कला

हरिशरण परियारको कवितासङ्ग्रह ‘कैँची’ सार्वजनिक

कवि हरिशरण परियारको कवितासङ्ग्रह ‘कैँची’ सार्वजनिक भएको छ। सङ्ग्रहलाई बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा कवि परियारसहित आहुति, उज्ज्वल प्रसाई तथा विभूति भट्टराईले आइतबार लोकार्पण गरे।

लोकार्पित कवितासङ्ग्रहमा समकालीन शोषण, अपमान तथा उत्पीडनका आवाज प्रस्तुत गर्ने तीन दर्जनभन्दा बढी कविताहरू सङ्गृहीत छन्। उक्त कार्यक्रममा कवि परियारले नेपाली समाजमा रहेको जात व्यवस्थाले आफूमाथि पारेको प्रभाव र भोगाइलाई ‘कैँची’ मार्फत अभिव्यक्त गरेको विचार व्यक्त गरे। साथै, उनले यस्तो भोगाइ आफ्नो मात्र नभएर समग्र समाजकै व्यवस्था भएकाले यसका विरुद्ध सबै लाग्नुपर्ने आग्रहसमेत गरे।

सङ्ग्रहमाथि टिप्पणी गर्दै चिन्तक आहुतिले कवि परियारले आफ्नो भोगाइका रूपमा कविताहरू अगाडि ल्याएका भए पनि यी कविताहरू दमनमा परेका समग्र दमितहरूका आवाज भएको विचार राखे।

यसै क्रममा उनले व्यवस्था परिवर्तनका लागि सिर्जनाको धार नै बदलेर हिड्नुपर्ने साथै यस विषयमा घनिभूत बहस गर्नुपर्ने औँल्याए। सङ्ग्रहमाथि समीक्षकद्वय उज्ज्वल प्रसाई तथा विभूति भट्टराईले समेत टिप्पणी गरेको थिए। कैँची’ बेला पब्लिकेसनले प्रकाशन गरेको हो। 

प्रकाशित: २१ जेष्ठ २०७९ ०६:०४ शनिबार

अक्षर