपन्यास लेखनको जानकारी दिनु प्रशंसनीय हो। उहाँले आफ्नो अप्रकाशित उपन्यास साराको सारसङ्क्षेप पनि बडो मार्मिक ढंगबाट प्रस्तुत गर्नुभएको छ–“हरेक मान्छेको सपना हुन्छ। कसैको पूरा हुन्छ, कसैको अधुरो हुन्छ। भन्छन्–जसको सपना अधुरो हुन्छ, त्यो सपना पूरा गर्न पुनर्जन्म लिन्छ। हाम्रो पनि पुनर्जन्म नै भएको होला”। (पृ.१६७)

उहाँले आफ्नो काव्य साधनाका बारेमा ‘मेरा कविताहरू’ शीर्षकमा परिचय दिनुभएको छ। उहाँका धेरैजसो कविताहरू प्रवास कालमा रचिएका हुन्, जुन रुचिकर छन्। यस्ता कविताका उदाहरण हुन्–अरूण (नयाँ दिल्ली), दार्चुलाको घाउ (नयाँ दिल्ली), मलाई लाग्दछ ‘नभुलिदेऊ’ (घाउ भए म कहाँ आउनू), (कुहिएका फूलहरू), ‘न्युरोडको शालिक’ (नयाँ दिल्ली)। काठमडौँमा बसेर पनि उहाँले केही कविताको रचना गरेको पाइन्छ, जस्तै–महासागर र सल्लाका तीन रूपहरू।

लेखक अरूण सायमिले आफ्नो जीवनकथाका बारेमा मात्र नलेखीकन आफ्नो पूज्य पिता साहित्यकार धुस्वाँ सायमिको काव्यव्यक्तित्व र कृतित्वका बारेमा पनि एउटा महत्त्वपूर्ण आलेख लेख्नुभएको छ, त्यसको शीर्षक दिइएको छ, ‘विद्रोही धुस्वाँ’। जसको साहित्यिक मात्र होइन, राजनीतिक महत्त्व पनि स्वयंसिद्ध छ। उहाँलाई निर्धक्क र निडर भएर धुस्वाँ सायमिको साहित्यिक व्यक्तित्वलाई उजागर गर्न कुनै अप्ठ्यारो भएन। उहाँले आफ्ना पिताको आफ्ना बारेमा के विचार थियो भन्ने कुरासमेत समीक्ष्य पुस्तकमा लेख्नुभएको छ।

जुन यसप्रकार छ–‘विद्रोही धुस्वाँ (बुबा) ले मैले गीत उपन्यास लेखेकोभन्दा कान्तिपुरमा लेखहरू लेखेको मन पराउनुहुन्थ्यो र सधैँ मलाई भन्नुहुन्थ्यो, तिम्रा लेखहरू सशक्त छन्। त्यसले सारा नेपालीहरूको विद्रोहका आवाजहरूको प्रतिनिधित्व गर्छ र मेरो आवाजको पनि प्रतिनिधित्व गर्छ। मेरा धेरैजसो लेख पढेपछि भन्नुहुन्थ्यो-‘अलिक कडा लेख्नुपथ्र्यो, आमपाठकहरूलाई धेरै कडा लागेका लेखहरू पनि पिताश्रीलाई नरम लाग्दथ्यो।‘ (पृ.२२१)

यसबाहेक लेखक अरूण सायमिले आफ्ना बारेमा अन्य सोनामधन्य व्यक्तित्वहरूको केकस्तो धारणा छ, त्यसलाई पनि अन्त्यमा लेख्न छोड्नुभएको छैन। राजनीतिज्ञ प्रदीप गिरीले लेख्नुभएको छ- ‘डा. अरूण सायमि नेपाली समाजका एक महत्त्वपूर्ण नाम हुनुहुन्छ। लामो समयदेखि उहाँको व्यक्तित्व र कृतित्व स्वप्रकाशित छ।

मैले पनि उहाँलाई र उहाँको सृजनालाई प्रत्यक्ष परोक्ष रूपमा चिन्नुजान्नु आश्चर्यको कुरो होइन। (पृ. २२२) त्यस्तै मुर्धन्य राजनीतिज्ञ डा. बाबुराम भट्टराई ‘केही संस्मरण केही अनुभूति’ शीर्षकमा लेख्नुभएको छ- ‘डा. अरूणले विभिन्न कालखण्डमा र खास गरी केहीसमय यताको निरंकुश राजतन्त्र विरोधी आन्दोलनका बेला लेख्नुभएका रचनाहरू यस कृतिमा सङगृहीत छन्। प्रायः यी सबै लेखहरूमा गणतन्त्रवादी चेतना र स्वतन्त्रता तथा स्वतःस्फूर्त शैली अभिव्यक्ति भएका छन्।” (पृ. २२७)

बहुचर्चित साहित्यकार खगेन्द्र संग्रौलाको मत पनि मननीय छ– ‘सायमिका यी समस्त लेखहरूमा उहाँको चिन्तन र चिन्ता सम्बन्धी केही तत्त्व व्याप्त छन्, ती हुन्–भावुकतायुक्त देशभक्ति, लोकतान्त्रिक परिपाटी र मूल्यहरूप्रतिको गहिरो अनुराग तथा राजनीतिक खेलाडीमा देखिने पाखण्डप्रतिको उग्र विराग र सायमिका मूल्यजन्य यी तीन तत्त्वको केन्द्रको लोककल्याणको भावनाको मधुर गुञ्जन प्रत्यक्षरूपबाट सुन्न सकिन्छ। (पृ. २३४) विमल भौकाजीको सम्पादन सह्राहनीय भन्न सकिन्छ। जसले गर्दा यो कृति पठनीय हुन गएको छ।  

प्रकाशित: २८ जेष्ठ २०७९ ०५:३४ शनिबार

अक्षर डा. अरूण सायमि