कला

निहारिका र डंगोल पुरस्कृत

गंकी धुस्वाँ–वसुन्धरा प्रतिष्ठानले साहित्यकार नीलम कार्की निहारिका र ललितकलाकर्मी गोविन्दलाल सिंह डंगोललाई पुरस्कृत गरेको छ। निहारिकाको उपन्यास ‘द्रौपदी अवशेष’का लागि ‘गंगी–धुस्वाँ वसुन्धरा पुरस्कार’ र लामो समय कला साधना गरेकामा ललितकलाकर्मी डंगोललाई ‘धुस्वाँ सायमी सिर्जना पुरस्कार’ प्रदान गरिएको हो। नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा आइतबार आयोजित कार्यक्रममा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले स्रष्टाद्वयलाई पुरस्कार प्रदान गरे। दुवै पुरस्कारको राशि ५०/५० हजार रूपैयाँ छ।

सामाजिक सांस्कृतिक विषयमा केन्द्रित आफ्नो उपन्यासका लागि पुरस्कृत गरेकोमा निहारिकाले खुसी व्यक्त गरिन्। समाजमा थाहा नपाएका धेरै संस्कृति भएका र तिनलाई स्रष्टाहरूले बाहिर ल्याउनुपर्ने उनको भनाइ थियो।

डंगोलले भने कलाकर्मीलाई राज्यले नहेरेको बताए। राजनीतिक दल निकटका कलाकारले फाइदा लिइरहने तर आफूजस्ता निरन्तर साधनामा लागिरहेकाहरू बेवास्ताको सिकार हुँदै गएको उनले गुनासो गरे।

साहित्यकार विमल भौकाजीले निहारिकाको व्यक्तित्वमाथि र लेखक सुरेश किरणले डंगोलमाथि प्रकाश पारेका थिए। प्रतिष्ठानका अध्यक्ष अरूण सायमीले आफ्ना पिताको योगदानको चर्चा गर्दै योग्य स्रष्टाहरूलाई पुरस्कृत गर्न पाएकोमा संस्था गौरवान्वित भएको बताए।

प्रकाशित: १४ जेष्ठ २०७९ ०६:२९ शनिबार

अक्षर