कला

सिक्किममा नेपाली साहित्यको अन्तर्राष्ट्रियकरणबारे संगोष्ठी

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सिक्किम च्याप्टरले २५ मे २०२२ मा नेपाली साहित्य परिषद् भवन सिक्किममा आयोजना गरेको एक संगोष्ठी कार्यक्रम सम्पन्न भयो। सो संगोष्ठीको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि मन्त्री लोकनाथ शर्माले गरेका थिए।

अनेसास सिक्किमका अध्यक्ष सी. पी. गिरीको अध्यक्षता आयोजित सो कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय समितिका निवर्तमान अध्यक्ष एवं वर्तमान सल्लाहकार साहित्यकार राधेश्याम लेकाली र उपाध्यक्ष प्राज्ञ बाबा बस्नेतको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा अनेसास सिक्किम च्याप्टरका निवर्तमान अध्यक्ष डा. पुष्पा शर्माले बीज भाषण गरेका थिए भने डा. राजकुमारी दाहाल, डा. टेकबहादुर छेत्री र प्रा. रुद्र पौड्यालले नेपाली साहित्यको अन्तर्राष्ट्रियकरणबारे आआफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए।

कार्यक्रममा अनेसास सिलगढी च्याप्टरकी अध्यक्ष लतिका जोशीले लघुकथा र दार्जिलिङका कवि मोहन ठकुरी र योगिता राईले आआफ्नो कविता वाचेका थिए।

कार्यक्रममा प्रमुख अतिथि मन्त्री शर्मा, राधेश्याम लेकाली, बाबा बस्नेत, नेपाली साहित्य परिषदका अध्यक्ष साहित्यकार रुद्र पौड्याल, साहित्यकार गोकुल सिन्हा, उपाध्यक्ष साहित्यकार रत्न लक्स्म सुब्बा र महासचिव मीना सुब्बालगायतले मन्तव्य राखेका थिए। कार्यक्रममा अतिथिहरुलाई स्मृति चिन्ह प्रदान गरिएको थियो।

प्रकाशित: १९ जेष्ठ २०७९ ०१:३२ बिहीबार

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज सिक्किम च्याप्टर नेपाली साहित्यको अन्तर्राष्ट्रियकरणबारे संगोष्ठी